२०८३ वैशाख १६ , बुधबार

छैठौँ रारा ट्रेल रन वैशाख ३० गतेदेखि हुदै



मुगु  ।  कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा ‘छैठौँ रारा ट्रेल रन’ प्रतियोगिता वैशाख ३० गतेदेखि आयोजना हुने भएको छ । खेलकुदमार्फत प्रदेश तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने र रारा क्षेत्रको पर्यटन प्रवर्द्धन तथा प्रचार–प्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । नेपाली सेना हनुमानध्वज गुल्म रारा हुटुको सहजीकरणमा आयोजना हुने उक्त प्रतियोगितामा पिएलओ, एलिभेट इनर्जी, छायाँनाथ रारा नगरपालिका, मुगुम कार्मारोङ गाउँपालिका र कार्की एग्रोफार्मको आर्थिक सहयोग रहने छ ।

गुल्मपति खड्कबहादुर श्रेष्ठका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले वैशाख १० गतेदेखि ३० गतेको बिहानसम्म नाम दर्ता गरिसक्नुपर्नेछ । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । १६ किलोमिटर दूरीको ट्रेल रन रारा ताल वरिपरि आयोजना गरिनेछ । रारा क्षेत्रको प्राकृतिक सौन्दर्यसँगै खेल पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख १६ गते बुधबार