२०८३ वैशाख २८ , सोमबार

विपद् प्रतिकार्यमा सक्रिय वीरेन्द्रनगर



वीरेन्द्रनगर । बाढी, डुबान र अन्य प्राकृतिक विपद्को उच्च जोखिममा रहेको वीरेन्द्रनगर नगरपालिका विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि सक्रिय रूपमा जुटेको छ । नगरपालिकाले तटबन्ध निर्माण, पूर्वसूचना प्रणाली जडान, आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना तथा दक्ष जनशक्ति तयारीमार्फत विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रयास गरिरहेको जनाएको छ । २०७१ सालमा आएको विनाशकारी बाढीले वीरेन्द्रनगरका विभिन्न क्षेत्र प्रभावित बनेका थिए। विशेष गरी वीरेन्द्रनगर पाँच स्थित सरस्वती टोलमा ठूलो क्षति पुगेको थियो । खोर्के खोलाको कटानका कारण स्थानीयवासी विस्थापित भए भने कतिपयको घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो ।

सरस्वती टोलकी रीता खत्रीले बाढीका बेला ज्यान जोगाउन सफल भए पनि घरबार गुमाउनुपरेको बताइन् । पुनःस्थापनाको विकल्प नहुँदा आफूहरू पुनः सोही क्षेत्रमा बस्न बाध्य भएको उनको भनाइ छ । स्थानीयवासीले अहिले खोलाको किनारबाट सुरक्षित दूरी कायम गरी घर निर्माण गरेका छन् । टोल विकास संस्थाका अध्यक्ष ललित बहादुर शाहीका अनुसार नगरपालिकाले मापदण्ड अनुसार खोलाको क्षेत्र खाली राख्न निर्देशन दिएपछि जोखिम केही घटेको छ । उनले सुरक्षित स्थान उपलब्ध गराइए आफूहरू स्थानान्तरण हुन तयार रहेको बताए ।

२०७१ सालको बाढीमा सुर्खेतमा २४ जनाको मृत्यु भएको थियो भने ९१ जना बेपत्ता भएकालाई सरकारले मृत घोषणा गरेको थियो । उक्त विपद्बाट एक हजार ४५ परिवार विस्थापित भएका थिए । त्यसयता पनि वीरेन्द्रनगरमा खोला अतिक्रमण गरी बस्ती विस्तार गर्ने क्रम पूर्ण रूपमा रोकिएको छैन । प्रदेश राजधानी बनेपछि वीरेन्द्रनगरमा जनसंख्या चाप बढ्दै गएको छ ।  राष्ट्रिय जनगणना २०७८ अनुसार नगरपालिकामा ३८ हजार भन्दा बढी घरधुरी रहेका छन् । अन्य जिल्लाबाट बसाइँसराइ गरी आउने क्रम बढेसँगै खोला किनार र जोखिमयुक्त क्षेत्रमा अव्यवस्थित बसोबास विस्तार भइरहेको नगरपालिकाले जनाएको छ ।

वीरेन्द्रनगरका नेवारे खोला, खोर्के खोला, इत्राम खोला र आँपखोली क्षेत्रमा बाढी तथा डुबानको जोखिम उच्च रहेको छ । जोखिम न्यूनीकरणका लागि नगरपालिकाले विभिन्न स्थानमा तटबन्ध निर्माणलाई प्राथमिकता दिएको छ । इत्राम खोलामा गरिएको तटबन्धपछि दुई सयभन्दा बढी घरधुरी प्रत्यक्ष रूपमा सुरक्षित भएको जनाइएको छ । वीरेन्द्रनगर सातकी मनिषा विकले तटबन्ध बनेपछि वर्षायाममा डर कम भएको बताइन् । नगरपालिकाले कर्णाली प्रदेशमै पहिलो पटक चौबीसै घण्टा सञ्चालन हुने आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना गरेको छ ।

केन्द्रका प्रमुख यामलाल गिरीका अनुसार बाढी तथा डुबानको पूर्वसूचना दिन वीरेन्द्रनगर नाै तल्लो पर्सेनी क्षेत्रमा रिमोटबाट सञ्चालन हुने साइरन जडान गरिएको छ । निकास खोलामा पानीको सतह खतराको तह पार गरेपछि स्थानीयले साइरन बजाउने व्यवस्था गरिएको छ । उक्त प्रणालीबाट ६३ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । नगरपालिकाले विपद् प्रतिकार्यका लागि रबरबोट, दमकल, डोजर, लाइफ ज्याकेट, रबर ट्युब, एम्बुलेन्स तथा अग्नि नियन्त्रण सामग्री तयारी अवस्थामा राखेको जनाएको छ । साथै तालिमप्राप्त खोज तथा उद्धारकर्ता, अग्नि नियन्त्रक र स्वयंसेवक टोलीलाई समेत परिचालनको तयारी गरिएको छ ।

नगरप्रमुख मोहनमाया ढकालले विपद् व्यवस्थापनमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सहभागिता र सुरक्षालाई प्राथमिकतामा राखिएको बताइन् । नगरपालिकाले लैङ्गिक समानता तथा सामाजिक समावेशीतामैत्री कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ । नगरपालिकाले ६५ लाख रुपैयाँको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ भने प्रत्येक वडाले समेत विपद् व्यवस्थापनका लागि छुट्टै बजेट विनियोजन गरेका छन् । वरिष्ठ प्रशासकीय अधिकृत प्रकाश पौडेलले खोला अतिक्रमण र साँघुरो निकास नै वर्षेनी दोहोरिने डुबान समस्याको मुख्य कारण भएको बताए ।

सहरी योजना तथा भवन निर्माण मापदण्ड–२०८१ अनुसार खोला तथा नालाको दायाँबायाँ कम्तीमा छ मिटर क्षेत्र खाली राख्नुपर्ने व्यवस्था गरिएको छ । नगरपालिकाले जोखिमयुक्त बस्ती व्यवस्थापन, खोला अतिक्रमण नियन्त्रण, सुरक्षित स्थानान्तरण र पूर्वसूचना प्रणाली सुदृढीकरणलाई आगामी प्राथमिकतामा राखेको जनाएको छ । स्थानीय तहका यी प्रयासले वीरेन्द्रनगरलाई दीर्घकालीन रूपमा सुरक्षित, व्यवस्थित र विपद् सहनशील सहरका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख २४ गते बिहीबार