सल्यान । वनगाड कुपिण्डे नगरपालिका अन्तर्गत पर्ने सल्लीबजार र देवस्थल बजार क्षेत्रमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएका खाद्य सामग्री, अवैध घरेलु मदिरा तथा विभिन्न औषधिजन्य सामग्री बरामद गरी नष्ट गरिएको छ । उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने सामग्री खुलेआम बिक्री भइरहेको पाइएपछि सम्बन्धित निकायले कडाइका साथ कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । सोमबार वनगाड कुपिण्डे नगरपालिका, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानलगायत निकायको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।
अनुगमनका क्रममा विभिन्न पसल तथा व्यवसायमा म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ, अवैध घरेलु मदिरा, मेडिकल सामग्री र एग्रोभेटजन्य औषधि बिक्री–वितरण भइरहेको फेला परेको थियो । नगरपालिकाका अनुसार बरामद सामग्रीमा नेपाल आइस बियरका ठूला दुई कार्टुन र साना दुई कार्टुन, क्याम्पा कोलाका सात पेटी, डाइमन्डको बोतलमा राखिएको अवैध घरेलु मदिरा १५ थान, चाउचाउ पाँच पेटी, चिप्स १२ पेटी, म्याङ्गो स्लाइस दुई पेटी, खानेतेल एक पेटी, सुजी एक सय प्याकेट, भुजा ४० पोका, चिउरा २५ पोका तथा विभिन्न मसलाजन्य सामग्री रहेका छन् । साथै चकलेट, बिस्कुट, मेडिकल सामग्री, एग्रोभेटजन्य औषधि र विषादीसमेत नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।
अनुगमन टोलीले व्यवसाय दर्ता तथा नवीकरण नगरी सञ्चालन भइरहेका पसलसमेत फेला पारेको छ । त्यस्ता व्यवसायीलाई सात दिनभित्र अनिवार्य रूपमा व्यवसाय दर्ता तथा नवीकरण प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ । तोकिएको समयभित्र कानुनी प्रक्रियामा नआए थप कारबाही गरिने चेतावनीसमेत दिइएको छ । अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने गुणस्तरहीन तथा म्याद नाघेका सामग्री सहज रूपमा बिक्री भइरहेको देखिएपछि स्थानीयवासीले समेत बजार व्यवस्थापनमा कडाइ गर्न माग गरेका छन् । उपभोक्ताले बजारमा नियमित अनुगमन नहुँदा यस्ता सामग्री खुलेआम बिक्री हुने गरेको गुनासो गरेका छन् ।
अनुगमनमा नगर प्रमुख कर्णबहादुर बुढाथोकी, उपप्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीलगायत सहभागी थिए । साथै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यान, उद्योग वाणिज्य संघ सल्यान, सुरक्षाकर्मी, बजार व्यवस्थापन समिति, पालिकाका कर्मचारी तथा सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो । नगरपालिकाले उपभोक्ता हित संरक्षण, गुणस्तरीय वस्तुको सुनिश्चितता तथा बजार व्यवस्थापनलाई व्यवस्थित बनाउन आगामी दिनमा नियमित रूपमा बजार अनुगमनलाई निरन्तरता दिइने जनाएको छ। सल्लीबजारसँगै नगरपालिकाभित्रका अन्य बजार क्षेत्रमा समेत अनुगमन विस्तार गरिने बताइएको छ ।









