हुम्ला । जिल्लाकाे सिमकोट गाउँपालिका सात डाँडाफया स्थित ओख्रेन सामुदायिक वनमा लागेको भीषण आगलागीका कारण ठूलो वन क्षेत्र जलेर नष्ट भएको छ । अज्ञात समूहले आगो लगाएको आशंका गरिएको उक्त डढेलो गत मङ्गलबार राति करिब आठ बजेदेखि सुरु भएको हो । आगलागी अझै पूर्ण रूपमा नियन्त्रणमा आउन नसक्दा स्थानीय बासिन्दा त्रसित बनेका छन् । ओख्रेन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मन्दिर सिंहका अनुसार आगलागी कसले गराएको हो भन्ने हालसम्म खुल्न सकेको छैन ।
घटनाबारे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय हुम्लालाई जानकारी गराइएको उनले बताए । “वन क्षेत्रमा नियोजित रूपमा आगो लगाइएको देखिन्छ, तर संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन उनले भने । गाउँनजिकै रहेको सामुदायिक वनमा लागेको डढेलोका कारण ओख्रेन गाउँ नै जोखिममा परेको स्थानीयको भनाइ छ । करिब एक सातादेखि लगातार फैलिरहेको आगोले वन क्षेत्रका रुखबिरुवा, जडीबुटी तथा वन्यजन्तुको बासस्थानमा ठूलो क्षति पुर्याएको छ। चराचुरुङ्गी तथा वन्यजन्तु मरेको वा विस्थापित भएको अनुमान गरिएको छ ।
समितिका अनुसार चार सय ५० हेक्टर वन क्षेत्रमध्ये करिब दुई सय ७० हेक्टर क्षेत्र पूर्ण रूपमा जलेर नष्ट भएको छ । बाँकी क्षेत्रमा समेत आगो फैलिने खतरा कायम रहेको छ । डढेलोका कारण वातावरणीय असरसमेत बढ्दै गएको स्थानीयले बताएका छन् । आगलागी नियन्त्रणका लागि सामुदायिक वन उपभोक्ता समितिका २५ जना सदस्यसहित स्थानीय बासिन्दा निरन्तर खटिरहेका छन् । तर दुर्गम भूगोल, सुक्खा मौसम, तीव्र हावाहुरी तथा पानीको अभावका कारण आगो नियन्त्रण गर्न निकै कठिन भइरहेको छ । वन क्षेत्र नजिक पर्याप्त पानीको स्रोत नहुँदा आगो निभाउने प्रयास प्रभावकारी बन्न सकेको छैन ।
स्थानीयवासीका अनुसार डढेलोले वन क्षेत्र मात्र नभई गाउँको सुरक्षामा समेत खतरा उत्पन्न गरेको छ । आगो बस्ती नजिक फैलिन थालेपछि सर्वसाधारण रातभर जाग्राम बस्न बाध्य भएका छन् । स्थानीयले सम्बन्धित निकायबाट तत्काल प्रभावकारी सहयोगको माग गरेका छन् । अध्यक्ष सिंहले स्थानीय सञ्चार माध्यममार्फत वनडढेलो नियन्त्रणमा सहयोग गर्न स्थानीयवासी, सुरक्षाकर्मी तथा सरोकारवाला निकायलाई आग्रह गरेका छन् । उनले समयमै नियन्त्रण गर्न नसकिए थप वन क्षेत्र र बस्तीमा ठूलो क्षति पुग्न सक्ने चेतावनी दिए ।









