२०८३ जेठ १२ , मंगलबार

सानीभेरीमा सेनाको विपद् उद्धार अभ्यास



रुकुम पश्चिम ।  नेपाली सेनाको चण्डी दल गणले रुकुम पश्चिमको सानीभेरी नदीमा सामुदायिक विपद् प्रतिकार्य अभ्यास सम्पन्न गरेको छ। मुसीकोट नगरपालिका एक र बाँफिकोट गाउँपालिका–१० को गाराघाट क्षेत्रमा “अभ्यास मनसुन छ ” अन्तर्गत आयोजित उक्त अभ्यासमा बाढी, डुबान तथा पहिरोजस्ता प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण तथा उद्धार प्रक्रियालाई अभ्यास गरिएको हो । भारी वर्षाको समयमा हुन सक्ने बाढी तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै उद्धार, राहत, समन्वय र फौज परिचालन प्रक्रियालाई प्रभावकारी बनाउन अभ्यास गरिएको नेपाली सेनाले जनाएको छ ।

विपद् व्यवस्थापनका क्रममा सूचना संकलन, योजना तर्जुमा, स्रोतसाधनको व्यवस्थापन तथा सरोकारवाला निकायसँगको समन्वयलाई व्यवहारिक रूपमा प्रदर्शन गरिएको थियो । नेपाली सेनाका उपसेनानी संजोग क्षेत्रीका अनुसार अभ्यासमा बाढी तथा डुबानमा परेका व्यक्तिहरूको उद्धारका लागि विभिन्न आधुनिक तथा व्यावहारिक विधिहरू प्रदर्शन गरिएको हो । अन्डरवाटर रिभर क्रसिङ, रो विधि (इम्प्रोभाइज), थ्रो ब्याक तथा र्‍यापलिङ जस्ता उद्धार प्रविधि प्रयोग गरी आकस्मिक उद्धार कसरी गरिन्छ भन्ने देखाइएको उनले जानकारी दिए ।

“सजक नागरिक, सुरक्षित समाज” भन्ने मूल नारासहित गरिएको उक्त अभ्यासले विपद् पूर्वतयारी, तत्काल प्रतिकार्य, उद्धार तथा राहत वितरण र पुनर्स्थापना प्रक्रियाबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्य लिएको सेनाले जनाएको छ । उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल ४७ नम्बर गुल्म तथा नेपाल रेडक्रस सोसाइटीको समन्वय र सहकार्यमा सम्पन्न भएको हो । विपद् व्यवस्थापनमा सरोकारवाला निकायबीचको समन्वयलाई अझ सुदृढ बनाउने उद्देश्य पनि कार्यक्रमले राखेको जनाइएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी निशान राज गौतम, चण्डी दल गणका गणपति प्रमुख सेनानी बिनिश श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेल, सशस्त्र प्रहरी बलका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिमका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । स्थानीय स्तरमा विपद् जोखिम उच्च रहेका क्षेत्रमा यस्ता अभ्यासले समुदायलाई सचेत बनाउन र आपतकालीन अवस्थामा छिटो प्रतिक्रिया दिन सहयोग पुग्ने सहभागीहरूले बताएका छन् ।

प्रकाशित मिति : २०८३ जेठ १२ गते मंगलबार