सुर्खेत । वीरेन्द्रनगरका बासिन्दा पछिल्ला केही सातादेखि लो भोल्टेज र अनियमित विद्युत् आपूर्तिको समस्याले हैरान बनेका छन् । घरायसी कामकाजदेखि उद्योग–व्यवसाय सञ्चालनसम्म प्रभावित बनेपछि सर्वसाधारणले तत्काल समस्या समाधान गर्न माग गरेका छन् । स्थानीयका अनुसार दिनभरी विद्युत् आउने–जाने क्रम चलिरहन्छ । सामान्य हावाहुरी चल्दा वा वर्षा सुरु हुनेबित्तिकै विद्युत् सेवा अवरुद्ध हुने गरेको छ । विद्युत् आए पनि भोल्टेज अत्यन्त कम हुने भएकाले पंखा, फ्रिज, कम्प्युटरलगायत विद्युतीय उपकरण प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन् ।

अधिकांश घरमा मोटर चल्न नसक्दा खानेपानीको ट्यांकीमा पानी तान्न समेत समस्या भइरहेको छ । वीरेन्द्रनगरका व्यवसायीहरूले लो भोल्टेजका कारण व्यापारीक गतिविधि प्रभावित भएको बताएका छन् । वेल्डिङ, फर्निचर, प्रिन्टिङ प्रेस, मिल तथा अन्य साना उद्योग सञ्चालन गर्न कठिनाइ भइरहेको उनीहरूको गुनासो छ ।
कतिपय उद्योगले डिजेलबाट चल्ने वैकल्पिक उपकरण प्रयोग गर्न बाध्य हुँदा उत्पादन लागत समेत बढेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार हावाहुरीका कारण रुख ढलेर राष्ट्रिय प्रसारण लाइनको टावरमा क्षति पुगेपछि अवरुद्ध बनेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन पूर्ण रूपमा सञ्चालनमा आउन अझै कम्तीमा दुई साता लाग्ने भएको छ ।
गत वैशाख २६ गते बाँकेको बैजनाथ गाउँपालिकास्थित राष्ट्रिय निकुञ्ज क्षेत्र नजिक नेपाली सेनाको चिसापानी चेकपोस्टदेखि पूर्वतर्फ ठूलो सालको रुख ढलेर प्रसारण लाइनमा बज्रिँदा टावर क्षतिग्रस्त भएको थियो । घटनापछि उक्त प्रसारण लाइन अवरुद्ध बनेको हो । त्यसयता सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र पश्चिम रुकुमका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुँदै आएको छ ।
प्राधिकरणले क्षतिग्रस्त टावर हटाउने, नयाँ संरचना जडान गर्ने तथा प्रसारण लाइन पुनः सञ्चालनमा ल्याउने काम तीव्र गतिमा भइरहेको जनाएको छ । प्राविधिक टोलीले दुर्गम वन क्षेत्रभित्र पुगेर मर्मत कार्य गरिरहेको भए पनि भौगोलिक कठिनाइ र सामग्री ढुवानीमा समस्या हुँदा काममा अपेक्षित गति लिन नसकेको बताइएको छ ।
हाल प्रभावित क्षेत्रमा वैकल्पिक प्रणालीमार्फत विद्युत् आपूर्ति व्यवस्थापन गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ । तर वैकल्पिक आपूर्तिबाट पर्याप्त विद्युत् प्रवाह हुन नसक्दा लो भोल्टेजको समस्या कायम रहेको छ । स्थानीयवासीले गर्मीको समयमा लामो समयदेखि विद्युत् समस्या झेल्नुपरेको भन्दै मर्मत कार्य छिटो सम्पन्न गरी नियमित र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।
उद्योगी तथा व्यवसायीहरूले समेत विद्युत् समस्याले आर्थिक गतिविधिमा प्रत्यक्ष असर परेको भन्दै दीर्घकालीन समाधानको आवश्यकता औँल्याएका छन् । विद्युत बन्न दुई हप्ता लाग्ने क्षतिग्रस्त क्षेत्रमा अहिले टावर पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ । पहिलो चरण अन्तर्गत टावरको फाउन्डेसन (जग) ढलानको काम सम्पन्न भइसकेको छ । १३२ केभीए विद्युत् आयोजनाका प्रमुख रविकुमार चौधरीका अनुसार अबको दुई साताभित्र टावर खडा गर्ने र तार तान्ने काम सम्पन्न गरी विद्युत् सेवा नियमित गर्ने तयारी भइरहेको छ ।
उनका अनुसार अवरुद्ध विद्युत् छिटो सुचारु गर्न फाउन्डेसन निर्माणको काम गत सोमबार नै सकिएको थियो । भने अब टावर खडा गर्ने र तार तान्न कम्तीमा दुई साता लाग्ने जनाइएको छ । त्यसपछि मात्रै विद्युत् नियमित हुने आयोजना प्रमुख चौधरीले बताए ।
‘प्रसारण लाइनको क्षेत्राधिकार भन्दा बाहिर रहेको करिब ३८ मिटर लामो र ३ मिटर मोटाइको विशाल सालको रुख ढलेर तारमा लाग्दा टावरमा गम्भीर क्षति पुगेको हो’ उनले भने, ‘प्रसारण लाइनको मध्यविन्दुबाट दायाँबायाँ ९÷९ मिटर क्षेत्रभित्र पर्ने रुखहरू यसअघि नै हटाइसकिएको भए पनि क्षेत्राधिकार बाहिरका जोखिमपूर्ण रुखहरू काट्न अनुमति नपाउँदा यस्तो दुर्घटना भएको हो ।’
उनका अनुसार चिसापानी क्षेत्रमा अझै पनि यस्ता ८० भन्दा बढी जोखिमपूर्ण रुखहरू रहेका छन् । यी रुखहरू नहटाइए आगामी दिनमा पनि यस्तै जोखिम रहने भन्दै यसबारे माथिल्लो निकायलाई पहिले नै जानकारी गराइसकिएको चौधरीले बताए । निकुञ्जभित्रका रुखहरू काट्न वन तथा वातावरण मन्त्रालयको स्वीकृति लिनुपर्ने झन्झटिलो प्रक्रियाका कारण समयमै जोखिम न्यूनीकरण गर्न कठिनाइ भइरहेको आयोजनाले जनाएको छ ।
सवारी चार्जिङमा सकस
कर्णाली प्रदेशमा पछिल्लो समय विद्युतीय सवारी साधान प्रयोग गर्नेक्रम बढ्दो छ । विद्युतीय सवारीलाई मध्येनजर गरी सरकारी तथा नीजि क्षेत्रबाट उपयुक्त सवारी चार्जिङ स्टेसनहरु पनि निर्माण हुदैछन् । तर कर्णालीमा मुख्य समस्याको रुपमा रहेको विद्युत लो–भोल्टेजका कारण नियमित विद्युतीय सवारी सञ्चालनमा भने सकस परेको छ ।
स्कुटर बाहेक अन्य विद्युतीय सवारी साधानहरु घरमै चार्जिङ गरेर चलानउन सम्भव छैन । पछिल्लो समय सुर्खेतमा मात्रै सँयौंको संख्यामा ठुला विद्युतीय सवारी साधान छन् । तर समयमै चार्जिङ गर्न नपाएकै कारण ठुला विद्युतीय सवारी साधान नियमित सञ्चालनमा चुनौती छ ।
नेपाल विद्युत प्राधिकरणले सुर्खेत बसपार्कमा स्थापना गरेको चार्जिङ स्टेसनसमेत विद्युत लो–भोल्टेजका कारण राम्रोसंग चल्न सकेको छैन । लो–भोल्टेजका कारण समयमै सवारी चार्जिङ नहुँदा बसपार्कमा सवारी चालकहरु मध्ये रातीसम्म पालो कुरेर जाग्राम बस्नुपर्ने बाध्यता छ । नेपालगञ्ज, कोहलपुर, धनगडी, दाङ लगायतका ठाउँबाट सुर्खेत आउने यात्रुवहाक विद्युतीय सवारी चालकहरु सवारी चार्जिङ गर्नकै लागि बसपार्कमा रातभर पालो कुरेर जाग्राम बस्ने गरेका छन् ।
‘हामी नेपालगञ्जबाट पुरा चार्ज गरेर सुर्खेत आउँछौं । त्यो चार्जले फेरी नेपालगंजसम्म पुग्दैन’ एक सवारी सञ्चालकले भने, ‘सुर्खेत बसपार्कमा गाडी जार्च गर्न पालो कुर्दाकुर्दै महिनाको झण्डै २० दिन सुर्खेतमै बास हुन्छ, यसले गर्दा धेरै खर्च आउन थालेपछि अचेल रातीको १२ बजेपछि पनि रित्तै नेपालगंज फर्किन्छौं ।’
सवारी चार्जिङ गर्नमै सकस परेपछि सर्खेतबाट समयमै फर्किन नसक्दा दुबैतर्फ आउजाउ गर्ने यात्रु नपाउने र अनावश्यक खर्च हुने गरेको सवारी चालकहरु बताउँछन् । तर विद्युतीय सवारी साधान चलाउने सबैको पीडा उस्तै छ ।







