दैलेख र कालिकोटका स्थानीय तहका जनप्रतिनिधिहरू महावु लेकमा भेला भएर साझा विकासका मुद्दामा केन्द्रित “विकास बहस” आयोजना गर्नु कर्णालीका लागि सकारात्मक र आशालाग्दो पहल हो । विकासका सवालमा स्थानीय तहहरू राजनीतिक सीमाभन्दा माथि उठेर एउटै मञ्चमा उभिनु अहिलेको आवश्यकता पनि हो । कर्णालीजस्तो भौगोलिक रूपमा विकट, पूर्वाधारमा कमजोर र राज्यको प्राथमिकताबाट लामो समयसम्म पछाडि परेको प्रदेशमा यस्ता साझा पहलहरूले विकासको नयाँ सम्भावना देखाएका छन् ।

महावु लेक प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक महत्वले भरिएको क्षेत्र हो । दैलेखको महावु गाउँपालिका र कालिकोटको महावै गाउँपालिकाको सीमामा रहेको यो क्षेत्र केवल स्थानीय धार्मिक आस्थाको केन्द्र मात्र होइन, कर्णालीकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना बोकेको क्षेत्र पनि हो । तर पर्याप्त सडक, पूर्वाधार, प्रचार–प्रसार र लगानी अभावका कारण महावु क्षेत्र अझै ओझेलमै छ । यही सन्दर्भमा स्थानीय तहका जनप्रतिनिधिहरूले पर्यटन, सडक, सुरक्षा, आर्थिक सम्भावना र अन्तरजिल्ला समन्वयका विषयमा साझा धारणा बनाउनु महत्वपूर्ण उपलब्धि मान्नुपर्छ ।
विशेषगरी महावु लेक–नाग्म सडक निर्माण र स्तरोन्नतिको मुद्दा अत्यन्त महत्वपूर्ण छ । कर्णालीका धेरै बस्ती आज पनि सडक पहुँचबाट पूर्ण रूपमा जोडिन सकेका छैनन् । सडक नहुँदा स्थानीय उत्पादन बजारसम्म पुग्दैन, पर्यटन विस्तार हुन सक्दैन र नागरिकले आधारभूत सेवा लिन समेत कठिनाइ भोग्नुपर्छ । यदि महावु–नाग्म सडक समयमै निर्माण हुन सके यसले दैलेख, कालिकोट र मुगु क्षेत्रको आर्थिक गतिविधिमा नयाँ गति ल्याउन सक्छ । पर्यटन, कृषि, व्यापार र स्थानीय रोजगारीका अवसर पनि विस्तार हुनेछन् । महावै धामको विकास गर्ने प्रतिबद्धता पनि सकारात्मक पक्ष हो ।
कर्णालीमा धार्मिक पर्यटनको ठूलो सम्भावना हुँदाहुँदै पनि आवश्यक पूर्वाधार अभावमा धेरै धार्मिक स्थल ओझेलमा छन् । महावै धामलाई व्यवस्थित धार्मिक गन्तव्यका रूपमा विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ । यसका लागि केवल घोषणा होइन, विस्तृत योजना, लगानी र दीर्घकालीन रणनीति आवश्यक हुन्छ । महावु लेकको यो बहसले एउटा महत्वपूर्ण सन्देश दिएको छ । कर्णालीको विकास एक्लाएक्लै सम्भव छैन । राजनीतिक, भौगोलिक र प्रशासनिक सीमाभन्दा माथि उठेर सहकार्य गर्न सके मात्रै कर्णालीले समृद्धिको बाटो समाउन सक्छ । अब विकासका सवालमा प्रतिस्पर्धा होइन, सहकार्यको संस्कृति निर्माण गर्नु समयको आवश्यकता हो ।








