२०८३ जेठ १२ , मंगलबार

कर्णालीमा साइबर सुरक्षा सुदृढीकरणका लागि दुई दिने कार्यशाला सम्पन्न



सुर्खेत । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) अन्तर्गत सूचना तथा सञ्चार प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र, कर्णाली प्रदेश प्रादेशिक कार्यालयको आयोजनामा दुई दिने साइबर सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । २०८२ चैत २५ र २६ गते सञ्चालन गरिएको कार्यशालामा प्रदेशका विभिन्न सरकारी तथा गैरसरकारी निकायका ३५ भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

‘Building Cyber–Ready OrganizationsM Strategy, Tools, and Hands–On InsightsÚ ’ शीर्षकमा आयोजित उक्त कार्यक्रमको मुख्य उद्देश्य डिजिटल प्रविधिमा रहेको अन्तर (डिजिटल ग्याप) कम गर्नुका साथै साइबर सुरक्षा सम्बन्धी सचेतना र दक्षता अभिवृद्धि गर्नु रहेको आयोजक नास्टका निमित्त कार्यालय प्रमुख बम बहादुर साँउदले बताए ।

कार्यशालामा नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल टेलिकम, राष्ट्रिय अनुसन्धान विभाग, जल तथा मौसम विज्ञान विभाग, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रदेश प्रहरी कार्यालय, लोकसेवा आयोग, मध्यपश्चिम विश्वविद्यालय,पत्रकार लगायतका विभिन्न निकायका प्रतिनिधिहरू सहभागी भएका थिए ।

कार्यक्रममा सहभागीहरूलाई संस्थागत स्तरमा साइबर सुरक्षा कसरी सुदृढ बनाउने, डिजिटल प्रणालीमा देखिने जोखिमहरूको पहिचान र व्यवस्थापन कसरी गर्ने, तथा बढ्दो साइबर चुनौतीहरूबाट डेटा र सूचना प्रणालीलाई सुरक्षित राख्ने उपायहरूबारे व्यावहारिक तथा प्राविधिक ज्ञान प्रदान गरिएको थियो ।

विशेषगरी, संस्थाहरूलाई ‘साइबर–रेडी’ बनाउने रणनीति, सुरक्षा उपकरणहरूको प्रयोग, डेटा संरक्षण, नेटवर्क सुरक्षा, जोखिम मूल्यांकन र प्रतिक्रिया प्रणाली (Incident Response) जस्ता विषयहरूमा अभ्याससहित प्रशिक्षण दिइएको थियो । सहभागीहरूले आफ्ना–आफ्ना संस्थाको वर्तमान सुरक्षा अवस्था मूल्यांकन गर्दै सुधारका सम्भावित उपायहरूबारे पनि छलफल गरेका थिए ।

प्रशिक्षकका रूपमा डा. निरोज पाण्डे, डा. बिमला देवकोटा, प्रदीप ढोडारी, डा. सुवर्ण शाक्य र नरेश कोइरालाले प्रशिक्षण दिएका थिए । उनीहरूले साइबर सुरक्षाको महत्व, वर्तमान चुनौतीहरू र समाधानका व्यावहारिक उपायहरूबारे विस्तृत जानकारी गराएका थिए । कार्यक्रमले कर्णाली प्रदेशका सरकारी तथा अन्य संस्थाहरूमा साइबर सुरक्षा सम्बन्धी सचेतना बढाउने, प्राविधिक क्षमता विकास गर्ने तथा प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्ने दिशामा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ चैत २६ गते बिहीबार