२०८३ जेठ १७ , आइतबार
फ्रन्ट पेज

विभेद, हिंसा र बालविवाहविरुद्ध कर्णालीका छोरीहरूको साझा आवाज

७९ वटै स्थानीय तहका छोरीहरूको सहभागिता, लैङ्गिक समानता, शिक्षा, नेतृत्व विकास र आत्मनिर्भरताका मुद्दामा बहस


सुर्खेत । कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहबाट आएका छोरीहरूको सहभागितामा दोस्रो संस्करणको ‘कर्णाली छोरी सम्मेलन–२०८३’ शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । श्री ज्योति फाउन्डेशनको आयोजनामा सुरु भएको सम्मेलनको उद्घाटन कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले गरेका हुन् । बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार र मानव बेचबिखनजस्ता सामाजिक समस्याविरुद्ध सामूहिक आवाज उठाउने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको हो । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा प्रदेशका ७९ वटै स्थानीय तहबाट दुई–दुई जना प्रतिनिधिका रूपमा छोरीहरूको सहभागिता रहेको छ ।

ज्योति फाउन्डेशनकी अध्यक्ष ज्योति कटुवालका अनुसार सम्मेलनमा राउटे, राजी, कुसुण्डा, बादी र बोटे समुदायका छोरीहरू, अपाङ्गता भएका किशोरी तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधिसहित करिब २ सय ५० जनाभन्दा बढी सहभागी छन् । सम्मेलनले लैङ्गिक समानता, बालविवाह न्यूनीकरण, महिला हिंसा अन्त्य, मर्यादित महिनावारी, शिक्षा, स्वास्थ्य, नेतृत्व विकास र अधिकार सुनिश्चिततासम्बन्धी विषयमा छलफल गर्दै निष्कर्षलाई तीन तहका सरकारसमक्ष सुझावका रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीका महिलाहरू हरेक क्षेत्रमा सक्षम र प्रतिभाशाली बन्दै गएको उल्लेख गरे । उनले अहिले पनि कर्णालीमा ३३ प्रतिशत महिला निरक्षर रहेको तथ्य चिन्ताजनक रहेको भन्दै उनीहरूलाई साक्षर बनाउन संघ, प्रदेश र स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
कर्णालीलाई केवल पिछडिएको क्षेत्रका रूपमा हेर्नु हुँदैन, यो कला, संस्कृति र सभ्यताको खानी हो, उनले भने, यहाँका छोरीहरू अब सबै क्षेत्रमा नेतृत्व गर्न सक्षम भइसकेका छन् । उनले संविधान संशोधनको बहस चलिरहेका बेला महिलाहरूले ३३ प्रतिशत सहभागितामा मात्र सीमित नभई ५० प्रतिशत प्रतिनिधित्वका लागि आवाज उठाउनुपर्ने धारणा पनि राखे ।

वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले महिलाको निर्णायक सहभागिताबिना समावेशी विकास सम्भव नहुने बताइन् । उनले राज्यका हरेक संरचना र निर्णय प्रक्रियामा महिलाको प्रभावकारी उपस्थिति सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् । महिलाको सहभागिता केवल प्रतिनिधित्वको विषय होइन, यो समृद्ध, समावेशी र न्यायपूर्ण समाज निर्माणको आधार हो, उनले भनिन् महिला अधिकार स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलन र संघर्षको स्मरण गर्दै उनले अहिले प्राप्त उपलब्धिको संरक्षणसँगै थप सशक्तीकरणतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन् ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले छोरीहरूको शिक्षा, नेतृत्व विकास, आत्मनिर्भरता र सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले कर्णाली प्राकृतिक स्रोतसाधनले सम्पन्न भए पनि बालविवाह, छाउपडी, लैङ्गिक विभेद र हिंसाजस्ता समस्याले विकासमा चुनौती थपिरहेको उल्लेख गरे ।
हरेक छोरी सुरक्षित, शिक्षित र आत्मनिर्भर बन्न सक्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो, मन्त्री भण्डारीले भने, उनले बालविवाह न्यूनीकरण, महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण, छात्रवृत्ति कार्यक्रम, महिला उद्यमशीलता प्रवद्र्धन तथा युवा प्रतिभा विकासका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

कार्यक्रममा कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा महिलाको सामाजिक तथा राजनीतिक अवस्थामाथि उल्लेखनीय परिवर्तन आएको बताए । विगतमा छोरीहरूलाई विद्यालय पठाउन नचाहने मानसिकता रहे पनि अहिले शिक्षामा उनीहरूको सहभागिता उल्लेख्य रूपमा बढेको उनले बताए । एक समय छोरीलाई गोठाला पठाइन्थ्यो, आज त्यही छोरीहरू वैज्ञानिक, प्रशासक र नेतृत्वदायी भूमिकामा पुगेका छन्, उनले भने, उनले विगतमा प्रदेश सरकारले ल्याएको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ जस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको पनि बताए ।

शनिबार सम्मेलनको अर्को आकर्षण ‘ज्ञानको उज्यालोमा छोरी’ शीर्षकको विशेष सत्र रहेको थियो । उक्त सत्रमा लोक सेवा आयोगकी कार्यवाहक अध्यक्ष बसन्तीकुमारी सिंह शाही, नेपाल सरकारकी सचिव लक्ष्मीकुमारी बस्नेत तथा दैलेखकी पहिलो महिला शाखा अधिकृत रोशनीकुमारी श्रेष्ठलगायत सफल महिलाहरूले आफ्ना संघर्ष र सफलताका अनुभव सुनाएका थिए । बसन्तीकुमारी सिंह शाहीले विवाहपछि पनि अध्ययनलाई निरन्तरता दिँदै शिक्षकबाट लोक सेवा आयोगको नेतृत्वसम्मको यात्रा तय गरेको अनुभव साझा गरिन् । उनले बच्चा काखमा राखेर एसएलसी उत्तीर्ण गरेको स्मरण गर्दै इच्छाशक्ति भए कुनै पनि चुनौती पार गर्न सकिने बताइन् ।

नेपाल सरकारकी सचिव लक्ष्मीकुमारी बस्नेतले परिवारबाट प्राप्त समान अवसर र शिक्षाप्रतिको सकारात्मक सोचले आफूलाई सफलताको बाटोमा अघि बढाएको अनुभव सुनाइन् । दैलेखकी रोशनीकुमारी श्रेष्ठले असफलताबाट नआत्तिई निरन्तर मेहनत गरे सफलता अवश्य प्राप्त हुने सन्देश दिइन् ।

सम्मेलनमा सहभागी छोरीहरूले शिक्षा, सुरक्षा, आर्थिक अवसर र नेतृत्व विकासका क्षेत्रमा अझै चुनौती रहेको भन्दै राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन् । उनीहरूले सामाजिक विभेद र हिंसाविरुद्ध सशक्त आवाज उठाउँदै समान अवसर सुनिश्चित गर्न आग्रह गरेका छन् ।

आयोजक श्री ज्योति फाउन्डेशनका अनुसार सम्मेलन अवधिभर कर्णालीका ८५ जना छोरीहरूले आफ्ना जीवन संघर्षका अनुभव प्रस्तुत गर्नेछन् । साथै विज्ञहरूले सार्वजनिक नीति निर्माणसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्ने र विभिन्न विषयमा प्यानल छलफलसमेत सञ्चालन हुनेछन् । फाउन्डेशनले गत वर्ष सम्पन्न पहिलो सम्मेलनमार्फत प्रदेशस्तरीय ‘कर्णाली छोरी सञ्जाल’ गठन गरेको थियो । हाल प्रदेशका ७९ वटै स्थानीय तहमा छोरी सञ्जाल गठन भई ६ सय ६९ जना छोरीहरू आबद्ध भइसकेका छन्।

संस्थाले जाजरकोट भूकम्प प्रभावित तथा विपन्न परिवारका छोरीहरूलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । सम्मेलनले कर्णालीका छोरीहरूको आवाजलाई नीति निर्माण तहसम्म पु¥याउने, सामाजिक रूपान्तरणमा उनीहरूको भूमिका सुदृढ गर्ने तथा समानता र न्यायमा आधारित समाज निर्माणको बहसलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ जेठ १७ गते आइतबार