२०८३ जेठ १० , आइतबार
सम्पादकीय

आश्वासन मात्रै बाँड्ने प्रवृत्ति अन्त्य गर



कर्णाली प्रदेश सरकारअन्तर्गत निर्माणाधीन बड्डीचौर–खम्बागाडे सडक आयोजना फेरि एकपटक सुस्त प्रगतिका कारण चर्चामा आएको छ । आर्थिक वर्ष २०७९ मा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको यो आयोजना हालसम्म ४० प्रतिशत भौतिक र ३२.५ प्रतिशत वित्तीय प्रगतिमा सीमित हुनु आफैँमा गम्भीर प्रश्न हो । विकास निर्माणलाई तीव्रता दिने भन्दै स्थापना भएको प्रदेश सरकारकै महत्वपूर्ण सडक आयोजना लामो समयसम्म अधुरै रहनु केवल प्राविधिक समस्या होइन, कार्यक्षमता र जिम्मेवारीको परीक्षण पनि हो ।


निर्देशनालयले रुख कटान, भोगाधिकार, विद्युत् लाइन सार्ने प्रक्रिया र संघीय सरकारको ढिलाइलाई मुख्य कारण बताएको छ । निश्चय पनि यस्ता प्रशासनिक जटिलताले आयोजना प्रभावित हुन्छन् । तर यस्ता अवरोध समयमै समाधान गर्न सक्ने क्षमता नै सरकारी संयन्त्रको दक्षताको मापन हो । निर्माण सुरु भएको यति लामो समयपछि पनि फेरि म्याद थपको तयारी हुनु भनेको सुरुदेखिको योजना, समन्वय र कार्यान्वयन कमजोर रहेको स्पष्ट संकेत हो ।

निर्माण कम्पनीले महँगी, इन्धन अभाव, ढुवानी समस्या र जनशक्ति अभावलाई कारण देखाएको छ । पछिल्लो समय निर्माण क्षेत्रमा लागत वृद्धि भएको यथार्थलाई नकार्न सकिँदैन । तर समस्या देखाएर मात्र जिम्मेवारीबाट उम्किन मिल्दैन । ठेक्का लिँदा गरिएका प्रतिबद्धता र प्रस्तुत कार्यतालिकाको सम्मान गर्नु निर्माण व्यवसायीको दायित्व हो । समयमै काम गर्न नसक्दा यसको प्रत्यक्ष असर स्थानीय नागरिकले भोग्नुपरेको छ ।

यो सडक केवल भौतिक पूर्वाधारको आयोजना मात्र होइन, स्थानीय जनजीवनसँग प्रत्यक्ष जोडिएको विकासको आधार हो । सडक स्तरोन्नति नहुँदा वर्षायाममा यातायात अवरुद्ध हुने, व्यापार–व्यवसाय प्रभावित हुने, बिरामी र विद्यार्थीले सास्ती भोग्ने अवस्था वर्षेनी दोहोरिने गरेको छ । मनसुन नजिकिँदै गर्दा पनि सडक अझै पूर्ण रूपमा सञ्चालनयोग्य बन्न नसक्नु चिन्ताजनक विषय हो ।

प्रदेश सरकारले विकासलाई प्राथमिकता दिने दाबी गर्दै आए पनि यस्ता आयोजनाको सुस्त कार्यान्वयनले त्यो दाबी कमजोर बनाइदिएको छ । अनुगमन, समन्वय र जवाफदेहिताको अभावले कर्णालीका धेरै आयोजना समयमै सम्पन्न हुन सकेका छैनन् । सार्वजनिक सूचना निकालेर चेतावनी दिनुभन्दा प्रभावकारी कार्यान्वयन र आवश्यक कारबाहीतर्फ सरकार गम्भीर बन्नुपर्छ ।

अब पनि निर्माण कम्पनी र सरकारी निकायले जिम्मेवारीपूर्वक काम नगर्ने हो भने यो सडक आयोजना फेरि अर्को वर्ष पनि अधुरै रहने खतरा छ । विकासका नाममा वर्षौँसम्म जनतालाई आश्वासन मात्रै बाँड्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । बड्डीचौर–खम्बागाडे सडक समयमै सम्पन्न गर्नु अब सरकार र निर्माण व्यवसायी दुवैको परीक्षा बनेको छ ।

प्रकाशित मिति : २०८३ जेठ १० गते आइतबार