२०८३ वैशाख ११ , शुक्रबार
फ्रन्ट पेज

आधुनिकताले बिग्रियो राउटेको बानी, हानिकारक जीवनशैलीमा मस्त



सुर्खेत । दृष्य गत शनिबार दिउँसो राउटे बस्तीनजिकै एक किराना पसल अगाडीको हो । जहाँ एक अधबैँसे राउटे युवती मदिराले लट्ठ अवस्थामा थिइन् । उनी मदिराले अर्धचेत नै थिइन् । तर उनको जवाफ थियो, ‘मैले रक्सी खायाको छैन । चाउचाउ किन्न आयाको हुँ ।’

उनीसँगै आएका अन्य महिलाले सामाजिक सुरक्षा भत्ता बुझेर रक्सी खान आएको भन्दै थिए । तर जिब्रो लरबराउँदै उनी भन्दै थिइन्, ‘होइन, होइन, मैले रक्सी खायाकै छैन ।’ उनी मात्रै होइन, अन्य महिला तथा पुरुषहरू पनि भत्ताको रकम बुझ्नेबित्तिकै नजिकको बस्तीतर्फ ओर्लंदै थिए, जहाँ उनीहरू धित मरुञ्जेल मदिरा पिउनेवाला थिए ।

स्थानीय एक किराना पसल सञ्चालकका अनुसार पसलमा आउने अधिकांशको पहिलो माग मदिरा हुने गर्छ । उनीहरूले उधारो माग्दा भत्ता आएपछि पैसा दिन्छौँ भन्ने गर्छन् । कुनै समय पैसा छोए पाप लाग्छ भन्ने राउेटहरू आफ्नै पौरखमा जीविकोपार्जन गर्थे । एकै ठाउँमा स्थायी बसोबास नगर्ने राउटेहरू वनमा पाइने कुकाठबाट घरायसी प्रयोजनका सामग्री बनाएर दैनिकी चलाउँथे । काठबाट बनेका मदुस, पिर्का, कोशी बोकेर नजिकका बस्तीमा जाने र अन्न तथा तरकारीसँग साटेर बस्ती फर्कनु राउेटहरूको दैनिकी हुन्थ्यो ।

राउेटहरूले जंगलमा पाइने बाँदर मारेर मासुको जोहो गर्थे । वनका कन्दमूल राउटे समुदायको छाक टार्ने मेसो बन्थ्यो । अखाद्य वस्तुबाट टाढा रहने राउटे समुदाय झण्डै एक दशकअघिसम्म शारीरिक रूपमा तन्दुरुस्त हुन्थे । उनीहरूको आफ्नै भाषा, संस्कृति र रहनसहन हुन्थ्यो । उनीहरू विशेष गरी सुर्खेत र दैलेखका जंगलमा बसाइँ सरिरहन्थे । तर यी सबै अहिले राउटे समुदायका लागि मिथक बनेका छन् ।

अहिले उनीहरू बसाइँ त सरिरहन्छन् नै, त्यससँगै हानिकारक जीवनशैली र अत्यधिक मदिरा सेवनले राउटे समुदायलाई तीव्र रूपमा ढाक्दै गएको छ । यसको प्रमुख कारण आधुनिकीकरणको नाममा नगद रकम दिइनु हो । सामाजिक सुरक्षा र सहयोगका नाममा नगद रुपैयाँ दिइँदा अहिले राउेटहरू परनिर्भरतामा धकेलिएका छन् ।

यति मात्रै होइन, नगदकै कारण राउटेहरूमा गुणस्तरहीन मदिराको लत बसेको छ, जसका कारणले उनीहरूको स्वास्थ्य बिग्रँदै मात्र गएको छैन । अस्वस्थ खानपान र जीवनशैलीले महिला तथा पुरुषमा प्रजनन् स्वास्थ्यमा समेत गम्भीर असर पर्दै गएको छ ।

राउटे समुदायको हानिकारक जीवनशैली सुधारमा तीनै तहका सरकार र विकास साझेदारहरूले विभिन्न कामहरू गर्दै आएका छन् । तर राउटेमाथि भएको लगानीले प्रतिफल भने दिन सकेको छैन । राउटेका नाममा बर्सेनि करोडौँ रकम खर्च भइरहेको छ । उक्त रकम मदिरामा खर्च हुँदा यसलाई रोक्न कुनै प्रयास राज्यबाट भएको देखिँदैन । राउटेको एकै परिवारमा चौमासिक रूपमा एक लाख रुपैयाँसम्म भत्ताबापतको रकम जाने गरेको तथ्यांकले देखाउँछ ।

राउटे समुदायको जीवनरक्षालाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने मानवअधिकारकर्मी पिताम्बर ढकाल बताउँछन् । राउटे समुदायप्रति राज्य उत्तरदायी हुन नसकेको उल्लेख गर्दै उनीहरूको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै राउटेको वेशभूषा, संस्कृतिको रक्षामा जोड दिनुपर्ने ढकालको भनाइ छ ।

राउटेको जीवनरक्षाका लागि स्वास्थ्य, सरसफाइ, शिक्षा र पौष्टिक खानामा विशेष ख्याल गर्नुपर्ने उनको धारणा छ । ‘हाल राउटे नागरिकमा सरसफाइको अवस्था नाजुक छ, मदिराको प्रयोग अत्यधिक छ । सरसफाइका लागि राउटे नागरिकलाई सचेतना दिन जरुरी छ’ उनले भने, ‘अब मदिराको प्रयोगलाई तत्काल रोक्नुपर्छ । भत्ताको नीति परिमार्जनमार्फत नगद प्रवाह रोक्ने र दैनिक आवश्यकताका वस्तुहरू राज्यका निकायले बस्तीमै आपूर्ति हुने व्यवस्था मिलाउनुपर्छ ।’

संरक्षण गर्न स्पष्ट नीति छैन

राउटेहरूले आत्मनिर्णयको अधिकार उपयोग गरी स्वशासनको अभ्यास गरिरहेका छन् । उनीहरू निर्वाध रूपमा आफे प्रथाजनित अभ्यासको निरन्तरता चाहन्छन् । आफ्नो प्राकृतिक सम्पत्ति र स्रोतहरूको स्वतन्त्रतापूर्वक उपभोग गर्न सक्छन् । समग्र रूपमा राउटेहरूको प्रथाजनित अभ्यास निरन्तरतामा अवरोध उत्पन्न भए उनीहरूले प्रतिनिधित्व गरेको एउटा सभ्यताको अन्त्य सम्मुख देखिएको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगको अध्ययनले भन्छ, ‘उनीहरूको स्वेच्छिक रोजाइ आवास, खाद्यान्न, पोषण, लत्ताकपडा, गुणस्तरीय शिक्षा उपलब्ध गराउने विधि तय गरी प्रभावकारी कार्यान्वयन, बाहिरी आधुनिक समाजले उनीहरूको सभ्यता र स्वशासनमाथि गरेको अतिक्रमण नियन्त्रण हुन अत्यावश्यक छ, जसले उनीहरूको मानवअधिकार संरक्षण र सम्बद्र्धनमा सहयोग पुग्ने आयोगको ठहर छ ।’

संघ, प्रदेश र स्थानीय तहले राउटेका लागि गरिने व्यवस्था र कार्यक्रमको एकीकृत अभ्यास गर्न जरुरी पनि उत्तिकै रहेको आयोगले भनेको छ । नेपालको संविधानको धारा ५६ (५) ले संघीय कानुनबमोजिम सामाजिक सांस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि संरक्षित क्षेत्र कायम हुनुपर्ने आयोगको सुझाव छ । साथै, राउटेहरूका लागि पृथक् कानुनी व्यवस्था गर्न आवश्यक रहेको मानवअधिकार आयोगको सुझाव छ ।

मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको अनौपचारिक सेवा केन्द्र इन्सेकले ‘मानवअधिकारको दृष्टिमा राउटे समुदाय’ शीर्षकमा गरेको अध्ययनले राउटेलाई भत्ताको साटो आवश्यक खाद्यान्न र पोषणयुक्त खानेकुरा तथा कपडाको व्यवस्था गर्नुपर्ने सरकारलाई सुझाव दिएको छ ।

अध्ययनले राउटे समुदायको सहभागितामा राउटे नीति निर्माण गरेर शिक्षा, स्वास्थ्य, खाद्य र आवासको उचित व्यवस्था गर्नुपर्ने, सरसफाइ, पोषण र स्वास्थ्य उपचारका बारेमा चेतना अभिवृद्धि गराउनुपर्ने सुझाव दिएको थियो । तर, सुझाव कार्यान्वयनमा भने राज्य गम्भीर बन्नै सकेको छैन ।

कर्णाली प्रदेश सरकारको प्रथम कार्यकालमा राउटे नीति ल्याउने भनिएको थियो तर ल्याइएन । दोस्रो कार्यकालमा राउटे कोरिडोरको अवधारण ल्याइएको भए पनि हालसम्म त्यसले मूर्त रूप धारण गर्न सकेको छैन ।

चालु आर्थिक वर्ष २०८२/०८३ मा कर्णाली प्रदेशको राउटे नीति, राउटे समन्वय समितिको अध्ययन प्रतिवेदन, विभिन्न संवैधानिक आयोगहरूको सिफारिसका तथा राउटेहरूको विगत १० वर्षको बसोबासस्थलको नक्सांकनका आधारमा कोरिडोरको अवधारणा अघि सारेको दाबी गरेको छ । तर, खास प्रगति देखिने गरीका स्पष्ट नीतिगत आँकडाहरू अझै बाहिर आउन सकेका छैनन् ।

भत्ताको रकम मदिरामै खर्च

दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीको टोली शनिबार पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका– १४ र लेकबेँसी नगरपालिका– २ को सीमावर्ती क्षेत्र स्याला गोठेरी पुग्यो, जहाँ लोपोन्मुख राउटे समुदायको बसोबास छ ।

राउटे बस्तीमा गुराँस गाउँपालिकाको टोली पुग्नुको कारण अन्य नभई सरकारले लोपोन्मुख र सीमान्तकृत समुदायलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षाबापतको रकम प्रदान गर्नु थियो । गाउँपालिकाको टोली झोलामा नगद पैसा बोकेर कपडाले छाएको र स्याउलाले बारेको बस्तीमा पुग्दा राउटे समुदायका मानिसहरू उत्साहित देखिन्थे ।

पालिकाका कर्मचारीहरूले राउटे समुदायका व्यक्तिहरूको नाम रुजु गरेर सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेपछि राउटे समुदायका महिला तथा पुरुषहरूले तँछाडमछाड गरेर रकम बुझे । गाउँपालिका अध्यक्ष टोपबहादुर बीसी, उपाध्यक्ष शिवा खड्का र प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीले जनही ४ हजारका दरले तीन महिनाको प्रतिव्यक्ति १२ हजार नगद राउटे समुदायका महिला, पुरुष र बालबालिकालाई हस्तान्तरण गरे ।

पालिका अध्यक्ष विसीका अनुसार राउटे समुदायका एक सय ३२ जनालाई १५ लाख ८४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ताबापतको रकम दिइएको छ । राउटेलाई नगद दिएपछि पालिका अध्यक्ष बीसीले पोषिलोयुक्त खाना, लत्ताकपडा र सरसफाइजन्य सामग्रीमा जोड दिन आग्रह गरे ।

राउटे समुदायलाई गुराँस गाउँपालिकाले परिचयपत्र दिएर आफ्ना नागरिकको दर्जा दिएको छ । सोही कारण पालिकाले तीन वा चार (अन्य समय आवश्यकताका आधारमा) महिनाको अवधिमा राउटेहरूलाई यसैगरी नगद रकम दिँदै आएको छ ।

भत्ता लिने लाइनमा राउटे मुखिया शेरबहादुर शाही पनि देखिन्थे । उनले आफूसहित आफ्ना चार जना परिवारको भत्ता औँठा छाप गरेर बुझे । भत्ता बुझेपछि उनी उत्साहित देखिन्थे । उनको हातमा एकैपटक ४८ हजार रुपैयाँ हात परेको थियो ।

उनले भत्ता बुझेपछि चामल, तरकारी र कपडा किन्नमा खर्चिने भने । ‘सरकारले भत्ता दियाको छ, हाम्रा जनतालाई अब केही राहत हुन्या भयाको छ । चामल, मासु, तरकारी र कपडा किन्न भत्ताको पैसा खर्च गर्छौं,’ शाहीले उत्साहित हुँदै भने । उनले केही पैसा मदिरामा खर्च हुनेसमेत बताए ।

राउेट समुदायमा ठकुरीका तीन वंश स्ववंशी, कल्याल र रास्कोटीको बसोबास छ । यिनै तीन वंशले एक आपसमा बिहेबारी गर्छन् भने तीनै वंशबाट एक÷एक जना गरी तीन जना राउटे मुखिया हुन्छन् । तीन मुखियामध्येका एक थिए– शेरबहादुर शाही । उनीहरूकै आदेश र निर्णय मुताविक राउटे समुदाय चल्छ ।

पछिल्लो समय राउटेहरूलाई दिइने नगदका कारण कमसल खाले मदिराको लत बसेकाले स्वास्थ्यमा गम्भीर असर पर्दै गएको भन्दै नगद दिन बन्द गर्नुपर्ने चौतर्फी उठेको आवाज यो समुदायका सबैले थाहा पाइसकेका छन् । त्यसैले उनीहरू मदिरा सेवन गरेकै अवस्थामा भेटिए पनि हामी खाँदैनौँ भन्ने जवाफ दिने गरेका छन् ।

शाहीले पनि आफ्नो समुदायका मानिसहरूले घरमा अन्नबाट बनाएको मदिरा मात्रै पिउने गरेको बनावटी जवाफ दिने गरेका छन्, जसका कारण मानव विकासका क्रममा ढुंगेयुगमै छुटेको राउटे समुदाय तीव्र रूपमा विनाशतर्फ उन्मुख भइरहेको छ ।

 

प्रकाशित मिति : २०८३ वैशाख ११ गते शुक्रबार