सुर्खेत । नेपाल एथलेटिक्स संघको आयोजनामा, कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वय तथा कर्णाली प्रदेश एथलेटिक्स संघको सहआयोजनामा ४६ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०८३ आगामी असार ५, ६ र ७ गते सुर्खेतमा सञ्चालन हुने भएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित कर्णाली रङ्गशालामा पहिलोपटक आयोजना हुन लागेको प्रतियोगितामा पुरुष तथा महिला गरी २८ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । सात प्रदेश र तीन विभागीय टोलीसहित १० टोलीका २४० खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका टोलीका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) का खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ५ हजार मिटर, १० हजार मिटर दौड, लङजम्प, ट्रिपलजम्प, सटपुट, डिस्कस थ्रो, जेभलिन थ्रो तथा रिले दौड लगायतका विधामा खेल हुनेछन् ।
नेपाल एथलेटिक्स संघ कर्णाली प्रदेशका अध्यक्ष राजिवविक्रम शाहका अनुसार प्रतियोगितामा २८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । विजेता खेलाडीहरूले पदक, ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिता सञ्चालनका लागि करिब ६० जना प्राविधिक, निर्णायक तथा अफिसियल खटिनेछन् भने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र प्राविधिकसहित करिब ३ सय २० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।
शाहका अनुसार करिब ७० लाख रुपैयाँ लागतमा सञ्चालन हुने प्रतियोगिताले कर्णालीको खेल पूर्वाधार, व्यवस्थापन क्षमता र आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।








