सुर्खेत । कर्णालीलाई दक्षिण तराईसँग जोड्ने रणनैतिक महत्वको मुलपानी–रानिघाट–तेलपानी–भुरीगाउँ सडक आयोजनाको कामले पूर्णता पाउन सकेको छैन । यो सडक झण्डै साढे एक दशक यता संघीय सरकारको वार्षिक नीति, कार्यक्रम तथा बजेटमा समावेश हुन्छ, तर निर्माण कार्य अघि बढ्दैन ।

यो सडक कर्णालीलाई लुम्बिनी प्रदेशसँग जोड्ने छोटो मार्ग पनि हो । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभाग मातहत रहेको भू–वातावरण तथा सामाजिक शाखाले सडक निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धी क्षेत्र निर्धारण तथा कार्यसूची स्वीकृत गर्ने कार्य अघि बढाएपछि सडक बन्ने आशा पलाएको छ ।
महाशाखाले ग्रामीण पूर्वाधार विकास तथा अनुसन्धान परामर्शदाता नेपाल–कालिका–रारा जेभी ललितपुरलाई लुम्बिनीको बर्दिया र कर्णालीको सुर्खेतमा प्रस्तावित आम्बासा–दानवताल–तेलपानी–सुर्खेत सडक खण्ड अन्तर्गत ५० किलोमिटर सडक स्तरोन्ती तथा नयाँ निर्माणका लागि प्रस्ताव मागेको छ । यसका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआईए) सम्बन्धि क्षेत्र निर्धारण तथा कार्यसूचि स्वीकृति गर्न रायसुझाव समितिको बैठक बस्न लागेकाले प्रस्तावित सडकको प्रतिवेदन पेश गर्न भनेको छ ।
इआईएको क्षेत्र निर्धारण र कार्यसूचि स्वीकृत भएको खण्डमा सडक निर्माणमा बाधक बन्दै आएको बर्दिया राष्ट्रिय निकुञ्जमा सडक विस्तारको बाटो खुल्ने अपेक्षा छ । हाल यो सडक खण्डको सुर्खेततर्फ ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको छ, भने बर्दिया खण्डमा झण्डै दुई सय मिटर नयाँ सडक खुन्ल बाँकी छ ।
स्थानीय टोपबहादुर कठायतका अनुसार बर्दियाको भुरिगाउँबाट बराहताल गाउँपालिका–१, को तेलपानीसम्म वनपथका रुपमा अस्थायी ट्र्याक खुलिसकेको छ । तर करिब दुई सय मिटर कडा चट्टानका कारण गाडी गुड्ने गरी सडक निर्माण गर्न सकिएको छैन । मानव श्रोतले चट्टान काट्न सम्भव नभएको र बर्दिया राष्ट्रिय निकुञ्जले मेसिनरी औजार प्रयोग गर्न नदिएकाले सडक खुल्न नसकेको हो ।
मूलपानी–रानीघाट–भुरीगाउँ–तेलपानी सडक विस्तारको मुद्दा अहिलेको भने होइन । आर्थिक वर्ष २०६४/६५ बाट भुरीगाउँ–तेलपानी खण्डमा सरकारले बजेट विनियोजन गर्न थालेको स्थानीय बताउँछन् । २०६९ सालसम्म यो सडकमा एक करोड ७६ लाख रुपैयाँ खर्च भएको भए पनि सडकको अवस्था उस्तै छ । उतिबेला भेरी नदीबाट डोजर तारेर रानीघाटदेखि तेलपानीसम्म १८ किलोमिटर सडकको नयाँ ट्र्याक खोलिएको थियो ।
सडक निर्माणले गति लिएका बेला बर्दिया राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रमा सडक विस्तार गर्न रोकेपछि अहिले यो सडक स्थानीयलाई सास्ती खेप्ने मार्ग बनिरहेको छ । राष्ट्रिय निकुञ्जको अवरोधपछि सर्वोच्च अदालतले सडक विस्तारको बाटो खोलिदिएको भए पनि अहिले निकुञ्जको मध्यवर्ती क्षेत्रमा रुख कटान, जग्गा भोगाधिकार र भेरी नदीमा पुल निर्माणको काम हुन नसक्दा सडक विस्तारको काम हुन नसकेको तेलपानीका स्थानीय पदमबहादुर बडुवाल बताउँछन् ।
यो सडकलाई प्रदेश सरकारले समेत प्राथमिकतामा राख्दै आएको छ । प्रदेश स्थापना पूर्व सुरु भएको यो सडकमा १६ असार २०७७ मा रानीघाट–तेलपानी सडकअन्तर्गत दोस्रो खण्ड रानीघाटदेखि तेलपानीसम्मको सडक स्तरोन्नति गर्न पूर्वाधार निर्देशनालय सुर्खेत र थोदुङ्ग/जागृति जेभीबीच ठेक्का सम्झौता भएको थियो । तर सम्झौता मिति समाप्त भइसक्दा १० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । २२ माघ २०८२ सम्म निर्माण सम्पन्न गर्ने गरी १३ करोड २६ लाखमा सम्झौता भए पनि हाल रुख कटान र जग्गा भोगाधिकारको अनुमति प्राप्त नहुँदा काम अघि बढ्न सकेको छैन ।
बराहताल गाउँपालिका–१, का वडाध्यक्ष बमबहादुर बडुवालले रुख कटान तथा जग्गा भोगाधिकारका लागि प्रभावित क्षेत्रमा लगत सङ्कलन भए पनि काम अघि बढ्न नसकेको बताए । प्रदेश सरकार स्थापना भएपछि कर्णाली प्रदेश सरकारले भुरीगाउँ–तेलपानी सडकलाई अन्तरप्रदेश जोड्ने सडकका रूपमा प्राथमिकतामा राख्दै आएको छ । सोहीअनुसार चालु आर्थिक वर्षमा पनि यही सडकका लागि प्रदेशले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर संघीय सरकारको असयोगकै कारण प्रदेश सरकारले यो सडकलाई पूर्णत दिन सकेको छैन ।
फलाटे–रानिघाट खण्ड निर्माण हुदै
रुख कटान र जग्गाभोगाधिकारको अल्झनले रानिघाट–तेलपानी दोस्रो खण्ड अलपत्र परे पनि प्रदेश सरकारले पहिलो खण्ड फलाटे–रानीघाटसम्म झण्डै सात किलोमिटर सडकको स्तरोन्नतिको कार्य जारी राखेको छ ।
पूर्वाधार निर्देशनालय सुर्खेतले पहिलो खण्डको स्तरोन्नतिसहित कालोपत्रे गर्नका लागि ठेक्का प्रक्रिया अगाडि बढाएको थियो । उक्त सडकको लागत ३२ करोड छ भने निर्माणको जिम्मा बासना निर्माण सेवाले पाएको छ । पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक इन्जिनियर सूर्यबहादुर शाहीका अनुसार सडक निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ ।
उनका अनुसार सडकमा बेस बिच्छ्याउने काम सम्पन्न भई कालोपत्रे गर्ने तयारी छ । भने कुल १० किलोमिटर सडकमध्ये सात किलोमिटर सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्न बहुवर्षीय ठेक्का प्रक्रिया थालनी गरिएकोमा सम्झौता मिति अगावै काम सम्पन्न हुने अपेक्षा छ । मूलपानी–रानीघाट सडकको दूरी १० किलोमिटर छ । मूलपानीदेखि फलाटेसम्मको तीन किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ ।
पक्की पुल पनि अलपत्र
मूलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडकखण्डअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–२ को रानीघाटस्थित भेरी नदीमा बन्ने भनिएको पुल १३ वर्षदेखि अलपत्र अवस्थामा छ । ६ असार २०६९ मा पप्पु कन्स्ट्रक्सन/मल्ल जेभीसँग २८ पुस २०७२ मा पुल निर्माण सम्पन्न गर्ने गरी १४ करोड २९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर १३ वर्षसम्म उक्त पुलका दुईवटा पिलर मात्रै ठडिएका छन् ।
पाँच दशकअघि चिट्ठीपत्र पु¥याउन खनिएको भुरीगाउँ–तेलपानी सडक सुदूरपश्चिम र कर्णाली प्रदेशको लाइफलाइनका रूपमा विस्तार हुने भनिएको सडक बर्दिया राष्ट्रिय निकुञ्ज र यसको बफर जोनमा रुख कटान र जग्गा भोगाधिकारको उल्झनले पूरा हुन सकेको छैन । भुरीगाउँबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको दूरी ५१ किलोमिटर छ । यो सडक विस्तार भएको खण्डमा भुरीगाउँबाट वीरेन्द्रनगर १ घण्टाभित्रै पुग्न सकिन्छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–२, भुरीगाउँको अम्रेनीदेखि कर्णाली प्रदेशको बराहताल गाउँपालिकाको तेलपानीहुँदै कर्णालीसम्म चिट्ठीपत्र पु¥याउन तत्कालीन जिल्ला पञ्चायतले २०२५ सालमा हुलाकी सडकका रूपमा ट्र्याक खोलेको थियो । सुर्खेत–भुरीगाउँ जोड्ने यो सडक स्तरोन्नति हुन सके यहाँको बजार विस्तार हुनुका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेश कर्णालीसँगको छोटो दूरीमा जोडिन्छ ।
हाल कर्णालीका नागरिकलाई बर्दिया तथा सुदूरपश्चिम जान बाँकेको कोहलपुर पुग्नुपर्ने बाध्यता छ । तर सडक निर्माण नहुदाँ स्थानीयवासीमा सरकारको कामप्रति वितृष्णा बढ्दै गएको छ । यो सडक निर्माण सम्पन्न हुनसके स्थानीयलाई रोजगारी सृर्जनासँगै कृषि उत्पादन बिक्रि र आयआर्जनमा सहजता आउने अपेक्षा गरिएको छ । भने सम्बन्धित सरोकारवालाबिच प्रभावकारी समन्वय भएको खण्डमा सडकको काम छिटो अघि बढ्नसक्ने देखिन्छ ।








