डोल्पा । जिल्ला प्रहरी कार्यालय डोल्पाले २०८२ साल चैत महिनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार सो अवधिमा पाँच वटा मुद्दा दर्ता भएका छन् भने चार जना प्रतिवादी रहेका छन् । प्रहरीका अनुसार महिला, बालबालिका तथा नागरिकतर्फ १ वटा उजुरी फर्छ्योट गरिएको छ । हराएका तथा फेला परेका नागरिक सम्बन्धी २ वटा निवेदनमध्ये १ जना फेला पारिएको जनाइएको छ । उजुरी व्यवस्थापनतर्फ प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा १३ वटा उजुरी परेको र तीमध्ये अधिकांश फर्छ्योट गरिएको प्रहरीले जनाएको छ । साथै जिल्ला प्रशासन कार्यालयमार्फत चार वटा उजुरी प्राप्त भएको पनि विवरणमा उल्लेख छ ।
अपराध न्यूनीकरणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको छ । प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काका अनुसार लामो दूरी र छोटो दूरी गस्ती, सादा पोशाकमा प्रहरी परिचालन तथा नियमित गस्तीलाई तीव्रता दिइएको छ । एक महिनामा ११ पटक लामो दूरी गस्ती, एक सय ६० पटक छोटो दूरी गस्ती, पाँच सय १८ पटक पिकेट ड्युटी, पाँच सय पटक चेकजाँच र तिन सय ७८ पटक ग्रामीण गस्ती गरिएको प्रहरीले जनाएको छ ।
सवारी दुर्घटनातर्फ दई वटा दुर्घटना भएका छन्, जसमा एक जनाको मृत्यु भएको छ । चेकजाँचका क्रममा ३६ वटा कारबाही गरी २८ हजार एक सय रुपैयाँ राजस्व संकलन गरिएको छ । समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रमअन्तर्गत ३६ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । ती कार्यक्रममा सात सय २६ जना सहभागी भएका छन्, जसमा दुई सय दश जना विद्यार्थी रहेका छन् ।
प्रहरी कार्यालयको हटलाइन तथा ड्युटी कक्षमा एक महिनामा एक सय एक वटा फोन आएको र नागरिक सहायता कक्षमार्फत एक हजार एक सय दुई जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको विवरणमा उल्लेख छ । त्यसैगरी, बेवारिसे अवस्थामा एक नाल भरुवा बन्दुक फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । प्रहरी कार्यालयले प्रत्येक महिनाको अन्त्यमा यसरी मासिक प्रगति विवरण सार्वजनिक गर्दै आएको छ ।









