सुर्खेत । कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनमा क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले घटनाको छानबिन गर्न समिति गठन गरेका छन् । साथै, क्षतिग्रस्त टावर तत्काल मर्मत गरी विद्युत् आपूर्ति नियमित गर्न निर्देशन दिइएको छ । केही दिनअघि आएको हावाहुरीका क्रममा बाँके राष्ट्रिय निकुञ्जको चिसापानी क्षेत्रमा ठूलो रुख ढल्दा प्रसारण लाइनका दुई वटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । उक्त घटनापछि कर्णाली प्रदेशका अधिकांश जिल्लामा विद्युत् सेवा प्रभावित बनेको छ ।

ऊर्जा मन्त्रालयका अनुसार नेपाल विद्युत् प्राधिकरणका ग्रिड अपरेसन प्रमुख रमणराज शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिले टावर क्षतिग्रस्त हुनुको कारण, निर्माणको गुणस्तर तथा प्राविधिक पक्षबारे अध्ययन गर्ने जनाएको छ ।
क्षतिग्रस्त टावर निर्माणको जिम्मा आरएस इन्फ्रा कम्पनीले लिएको थियो । सामान्य हावाहुरीमै टावरमा ठूलो क्षति पुगेपछि निर्माण गुणस्तरबारे समेत प्रश्न उठेको छ । आयोजना प्रमुख रविकुमार चौधरीका अनुसार ढलेको रुखले दुई वटा टावरमा गम्भीर क्षति पु¥याएको थियो । “क्षति ठूलो भएकाले फाउन्डेसनदेखि नै पुनर्निर्माण गर्नुपर्ने अवस्था छ,” चौधरीले भने, “पूर्ण मर्मत कार्य सम्पन्न गर्न करिब डेढदेखि दुई महिना लाग्न सक्छ ।
मुख्य १३२ केभी प्रसारण लाइन अवरुद्ध भएपछि हाल वैकल्पिक रूपमा कोहलपुर–सुर्खेत ३३ केभी लाइनमार्फत विद्युत् आपूर्ति भइरहेको छ । साथै, कैलालीबाट ल्याइएको ३३ केभी प्रसारण लाइनमार्फत पनि सेवा सुचारु गरिएको प्राधिकरणले जनाएको छ ।
रुख कटान, जग्गा भोगाधिकार तथा अन्य कानुनी प्रक्रियाका कारण लामो समय ढिलाइ भएर निर्माण सम्पन्न भएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन करिब तीन महिनाअघि मात्रै सञ्चालनमा आएको थियो । तर सञ्चालनको छोटो समयमै टावर ढल्दा आयोजनाको दीर्घकालीन सुरक्षा र निर्माण मापदण्डबारे प्रश्न उठेको छ ।








