२०८३ वैशाख ३१ , बिहीबार
फ्रन्ट पेज

कर्णालीको एसइई नतिजा,रुकुम पश्चिम पहिलो र दैलेख सबैभन्दा कमजोर



समाचार सारांश
Generated by AI. Editorially reviewed.
  • शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशको समग्र उत्तीर्ण प्रतिशत २०८० मा ४१.५३ प्रतिशत रहेकोमा २०८२ मा बढेर ५९.०५ प्रतिशत पुगेको छ । यद्यपि यो राष्ट्रिय औसत ६५.८५ प्रतिशतभन्दा कम रहेको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा यस वर्ष उल्लेखनीय सुधार देखिएको छ । शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशले सार्वजनिक गरेको २०८० देखि २०८२ सम्मको जिल्लागत तथ्यांकअनुसार प्रदेशको समग्र उत्तीर्ण प्रतिशत लगातार बढ्दो क्रममा देखिएको हो ।

निर्देशनालयको तथ्यांकअनुसार कर्णाली प्रदेशको समग्र उत्तीर्ण प्रतिशत २०८० मा ४१.५३ प्रतिशत रहेकोमा २०८१ मा बढेर ५६.७८ प्रतिशत पुगेको थियो । चालु वर्ष २०८२ मा यो दर थप सुधार हुँदै ५९.०५ प्रतिशत पुगेको छ । यद्यपि यो राष्ट्रिय औसतभन्दा अझै कम रहेको देखिन्छ । राष्ट्रिय स्तरमा २०८२ को एसइई उत्तीर्ण प्रतिशत ६५.८५ रहेको छ ।

जिल्लागत तथ्यांकअनुसार यस वर्ष रुकुम पश्चिम कर्णालीकै उत्कृष्ट जिल्लाका रूपमा देखिएको छ । रुकुम पश्चिमको उत्तीर्ण प्रतिशत ७९.३४ पुगेको छ । अघिल्लो वर्ष ७४.९४ प्रतिशत रहेको जिल्लाले यस वर्ष थप सुधार गर्दै प्रदेशमै पहिलो स्थान हासिल गरेको हो ।

दोस्रो स्थानमा मुगु रहेको छ । मुगुको उत्तीर्ण प्रतिशत ७५.९० पुगेको छ । त्यस्तै कालिकोटमा ७३.१३ प्रतिशत, सल्यानमा ६८.५२ प्रतिशत र जुम्लामा ६८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यी जिल्लाले राष्ट्रिय औसत नजिक पुग्ने गरी सुधार गरेका छन् ।

सुर्खेतको उत्तीर्ण प्रतिशत ५८.१९ रहेको छ । प्रदेश राजधानी रहेको सुर्खेतले अघिल्लो वर्षको तुलनामा सुधार गरे पनि अझै अपेक्षाअनुसार नतिजा ल्याउन सकेको छैन । डोल्पामा ५६.६९ प्रतिशत, हुम्लामा ४९.३७ प्रतिशत र जाजरकोटमा ४५.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

यस वर्ष सबैभन्दा कमजोर नतिजा दैलेखको देखिएको छ । दैलेखमा केवल ३१.८२ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । गत वर्ष दैलेखको उत्तीर्ण प्रतिशत २२.८९ रहेको थियो । केही सुधार भए पनि प्रदेशकै न्यून नतिजा दैलेखको रहेको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार केही जिल्लामा उल्लेखनीय प्रगति देखिए पनि कर्णालीका अधिकांश जिल्लामा अझै शैक्षिक चुनौती कायम रहेको देखिन्छ । विशेषगरी हिमाली तथा दुर्गम जिल्लामा शिक्षक अभाव, शैक्षिक पूर्वाधारको कमी, समयमै पाठ्यपुस्तक नपुग्ने समस्या तथा नियमित पठनपाठनमा हुने अवरोधले नतिजामा असर पर्ने गरेका छ ।

यद्यपि पछिल्ला वर्षहरूमा स्थानीय तह, विद्यालय र शिक्षा निकायले शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेपछि नतिजामा क्रमिक सुधार देखिन थालेको हो । विद्यालयमा नियमित अनुगमन, अतिरिक्त कक्षा सञ्चालन, शिक्षक व्यवस्थापन तथा विद्यार्थीको सिकाइ उपलब्धिमा केन्द्रित कार्यक्रमले सकारात्मक प्रभाव परेको शिक्षा शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ३१ गते बिहीबार