२०८३ वैशाख ६ , आइतबार

चार दिनमै खुसी शोकमा परिणत



सुर्खेत। कालिकोटको नरहरिनाथ गाउँपालिका–८ की २७ वर्षीया भावना विष्टको उपचारका क्रममा मृत्यु भएको घटनाले कर्णालीमा स्वास्थ्य सेवाको गुणस्तरमाथि फेरि प्रश्न उठाएको छ। सुत्केरीपछि स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई काठमाडौँ लगिएको थियो, जहाँ पुगेको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए।

चार दिनअघि कर्णाली प्रादेशिक अस्पताल, सुर्खेतमा छोरी जन्माएकी भावना प्रारम्भमा सामान्य अवस्थामा थिइन्। नवजात शिशुसहित घर फर्किने तयारीमा रहेको परिवारमा खुसी छाएको थियो। तर, शल्यक्रियाबाट सुत्केरी भएको दुई दिनपछि उनको स्वास्थ्य अवस्था अचानक बिग्रिँदै गयो। अस्पतालले थप समस्या देखिएको जनाउँदै पुनः शल्यक्रिया गर्नुपर्ने बताएपछि परिवार सहमत भयो र दोस्रो पटक अपरेशन गरियो।

दोस्रो शल्यक्रियापछि अवस्था झनै गम्भीर बन्दै गएपछि उनलाई आइसियुमा राखेर उपचार सुरु गरिएको थियो। परिवारले समयमै सुविधासम्पन्न अस्पतालमा रिफर गरिदिन आग्रह गरे पनि अस्पतालले तत्काल आवश्यक नभएको बताउँदै केही समय आफ्नै निगरानीमा राखेको आरोप परिवारको छ।

अस्पतालप्रति अविश्वास बढेपछि अन्ततः परिवारले वैशाख ४ गते चिकित्सकसहितको हेलिकोप्टर चार्टर गरी उनलाई काठमाडौँ लगेको थियो। काठमाडौँस्थित मेडिसिटी अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

अस्पताल प्रशासनले भने भावनाको उपचारमा कुनै कमी नराखिएको दाबी गरेको छ। अस्पतालले जारी गरेको विज्ञप्तिमा सुत्केरीपछि उच्च रक्तचापसँग सम्बन्धित जटिल अवस्था (प्रि–एक्लाम्सिया र एक्लाम्सिया), अत्यधिक रक्तस्राव, मिर्गौलाको कार्यक्षमता कमजोर हुनु तथा रगतमा अक्सिजनको मात्रा घट्नुजस्ता गम्भीर समस्या देखिएको उल्लेख गरिएको छ। अवस्था जटिल बन्दै गएपछि उच्चस्तरीय उपचार आवश्यक ठहर गरी काठमाडौँ रिफर गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार वैशाख ३ गते नै परिवारको सहमतिमा रिफर गर्ने प्रक्रिया अघि बढाइएको भए पनि चिकित्सकसहितको हेलिकोप्टर उपलब्ध हुन ढिलाइ हुँदा काठमाडौँ लैजान समय लागेको हो।

तर, मृतकका आफन्तले अस्पतालको गम्भीर लापरबाहीका कारण भावनाको ज्यान गएको आरोप लगाएका छन्। नरहरिनाथ गाउँपालिकाका अध्यक्ष तथा नातेदार नगेन्द्रबहादुर विष्टले समयमै रिफर नगर्दा ज्यान गुमाउनुपरेको बताए। “बिरामीको अवस्था बिग्रिँदै जाँदा पनि ढिलाइ गरियो, जसका कारण यस्तो दुखद अवस्था आयो,” उनले भने।

परिवारले घटनाको स्वतन्त्र छानबिन, दोषी चिकित्सक तथा कर्मचारीमाथि कारबाही, उपचार प्रक्रियाबारे स्पष्ट जानकारी र मृतकका सन्तानको भविष्यको जिम्मेवारी लिनुपर्ने माग अघि सारेको छ। उनीहरूले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै न्यायको माग गरेका छन्।

मन्त्री भण्डारीले घटनाको सत्यतथ्य छानबिनका लागि आवश्यक प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्। यसैबीच, भावनाको शनिबार भेरी नदीमा अन्त्येष्टि गरिएको छ। नवजात शिशु भने अहिले परिवारकै संरक्षणमा रहेको छ। यो घटनाले कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा सेवा प्रवाह, निर्णय प्रक्रिया र आपतकालीन व्यवस्थापनबारे गम्भीर बहस निम्त्याएको छ।

प्रकाशित मिति : २०८३ वैशाख ६ गते आइतबार