२०८३ वैशाख ३१ , बिहीबार
सम्पादकीय

कामको गति र परिणाम देउ



राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनालाई दुई वर्षभित्र सम्पन्न गर्ने सरकारको नयाँ घोषणा कर्णालीका लागि आशाको सन्देश हो । दशकौँदेखि प्रतिक्षामा रहेको यो आयोजना केवल सिँचाइ वा विद्युत उत्पादनसँग मात्र सम्बन्धित छैन, यो कर्णालीको कृषि, अर्थतन्त्र र समग्र विकाससँग जोडिएको महत्त्वपूर्ण पूर्वाधार हो । सरकारले अब आयोजनालाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

तर विगतका अनुभवले देखाउँछ,घोषणा गर्नु सजिलो भए पनि कार्यान्वयन नै सबैभन्दा ठूलो चुनौती हो । भेरी–बबई आयोजना सुरु भएको एक दशकभन्दा बढी भइसक्यो । प्रारम्भिक लागत दोब्बरभन्दा बढी पुगेको छ भने समयसीमा पटक–पटक थपिएको छ । अहिले पनि आयोजनाको भौतिक प्रगति करिब ६५ प्रतिशतमा सीमित छ । यद्यपि सुरुङ निर्माणजस्तो जटिल काम सम्पन्न हुनु सकारात्मक उपलब्धि हो । बाँकी संरचना, उपकरण जडान, प्रसारण लाइन तथा वातावरणीय व्यवस्थापनका काम समयमै पूरा गर्न सकिए मात्र सरकारले लिएको नयाँ लक्ष्य विश्वसनीय बन्न सक्छ ।

सरकारले अतिरिक्त जनशक्ति परिचालन, बहुसिफ्टमा काम सञ्चालन र स्रोत व्यवस्थापनको तयारी थालेको जनाएको छ । यो स्वागतयोग्य कदम हो । तर निर्माण आयोजनामा देखिने पुराना समस्या,ढिलासुस्ती, समन्वय अभाव, बजेट व्यवस्थापन र प्रशासनिक जटिलता, समाधान नगरी लक्ष्य हासिल गर्न कठिन हुनेछ । आयोजना केवल समय थप्ने अभ्यासमा सीमित हुनुहुँदैन ।

भेरी–बबई सम्पन्न भए कर्णाली, बाँके र बर्दियाका हजारौँ किसान लाभान्वित हुनेछन् । सिँचाइ विस्तारसँगै कृषि उत्पादन वृद्धि हुनेछ भने विद्युत उत्पादनले ऊर्जा क्षेत्रमा पनि योगदान पु¥याउनेछ । त्यसैले अब सरकारको परीक्षा नयाँ घोषणा होइन, कामको गति र परिणाममा हुनेछ ।

प्रकाशित मिति : २०८३ वैशाख ३१ गते बिहीबार