सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न ४६औँ राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आर्मीले १७ स्वर्ण, १२ रजत र ७ कास्यसहित कुल ३६ पदक हात पार्दै पहिलो स्थान हासिल गरेको हो ।

प्रतियोगितामा नेपाल पुलिस क्लब ८ स्वर्ण, ७ रजत र ३ कास्यसहित कुल १८ पदक जितेर दोस्रो स्थानमा रह्यो भने बागमती प्रदेश २ स्वर्ण, १ रजत र १ कास्यसहित तेस्रो स्थानमा सीमित भयो ।
प्रतियोगिताका क्रममा चार नयाँ राष्ट्रिय कीर्तिमानसमेत कायम भएका छन्। नेपाल पुलिस क्लबकी जयरानी थारु ले महिला ४०० मिटर दौड ५७.१९ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय रेकर्ड बनाइन् । उनले नवौँ राष्ट्रिय खेलकुदमा एपीएफकी रमिता थारुले बनाएको ५८.१० सेकेन्डको पुरानो कीर्तिमान तोडेकी हुन् ।
जयरानीले ट्रिपल जम्पमा पनि उत्कृष्ट प्रदर्शन गर्दै १२ मिटर ४९ सेन्टिमिटर दूरी पार गरिन् । यसअघि नेपाल पुलिस क्लबकै केसरी चौधरीको नाममा रहेको १२ मिटर २० सेन्टिमिटरको राष्ट्रिय कीर्तिमान यससँगै भंग भएको छ ।
त्यसैगरी महिला १६ सय मिटर रिले दौडमा त्रिभुवन आर्मी क्लबका खेलाडीहरूले पुरानो राष्ट्रिय रेकर्ड सुधार गर्दै नयाँ कीर्तिमान कायम गरे । पुरुष लङ जम्पमा आर्मीका सलिम देवान ले ७ मिटर ५८ सेन्टिमिटर जम्प गर्दै आठौँ राष्ट्रिय खेलकुदमा बनेको ७ मिटर ३२ सेन्टिमिटरको पुरानो रेकर्ड तोडे ।
नेपाल एथलेटिक्स संघको आयोजनामा तथा कर्णाली प्रदेश खेलकुद परिषद्को सहयोगमा सम्पन्न प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा १ सय २० महिला र १ सय २० पुरुष गरी कुल २ सय ४० खेलाडीले पुरुष तथा महिला तर्फका २८ विधामा प्रतिस्पर्धा गरेका थिए ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका टोलीसँगै त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लबले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा प्रत्येक विधाका विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार रुपैयाँ र तेस्रो स्थान प्राप्त खेलाडीले ५ हजार रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् ।







