सुर्खेत । सुर्खेतमा रहेर लामो समयदेखि टेलिभिजन पत्रकारितामा सक्रिय पत्रकार बुद्धिसिंह ठकुरीको निधनप्रति नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले गहिरो दुःख व्यक्त गरेको छ । महासंघका अध्यक्ष सुशीलराज शर्माद्वारा जारी शोक विज्ञप्तिमा ठकुरीको असामयिक निधनले समग्र पत्रकारिता क्षेत्र स्तब्ध बनेको उल्लेख गरिएको छ ।

स्वर्गीय ठकुरी सुर्खेत र काठमाडौँमा रहेर टेलिभिजन पत्रकारितामा सक्रिय थिए । उनले विभिन्न सञ्चारमाध्यममार्फत पत्रकारितामा महत्वपूर्ण योगदान पु¥याएका थिए । उनको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको महासंघले जनाएको छ ।
महासंघले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, ठकुरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदान सधैं स्मरणीय रहने उल्लेख गरिएको छ ।
ठकुरीको विहीबार घरमै ह्दयघातका कारण ४१ वर्षको उमेरमा निधन भएको हो । परिवार स्रोतका अनुसार स्वर्गीय ठकुरीको आज बिहान ११ बजे सुर्खेतस्थित भेरीघाटमा अन्त्येष्टि गरिने कार्यक्रम तय भएको छ ।








