सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ की अटोचालक सुस्मिता विकको गर्वले छाती धक्क फुल्यो, आँखामा खुसीका आँशु टिलपिल भए । पाँच वर्षदेखि हरेक दिनको धपेडी, कहिलेकाहीँ यात्रुको दुव्र्यवहार, ट्राफिक र समितिको हैरानीबाट वाक्क बनेकी उनले जब काँधमा खादा पहिरिईन् त्यतिबेला लाग्यो मैले ठूलो जिम्मेवारी निभाइरहेकी रहेछु । ‘हामीलाई यसरी सम्मान गर्नु भनेको हाम्रो लागि त गौरवको कुरा हो,’ विकले भनिन्, ‘हामी महिला अटोचालकलाई हेर्ने दृष्टिकोण नै नराम्रो छ, यस्तो बेला हामीलाई राम्रो काम गर्नुभएको छ भनेर सरले खादा लगाईँदिँदा त खुसीको सिमा नै छैन ।’ घरमा पुगेपछि परिवारलाई अटो चलाएका कारण आफूलाई सम्मान गरिएको भनेर गर्वका साथ सुनाउने उनले बताइन् ।

कर्णालीमै पहिलोपटक जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले ‘महिला अटो चालकहरुसँग ट्राफिक प्रहरी’ कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक मुकुन्दप्रसाद रिजालले महिला अटोचालकलाई सम्मानजनक काम गरेको भन्दै खादा लगाइदिएपछि महिलाहरुले खुसी व्यक्त गरेका हुन् । उनीहरुले अब महिला अटोचालकलाई हेर्ने दृष्टिकोण पनि बदलिने भन्दै सम्मानित पेशा गरेकोमा गर्व महसुस गरेको बताए । ‘तपाईंको पेशालाई हामी सम्मान गर्छौँ,’ एसपी रिजालले भने, ‘यो कुनै देखावटी हिसाबले होईन कि अन्तरआत्मादेखि नै तपाईँहरुले घरधन्दा, बालबच्चाको रेखदेख सँगसँगै यो चुनौतीपुर्ण काम गरेर जुन संघर्ष गर्नुभएको छ त्यो संघर्षलाई प्रोत्साहन गर्दै यो खादाले सम्मान गरेका हौँ ।’
अटोचालकले निर्धक्क खोले मनका कुरा
एसपी रिजालले कार्यक्रमको सुरुवातमै महिला अटोचालकका मनका कुरा सुन्नका लागि जम्मा भएको बताए । ‘कति ठूलो संघर्ष र विद्रोह गरेर तपाईंहरु घरबाट बाहिर निस्कनुभएको छ,’ उनले महिलाहरुलाई सहज बनाउँदै भने, ‘महिला र पुरुषलाई हेर्ने दृष्टिकोण कति फरक छ तर पनि तपाईंहरु कति संघर्ष गरेर यहाँ पुग्नुभएको छ,सहज त पक्कै छैन भन्ने हामीलाई थाहा छ त्यसैले केही पनि अफ्ठ्यारो नमानी आफ्ना समस्या पीडा के छन् हामीलाई भन्नुस् ।’ महिलालाई निर्धक्क मनका कुरा खोल्न भनेपछि अटो चलाउँदा आफूहरुले भोगेका समस्या कार्यक्रममा खुलेर भने ।
सुरुमा बोल्दै वीरेन्द्रनगरकी सुस्मिता विकले टाढैबाट देख्दा पनि डर लाग्ने ट्राफिक प्रहरीसँग आज आमुनेसामुन्ने भएर मनका कुरा खोल्न पाउँदा खुसी लागेको बताइन् । उनले महिला भएकै कारण हामीलाई हेर्ने नजरै फरक भएको गुनासो गरिन् । यात्रुहरुले नम्बर मागेर लिने र बारम्बार फोन गरेर तनाव दिने गरेको बनाइन् । दुई जनालाई त गलत व्यवहार गरेका कारण प्रहरी कार्यालयसम्म नै पु¥याएर थुनाएको अनुभव पनि विकले सुनाइन् । कार्यक्रममा सहभागी महिलाहरुले यात्रुसँगै प्रहरीबाट पनि आफूहरुले सास्ती भोगेको बताएका थिए ।
साढे ६ वर्षदेखि अटो चलाउँदै आएकी वीरेन्द्रनगर नगरपालिका–१३ इन्द्रपुरकी पुनम थापाले धुलियाविटभन्दा पुर्व जाँदा रुटपरमिट नहुँदा समस्या भइरहेको बताइन् । ‘घर हाम्रो उतै हो, उता जाँदा तपाईँहरुको परमिट छैन जान पाउनुहुन्न भनेर रोक्दिनुहुन्छ, कागजपत्र भएपनि परमिट नहुँदा डराई डराई जानुपर्ने बाध्यता छ यसको पनि समाधान निकालिदिनुहोला ।’
अटो चालकहरुले प्रति महिना एक हजार रुपैयाँ समितिलाई पनि तिरिरहेको गुनासो गर्दै समितिले आफूहरुबाट अनावश्यक रकम लिने गरेकाले खारेज गर्न पनि आग्रह गरे । ‘हामी समिति पाल्ने भनेर घाम–घाममा हिँडिरहेका छैनौँ,’ महिलाहरुले भने, ‘हामी नगरपालिकालाई कर तिर्छौँ, हामीलाई यो समितिसँग सरोकार छैन अब, समिति आफैले अटो किनिदिएको जस्तो व्यवहार गर्छन् ।’
करिब ४० जना महिला अटोचालक सहभागी भएको कार्यक्रममा महिलाहरुले घरको जिम्मेवारी सँगसँगै व्यवसाय गर्दा पनि यात्रु, प्रहरी र समितिबाट सास्ती भोग्नुपर्दाको पीडा सुनाएका थिए । महिलाहरुको प्रश्न तथा गुनासो सुनिसकेपछि प्रदेश ट्राफिक प्रमुख एसपी रिजालले महिलाहरुको समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रहरीबाट पनि सास्ती भोगिरहेको गुनासो महिलाहरुले गरेपछि उनले फिल्डमा खटिने प्रहरीहरुले महिला अटोचालकलाई गर्ने व्यवहार परिवर्तन गर्न निर्देशन दिए ।
उनले महिलाहरुलाई प्रहरीबाट कुनै किसीमको समस्या भए आफूलाई जानकारी दिन पनि आग्रह गरे । ‘फिल्डमा खटिएका प्रहरी कर्मचारी वा अरु कसैले तपाईंहरूलाई नराम्रो व्यवहार गरेमा खबर गर्नुहोला,’ उनले भने, ‘सकेसम्म म नै फिल्डमा पुग्छु, मलाई फोन गर्नुभयो भने प्रहरी कर्मचारी वा जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनेछु तर तपाईंहरुले ट्राफिक नियमको पालना गर्नुभएन भने हामीले कारवाही गर्नैपर्छ ।’
एसपी रिजालले ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै जोखिम मोलेर यात्रा नगर्न महिलाहरुलाई सुझाव दिए । क्षमताभन्दा बढी यात्रु राखेर आफ्नो र यात्रुको ज्यान जोखिममा नराख्न उनले आग्रह गरे । उनले प्रहरीले गर्नुपर्ने समन्वय र सहकार्यका लागि कुनै पनि कमी नहुने प्रतिवद्धता जनाए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक रोहित शाहीले महिला अटोचालकमाथि हुने गलत व्यवहारविरुद्ध प्रहरीसँग सहकार्य गरेर अगाडी बढ्न आग्रह गरे । उनले आफ्नो कार्यक्षेत्रभित्र पर्ने काम गर्न पछाडी नहट्ने बताए ।
कार्यक्रममा अटो चालक शान्ता परियारलाई ट्राफिक प्रहरीसँगको समन्वय र चालकका समस्या सहजीकरणका लागि तोकिएको छ । उनले महिला अटोचालकसँग समन्वय गर्ने र उनीहरूका समस्या प्रहरीसम्म पु¥याउने काम गर्ने प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।
उनका अनुसार यसका लागि सामाजिक सञ्जालमा एउटा समूह बनाइएको छ । यसमा महिला ट्राफिक कर्मचारीसँगै जिल्ला ट्राफिक प्रमुख शाही र अटोचालक महिलाहरू जोडिएका छन् । उनीहरूले अब आफ्ना समस्या यसैमार्फत राख्ने र प्रहरीले समाधानका लागि पहल गर्नेछ । आगामी दिनमा यस्ता खाले कार्यक्रम गर्न नसकिएपनि सामाजिक सञ्जालमार्फत महिलाहरुले एकै ठाउँमा आफ्नो समस्या तथा गुनासो राखेपछि समाधानका लागि सहज हुने प्रहरीले जनाएको छ ।








