सुर्खेत । कर्णाली प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास निर्देशनालयमार्फत निर्माण भइरहेको बड्डीचौर–खम्बागाडे सडक आयोजनाको काम अपेक्षाअनुसार अघि बढ्न नसकेको लामो समय भइसकेको छ । आर्थिक वर्ष २०७९ मा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता गरिएको यो आयोजना हालसम्म करिब ४० प्रतिशत भौतिक र ३२ दशमलव ५ प्रतिशत वित्तीय प्रगतिमा सीमित रहेको छ ।

निर्देशनालय कार्यालय प्रमुख सूर्यबहादुर शाहीका अनुसार सुरुवाती चरणदेखि नै विभिन्न प्रशासनिक तथा प्राविधिक जटिलताले आयोजना प्रभावित भएको हो । विशेषगरी रुख कटान, भोगाधिकार स्वीकृति, विद्युत् लाइन व्यवस्थापन तथा संघीय तहबाट हुने निर्णय प्रक्रियामा ढिलाइ हुँदा निर्माणले गति लिन नसकेको उनले बताए । उनका अनुसार निर्माण कम्पनीलाई एकपटक म्याद थप गरिसकिएको छ भने अब पुनः म्याद थप गर्ने तयारी भइरहेको छ ।
गत भदौ महिनामा मात्रै रुख कटानसम्बन्धी सहमति प्राप्त भएपछि निर्माणले पूर्ण रूपमा गति लिएको हो, शाहीले भने, त्यसअघि कानुनी र प्रशासनिक अवरोधका कारण काम प्रभावकारी रूपमा अघि बढ्न सकेन ।
सडक निर्माण क्षेत्रमा रहेका विद्युत् पोल तथा केबल स्टे पनि अर्को चुनौती बनेको थियो । १३ किलोमिटर सडक खण्डमा तीन स्थानमा रहेका केबल स्टे अझै पूर्ण रूपमा सार्न बाँकी रहे पनि अधिकांश विद्युत् अवरोध हटिसकेको निर्देशनालयले जनाएको छ ।
निर्माण व्यवसायी अनक–जयदेवी जेभीका प्रतिनिधि शंकर रावतले भने पछिल्लो समय निर्माण सामग्रीको मूल्यवृद्धि, इन्धन अभाव, ढुवानी समस्या तथा जनशक्ति अभावका कारण काम प्रभावित भएको बताए । उनका अनुसार बजारमा डिजेल, ढुवानी र निर्माण सामग्रीको मूल्य अत्यधिक बढेकाले काम योजनाअनुसार अघि बढाउन कठिन भएको हो ।
हामीले सुरुमा छ किलोमिटरसम्म कालोपत्रे गर्ने तयारी गरेका थियौँ, रावतले भने, तर महँगी, इन्धन अभाव र सामग्री आपूर्तिको समस्याले अहिले प्राथमिकता सडकलाई सञ्चालनयोग्य बनाउनेतर्फ केन्द्रित गरेका छौँ ।
उनले खोलाबाट ग्राभेल ल्याउन खोज्दा स्थानीय अवरोधसमेत सामना गर्नुपरेको बताए । दैनिक आवश्यक करिब दुई हजार लिटर डिजेल आवश्यक भए पनि करिब ६ सय लिटर मात्रै उपलब्ध हुँदा भारी उपकरण पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । रावतले ढिलोमा आगामी वैशाख–जेठसम्म आयोजना सम्पन्न गर्ने दाबी गरे ।
हालसम्म खम्बागाडेतर्फ करिब दुई किलोमिटर सडक ग्राभेल स्तरमा सम्पन्न भएको छ भने बड्डीचौरतर्फ चार किलोमिटर क्षेत्रमा नाला तथा ग्राभेलको काम सकिएको छ । बाँकी सात किलोमिटर क्षेत्रमा भने ठाउँ–ठाउँमा आंशिक नाला तथा ग्राभेलको काम मात्रै भएको अवस्था छ ।
निर्देशनालयले निर्माण व्यवसायीले पेश गरेको कार्यतालिकाअनुसार काम गर्न नसकेको स्वीकार गरेको छ । आयोजना प्रमुख शाहीका अनुसार निर्माण कम्पनीलाई पटक–पटक निर्देशन दिइएको छ भने नियमित रूपमा फिल्ड अनुगमनसमेत भइरहेको छ ।
अब मनसुन सुरु हुन लागेकाले कम्तीमा ग्राभेल स्तरसम्म सडक तयार गरी सवारी आवागमन सहज बनाउने लक्ष्य राखेका छौँ, उनले भने, निर्माण कम्पनीलाई आवश्यक सबै सहजीकरण गरिएको छ ।
काममा निरन्तर ढिलाइ भएपछि निर्देशनालयले विभिन्न पत्रपत्रिकामार्फत सार्वजनिक सूचना जारी गर्दै निर्माण व्यवसायीलाई सचेतसमेत गराएको थियो । तर त्यसपछि पनि अपेक्षित गतिमा काम अघि बढ्न नसकेको जनाइएको छ ।
यसैबीच आयोजनाको अवस्थाबारे छलफल गर्न पूर्वाधार विकास निर्देशनालयको आयोजनामा विहीबार ब्यूरेनीमा स्थानीय तहका जनप्रतिनिधि, जिल्ला समन्वय समिति, जिल्ला स्थीत विभिन्न मिडियामा कार्यरत पत्रकारहरु, प्रशासन तथा सरोकारवालाको सहभागितामा छलफल सम्पन्न भएको छ ।
छलफलमा सहभागी जनप्रतिनिधिहरूले मनसुनअघि सडकलाई कम्तीमा सञ्चालनयोग्य अवस्थामा पु¥याउन निर्माण कम्पनी र सरकारी निकाय दुवैले थप जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले मनसुन सुरु भएपछि सडक हिलाम्मे र जोखिमपूर्ण बन्ने भएकाले तत्काल प्रभावकारी काम गर्न माग गरेका छन् ।








