सुर्खेत । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१/०८२ ले कर्णाली प्रदेशमा बालमृत्युदर अझै उच्च रहेको देखाएको छ । संघीयता कार्यान्वयनपछि स्वास्थ्य संरचना विस्तार भए पनि नवजात, शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा अपेक्षित सुधार हुन नसकेको तथ्यांकले देखाएको हो ।
सर्वेक्षणअनुसार नेपालभर प्रति एक हजार जीवित जन्ममा १७ नवजात शिशु, २७ शिशु तथा ३१ जना पाँच वर्षमुनिका बालबालिकाको मृत्यु हुने गरेको छ । तर कर्णालीमा यो दर राष्ट्रिय औसतभन्दा माथि छ । प्रदेशमा प्रति एक हजार जीवित जन्ममा २२ नवजात शिशुको मृत्यु हुने गरेको छ, भने शिशु मृत्युदर २९ र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३८ रहेको छ ।

तथ्यांकले कर्णालीमा मातृ तथा शिशु स्वास्थ्य सेवामा अझै सुधारको आवश्यकता देखाएको छ । दुर्गम बस्ती, स्वास्थ्य संस्थासम्म सहज पहुँचको अभाव, विशेषज्ञ चिकित्सकको कमी, गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षणमा कमी तथा कुपोषणजस्ता कारणले बालमृत्युदर उच्च रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञहरूका अनुसार कर्णालीका धेरै जिल्लामा समयमै उपचार नपाउँदा नवजात शिशुको ज्यान जाने समस्या अझै कायम छ ।
विशेषगरी जाजरकोट, मुगु, हुम्ला, डोल्पा र कालिकोटजस्ता दुर्गम जिल्लामा प्रसूति सेवा तथा नवजात सघन उपचार सेवा प्रभावकारी रूपमा विस्तार हुन नसक्दा जोखिम बढिरहेको छ । सर्वेक्षणले प्रदेशगत रूपमा सबैभन्दा खराब अवस्था सुदूरपश्चिम प्रदेशको रहेको देखाएको छ । त्यहाँ प्रति एक हजार जीवित जन्ममा २६ नवजात शिशु, ३८ शिशु तथा ४८ पाँच वर्षमुनिका बालबालिकाको मृत्यु हुने गरेको छ ।
यस्तै सबैभन्दा कम नवजात र शिशु मृत्युदर बागमती प्रदेशमा रहेको छ, जहाँ नवजात मृत्युदर १० र शिशु मृत्युदर १७ छ । पाँच वर्षमुनिको बालमृत्युदर भने सबैभन्दा कम गण्डकी प्रदेशमा २० रहेको प्रतिवेदनमा उल्लेख छ ।
स्वास्थ्य अधिकारकर्मीहरूले कर्णालीमा बजेट वृद्धि मात्र नभई सेवा प्रभावकारितामा जोड दिनुपर्ने बताएका छन् । स्थानीय तहसम्म दक्ष स्वास्थ्य जनशक्ति, पोषण कार्यक्रम, सुरक्षित प्रसूति सेवा र आकस्मिक उद्धार प्रणाली प्रभावकारी नबनाइए बालमृत्युदर घटाउन कठिन हुने उनीहरूको भनाइ छ ।
सार्वजनिक तथ्यांकअनुसार महिला तथा बालबालिकासँग सम्बन्धित सामाजिक, स्वास्थ्य, शिक्षालगायतका सूचकहरू मिश्रित रहेको देखाएको छ । उक्त तथ्यांकमा आधारित नीति, योजना तर्जुमा तथा कार्यक्रमका लागि सार्वजनिक गरेको प्रदेशस्तरीय नेपाल बहुसूचक सर्वेक्षण नतिजाअनुसार कर्णालीमा बालमृत्यु, किशोरी प्रजनन्, बालविवाह, बालश्रम र कुपोषणजस्ता सूचक राष्ट्रिय औसतभन्दा उच्च छन् । भने जन्मदर्ता, पूर्वप्रसूति जाँच तथा संस्थागत प्रसूतिजस्ता क्षेत्रमा सुधार देखिएको छ ।
नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीयस्तरको अनुगमन मूल्यांकन, योजना तर्जुमा एवं स्तरीय तथा तुलनायोग्य सूचनाहरू उपलब्ध गराउने उद्देश्यले बहुसूचक चौथो सर्वेक्षण गरिएको थियो । यो सर्वेक्षणले संघ तथा प्रदेश सरकारका योजना तर्जुमा, नीति निर्माण तथा विकास कार्यक्रमको अनुगमनका लागि आवश्यक पर्ने तथ्यांकहरूको अपर्याप्ततालाई न्यून पार्नुका साथै अन्तर्राष्ट्रिय घोषणा, दिगो विकास लक्ष्यका सूचकको अनुगमन तथा बहुआयामिक गरिबी मापन गर्न ठोस योगदान पुग्ने विश्वास गरिएको छ ।
सर्वेक्षणमा शिक्षा, मातृ तथा नवजात शिशु स्वास्थ्य, खानेपानी तथा सरसफाइ, सुरक्षा र विभेद, मानसिक स्वास्थ्यलगायत अन्य सामाजिक क्षेत्रका विविध विषयसँग सम्बन्धित तथ्यांक संकलन गरिएको राष्ट्रिय तथ्यांक कार्यालय सुर्खेतका प्रमुख विनोद आचार्यले बताए ।
उनका अनुसार सर्वेक्षणमा तथ्यांक संकलन गर्न नेपालभर पाँच सय ४० क्लस्टर (गणना क्षेत्र) मध्ये शहरी क्षेत्रबाट तीन सय चार र ग्रामीण क्षेत्रबाट दुई सय ३६ क्लस्टर छनोट गरिएको थियो । यसरी छनोट भएका हरेक क्लस्टरबाट गणना गर्न २४ घरपरिवार छनोट भएका थिए । यसरी छनोट गरिएका जम्मा १२ हजार नौ सय ६० घरपरिवारबाट पारिवारिक विवरण संकलन गरिएको आचार्यले बताए ।
जसमा प्रत्येक घरपरिवारमा भएका १५–४९ वर्ष उमेर समूहका महिला, १५–४९ वर्ष उमेर समूहका पुरुष, ५–१७ वर्ष उमेर समूहका बालबालिका तथा पाँच वर्षमुनिका बालबालिकाको विवरण संकलन गरिएको थियो ।
साथै बाल पोषणको स्थिति अवगत गर्न तौल तथा उचाइ पनि मापन गरिएको छ । पहिलोपटक १५–२४ वर्ष उमेर समूहका किशोरकिशोरीको मानसिक स्वास्थ्यसम्बन्धी विवरणसमेत संकलन गरिएको उनले बताए । साथै छनोटमा परेका घरपरिवारहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने पिउने पानीमा रहेका हानिकारक जीवाणु ई–कोली तथा आर्सेनिकको स्थलगत परीक्षणसमेत गरिएको थियो ।
कुपोषणको समस्या गम्भीर
कर्णालीमा उमेरअनुसार तौल कम भएका बालबालिका (लिखुरे) २० प्रतिशत तथा उमेरअनुसार उचाइ कम भएका बालबालिका (पुड्को) ३६.६ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय रूपमा यस्तो दर क्रमशः १६.९ र २६.२ प्रतिशत छ ।
उचाइअनुसार तौल कम भएका बालबालिका (ख्याउटे) कर्णालीमा ५.३ प्रतिशत तथा उचाइअनुसार तौल बढी भएका बालबालिका ३.९ प्रतिशत छन् । सर्वेक्षणअनुसार कर्णालीमा ७१.६ प्रतिशत आमाले शिशुलाई जन्मेको ६ महिनासम्म केवल आमाको दूध खुवाउने गरेका छन् । जीवनको पहिलो वर्षभित्र आधारभूत खोप प्राप्त गर्ने १२–२३ महिना उमेर समूहका बालबालिकाको प्रतिशत कर्णालीमा ८१.६ छ, जबकि राष्ट्रिय दर ८९.४ प्रतिशत रहेको तथ्यांकले देखाउँछ ।
यस्तै सर्वेक्षणअघिका दुई हप्तामा कर्णालीका ११.१ प्रतिशत बालबालिकालाई झाडापखाला लागेको देखिएको छ । तीमध्ये २८.२ प्रतिशतले पुनर्जलीय झोलसँगै जिंक चक्की पाएका छन् । श्वासप्रश्वासका लक्षण भएका पाँच वर्षमुनिका बालबालिकाको प्रतिशत कर्णालीमा ४.४ छ, जबकि राष्ट्रियस्तरमा यो दर २.७ प्रतिशत छ ।
त्यस्तै ३६–५९ महिनाका ४८.८ प्रतिशत बालबालिका प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी हुने गरेका छन् । प्रारम्भिक बाल विकास सूचकांक कर्णालीमा ५०.९ प्रतिशत छ भने राष्ट्रियस्तरमा ६३.३ प्रतिशत रहेको तथ्यांकले देखाउँछ । विद्यालय बाहिर रहेका बालबालिकाको प्रतिशत भने कर्णालीमा राष्ट्रिय दरभन्दा कम देखिएको छ ।
कक्षा १–५ मा ३.७ प्रतिशत, कक्षा ६–८ मा ३ प्रतिशत तथा कक्षा ९–१२ मा १०.५ प्रतिशत बालबालिका विद्यालय बाहिर छन् । कक्षा १ मा भर्ना हुने उमेरका बालबालिकामध्ये कर्णालीमा ५२.५ प्रतिशत विद्यालय भर्ना भएका छन्, जुन राष्ट्रिय दर ४१.२ प्रतिशतभन्दा बढी हो ।
सर्वेक्षणअघिको दुई हप्तामा डिप्रेसन वा चिन्ताका लक्षण अनुभव गर्ने १५–२४ वर्ष उमेर समूहका किशोरकिशोरी कर्णालीमा ११.५ प्रतिशत छन् । राष्ट्रियस्तरमा यस्तो दर ९.३ प्रतिशत छ । आत्महत्याको सोच आउने किशोरकिशोरीको प्रतिशत कर्णालीमा १.१ तथा आत्महत्याको प्रयास गर्नेको प्रतिशत १.८ छ ।
कर्णालीमा १५–४९ वर्ष उमेर समूहका १३.१ प्रतिशत महिला र १६.४ प्रतिशत पुरुष स्वास्थ्य बीमामा आबद्ध छन् । ५–१७ वर्ष उमेर समूहका १२.६ प्रतिशत तथा पाँच वर्षमुनिका ८.५ प्रतिशत बालबालिका स्वास्थ्य बीमामा आबद्ध रहेको सर्वेक्षणले देखाएको छ ।
किशोरी प्रजनन् र बालविवाह चुनौती
नेपालमा १५–४९ वर्ष उमेर समूहका महिलाको कुल प्रजनन्दर प्रतिमहिला औसत १.९ जीवित जन्म छ भने कर्णालीमा यो दर २.३ छ । १५–१९ वर्ष उमेर समूहका किशोरीको प्रजनन्दर राष्ट्रिय रूपमा प्रति एक हजार किशोरीमा ४८ जीवित जन्म रहँदा कर्णालीमा यो दर ७७ पुगेको छ ।
त्यस्तै २०–२४ वर्ष उमेर समूहका महिलामध्ये ११.२ प्रतिशतले १८ वर्षअघि नै बच्चा जन्माइसकेको देखिएको छ भने कर्णालीमा यस्तो प्रतिशत १८.८ छ । २०–२४ वर्ष उमेर समूहका महिलामध्ये १५ वर्ष उमेरअघि विवाह गर्नेको प्रतिशत राष्ट्रिय रूपमा ५.१ रहेको छ भने कर्णालीमा ९.९ प्रतिशत छ, जुन सबै प्रदेशहरूको भन्दा उच्च हो ।
त्यस्तै १८ वर्षअघि विवाह गर्ने महिलाको प्रतिशत राष्ट्रिय रूपमा २७.६ रहेकोमा कर्णालीमा ४१ प्रतिशत पुगेको छ । यो पनि सबैभन्दा उच्च दर हो । यस्तै कर्णालीमा १५–४९ वर्ष उमेर समूहका ३८.९ प्रतिशत विवाहित महिलाले परिवार नियोजनका कुनै न कुनै उपाय प्रयोग गर्ने गरेका छन् । आधुनिक परिवार नियोजनबाट आवश्यकता पूरा गर्ने दर ५८.७ प्रतिशत छ । पूर्वप्रसूति जाँच गराउने महिलाको प्रतिशत कर्णालीमा राष्ट्रिय औसतभन्दा बढी छ ।
सर्वेक्षणअनुसार जीवित शिशु जन्माएका १५–४९ वर्ष उमेर समूहका ९१.९ प्रतिशत महिलाले कम्तीमा चारपटक पूर्वप्रसूति जाँच गराएका छन् । त्यस्तै, कर्णालीमा ९१.३ प्रतिशत महिलाले स्वास्थ्य संस्थामा प्रसूति गराएका छन्, भने ९४ प्रतिशतले दक्ष प्रसूतिकर्मीको सहयोग लिएका छन् ।
सिजेरियन शल्यक्रियामार्फत प्रसूति गराउने दर भने ९.२ प्रतिशत छ, जुन राष्ट्रिय दर २४.४ प्रतिशतभन्दा निकै कम हो । यस्तै पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ता दर कर्णालीमा ९५.८ प्रतिशत छ, जुन देशकै सबैभन्दा उच्च हो ।
राष्ट्रियस्तरमा यस्तो दर ८५.४ प्रतिशत छ । तर बालश्रममा संलग्न ५–१७ वर्ष उमेर समूहका बालबालिकाको प्रतिशत कर्णालीमा २४.१ छ, जबकि राष्ट्रियस्तरमा यो दर १२.१ प्रतिशत मात्रै छ ।








