२०८३ वैशाख २२ , मंगलबार

भेरी–बबई डाइभर्सन आयोजना निर्माणमा ढिलाइ



सुर्खेत । राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यमा अपेक्षित प्रगति हुन नसक्दा पुनः ढिलाइ भएको छ । पटक–पटक म्याद थप गर्दा पनि आयोजना अझै अधुरै रहेको छ । चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि तोकिएको समयसीमा अनुसार काम अघि बढ्न नसकेको हो ।

आयोजनाको सिभिल वर्कतर्फको कामका लागि निर्माण कम्पनीलाई चैत २० गतेसम्मको समय दिइएको थियो तर म्याद सकिँदासम्म जम्मा ५७ प्रतिशत मात्र काम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७१/७२ बाट सुरु भएको यो आयोजनालाई सुरुमा २०७९/८० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

समयमै काम नसकिएपछि म्याद थपिँदै आएको छ र जिम्मेवारी २०८२/८३ सम्म सारिएको थियो । तर सो अवधिमा पनि काम पूरा हुन सकेको छैन । कोरोना महामारी, प्रक्रियागत जटिलता, प्रतिकूल मौसम र सामग्री ढुवानीमा ढिलाइ जस्ता कारणले निर्माण प्रभावित भएको आयोजना पक्षले जनाएको छ ।

आयोजनाको लक्ष्य अनुसार भेरी नदीबाट ४० घनमिटर प्रतिसेकेन्ड पानी बबई नदीमा स्थानान्तरण गर्ने योजना रहेको छ । पहिलो चरण अन्तर्गत सुरुङ निर्माण २०७५ मै सम्पन्न भइसकेको थियो भने दोस्रो चरणअन्तर्गत बाँध र विद्युत्गृह निर्माण कार्य जारी छ ।

दोस्रो चरणका लागि २०७६ साउनमा चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण कन्स्ट्रक्सन जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । आयोजनाका निर्देशक हरिदत्त पौडेलका अनुसार हालसम्म ५७ प्रतिशत काम सम्पन्न भएको छ र पुनः म्याद थपका लागि प्रक्रिया अघि बढाइएको छ ।

निर्माण कम्पनीले थप ४० महिनाको समय माग गरेको छ । विशेषतः चिनियाँ साझेदार कम्पनी सक्रिय नभएकाले कामको गति सुस्त भएको बताइएको छ । बाँध, पुल तथा हात्तीखालस्थित विद्युत्गृह निर्माण कार्य अझै बाँकी रहेको छ । हाल आयोजनामा सिभिल, इलेक्ट्रिकल र हाइड्रो–इलेक्ट्रिकल गरी तीन प्रकारका काम भइरहेका छन् ।

सिभिल वर्कमा ढिलाइ हुँदा अन्य कामहरू पनि प्रभावित भइरहेका छन् । यो आयोजना नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरी निर्माण गरिएको हो । भेरी नदीको पानी १२ किलोमिटर लामो सुरुङमार्फत बबई नदीमा स्थानान्तरण गरी बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने र ४६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाको निर्माण २०८७/८८ सम्म सम्पन्न गर्ने योजना रहेको छ ।

प्रकाशित मिति : २०८२ चैत २३ गते सोमबार