दैलेख । जिल्लाकाे ठाँटीकाँध गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत अनुदान शिक्षकहरूले विगत एक वर्षदेखि तलब नपाएको गुनासो गरेका छन्। लामो समयसम्म पारिश्रमिक नपाउँदा शिक्षकहरू आर्थिक संकटमा परेका छन् भने यसको प्रत्यक्ष असर विद्यालयको पठनपाठन र शैक्षिक व्यवस्थापनमा समेत पर्न थालेको छ । गाउँपालिकाभित्र रहेका विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरू नियमित रूपमा विद्यालयमा उपस्थित भएर अध्यापन गराउँदै आए पनि आफूहरूले लामो समयदेखि तलब नपाएको बताएका छन् ।
शिक्षकहरूका अनुसार विगतमा चार–चार महिनाको अन्तरालमा तलब उपलब्ध गराइने गरिएको भए पनि पछिल्लो समय आठ महिनासम्म ढिलाइ हुने अवस्था आएको थियो । अहिले भने पूरा एक वर्ष बितिसक्दा पनि तलब नपाउँदा उनीहरू गम्भीर समस्यामा परेका छन् । मालिका माध्यमिक विद्यालय का प्रधानाध्यापक धीरबहादुर शाहीले गाउँपालिकाको अनुदानमा कार्यरत शिक्षकहरूले एक वर्षदेखि तलब सुविधा नपाएको जानकारी दिए । उनले शिक्षकहरूले निरन्तर रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै आए पनि सम्बन्धित निकायबाट बेवास्ता भएको गुनासो गरे ।
प्रधानाध्यापक शाहीका अनुसार लामो समयसम्म तलब नपाउँदा शिक्षकहरूको मनोबल घट्दै गएको छ । शिक्षकहरूले नियमित रूपमा विद्यालयमा आएर अध्यापन गरिरहेका छन्, तर उनीहरूको आधारभूत आवश्यकता पूरा हुने अवस्था छैन, उनले भने समयमै माग सम्बोधन नभए शिक्षकहरू थप आन्दोलनमा जान बाध्य हुन सक्छन् । त्यस्तै, दशरथ माध्यमिक विद्यालय मा कार्यरत शिक्षक हिमबहादुर शाहीले तलब नपाउँदा आफ्नो दैनिक जनजीवन नै प्रभावित भएको बताए । उनका अनुसार घरपरिवारको खर्च धान्न, बालबालिकाको पढाइ खर्च व्यवस्थापन गर्न र दैनिक आवश्यकता पूरा गर्न कठिन भइरहेको छ ।
“हामी नियमित रूपमा विद्यालयमा पढाउन आउँछौँ, आफ्नो जिम्मेवारी पनि पूरा गरिरहेका छौँ,” उनले भने , “तर वर्षदिनसम्म तलब नपाउँदा आर्थिक रूपमा निकै समस्या भएको छ । कतिपय शिक्षक ऋण लिएर घरखर्च चलाउन बाध्य भएका छन् ।” शिक्षकहरूले समयमै पारिश्रमिक नपाउँदा विद्यालयको शैक्षिक वातावरणमा पनि नकारात्मक असर पर्न थालेको बताएका छन् । उनीहरूका अनुसार आर्थिक तनावका कारण शिक्षकहरूको कार्यक्षमता र मनोबलमा असर परेको छ, जसले विद्यार्थीको सिकाइ प्रक्रियामा समेत प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ । यता, ठाँटीकाँध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद उपाध्यायले बजेट अभाव तथा प्रशासनिक प्रक्रियाका कारण तलब वितरणमा ढिलाइ भएको स्वीकार गरे ।
उनले अनुदान शिक्षकहरूको तलब निकासाका लागि आवश्यक प्रक्रिया अघि बढाइएको र समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिए । उनका अनुसार गाउँपालिकाले उपलब्ध स्रोत र बजेट व्यवस्थापनको आधारमा समस्या समाधान गर्ने प्रयास गरिरहेको छ । “शिक्षकहरूको समस्या प्रति गाउँपालिका गम्भीर छ,” उनले भने, “तलब निकासाका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ र सकेसम्म चाँडो समाधान गर्ने प्रयास भइरहेको छ ।” गाउँपालिकाभित्र रहेका ३७ वटा सामुदायिक विद्यालयमा कार्यरत करिब ७३ जना अनुदान शिक्षक हाल तलबविहीन बनेका छन् । लामो समयसम्म तलब नपाउँदा शिक्षकहरूमा निराशा बढ्दै गएको छ भने तत्काल समस्या समाधान गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।









