सुर्खेत । कर्णालीको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचान बोकेको दैलेखको पञ्चकोशी क्षेत्र यतिबेला फेरि एकपटक चर्चामा छ । यही बैशाख १३ देखि १९ गतेसम्म आयोजना हुन लागेको पञ्चकोशी धार्मिक पर्यटन मेला केवल एउटा उत्सव मात्र होइन, यो क्षेत्रको पहिचान, परम्परा र सम्भावनालाई पुनर्जीवित गर्ने प्रयासका रूपमा हेरिएको छ ।

पञ्चकोशी क्षेत्र प्राचीन कालदेखि नै हिन्दु धार्मिक आस्थाको केन्द्र मानिँदै आएको छ । ‘पाँच कोस’ क्षेत्रमा फैलिएको यस क्षेत्रभित्र विभिन्न पवित्र स्थलहरू रहेका छन्, जहाँ दर्शन र पूजाआजा गर्दा आध्यात्मिक शान्ति प्राप्त हुने विश्वास रहँदै आएको छ । स्कन्दपुराण लगायतका धार्मिक ग्रन्थहरूमा समेत यसको उल्लेख पाइन्छ, जसले यसको ऐतिहासिक र धार्मिक महत्व अझ बलियो बनाउँछ ।
यही महत्वलाई उजागर गर्ने उद्देश्यसहित पञ्चकोशी क्षेत्र विकास संस्था दैलेखको आयोजनामा र दैलेखी सेवा समाज सुर्खेतको सहजीकरणमा मेला आयोजना हुन लागेको हो । आयोजकका अनुसार स्थानीय तह र दानदाताबाट संकलित स्रोतसाधनबाट मेलाको व्यवस्थापन गरिनेछ ।
संस्थाका अध्यक्ष नविन योगीका अनुसार यस मेलाबाट संकलित रकम पञ्चकोशी क्षेत्रको इतिहास अभिलेखीकरणमा खर्च गरिनेछ, जसले भावी पुस्तालाई आफ्नै माटोको पहिचान बुझ्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।
मेलाको अर्को प्रमुख आकर्षण स्कन्दपुराण वाचन रहनेछ । यसका लागि २१ वर्षीया युवा वाचिका कीर्ति किशोरीजीलाई आमन्त्रण गर्ने तयारी भइरहेको छ । युवा पुस्तामाझ धार्मिक चेतना फैलाउने र परम्परागत संस्कृतिलाई आधुनिक सन्दर्भमा जोड्ने प्रयासका रूपमा यसलाई लिइएको छ ।
तर, पञ्चकोशी केवल धर्म र आस्थाको केन्द्र मात्र होइन, यो क्षेत्र आर्थिक र विकासको दृष्टिले पनि महत्वपूर्ण बन्न सक्ने सम्भावना बोकेको छ । दैलेखको जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको सम्भावना पुष्टि भइसकेको सन्दर्भमा मेलाले यस विषयलाई पनि उठान गर्ने लक्ष्य लिएको छ ।
आयोजकले ऐतिहासिक र धार्मिक महत्वलाई असर नपर्ने गरी पेट्रोलियम उत्खनन कार्य तत्काल अघि बढाउन सरकारसँग दबाब दिने बताएका छन् । यसले पञ्चकोशी क्षेत्रलाई धार्मिकसँगै आर्थिक केन्द्रका रूपमा विकास गर्न सक्ने संकेत गर्छ । मेलालाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने प्रयास पनि सुरु भएको छ । नेपाल–भारत नागरिक मैत्री संस्थाको समन्वयमा भारतीय पर्यटक भित्र्याउने योजना बनाइएको छ, जसले धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास गरिएको छ ।
दैलेखी सेवा समाज सुर्खेतका अध्यक्ष देवकुमार बिसीले पञ्चकोशी क्षेत्रलाई केवल दैलेखको मात्र नभई समग्र कर्णाली र नेपालकै गौरवको विषय मान्छन् । उनका अनुसार यहाँको पूर्वाधार विकास, संरक्षण र प्रचार–प्रसारमा सबै पक्षले साझा जिम्मेवारी लिन आवश्यक छ ।
वास्तवमा, पञ्चकोशी क्षेत्रले एउटा ठूलो सन्देश दिन्छ, पहिचान जोगाउन सकिएन भने विकासको अर्थ अपूर्ण हुन्छ । आधुनिकता र परम्पराको सन्तुलन कायम राख्दै अघि बढ्न सकिएमा मात्र यस्ता ऐतिहासिक क्षेत्रहरू दीर्घकालीन रूपमा संरक्षण हुन सक्छन् ।
आजको आवश्यकता केवल मेला आयोजना गर्नु मात्र होइन, पञ्चकोशी क्षेत्रलाई दीगो धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्नु हो । सडक, आवास, सूचना प्रवाह, सरसफाइ र व्यवस्थापनमा सुधार गर्दै यहाँ आउने श्रद्धालु र पर्यटकलाई सहज अनुभव दिन सकिएमा यो क्षेत्र राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत स्थापित हुन सक्छ ।








