२०८३ जेठ २६ , मंगलबार
सम्पादकीय

कर्णालीवासीलाई निराश नबनाउ



कर्णाली प्रदेशको स्वास्थ्य सेवाको मुख्य आधारका रूपमा रहेको प्रदेश अस्पताल सुर्खेतले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति हासिल गरेको छ । भौतिक पूर्वाधार विस्तार, आधुनिक स्वास्थ्य उपकरणको व्यवस्थापन तथा विशेषज्ञ सेवाको वृद्धि जस्ता क्षेत्रमा अस्पतालले महत्वपूर्ण फड्को मारेको छ । प्रदेशका दुर्गम जिल्लादेखि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही क्षेत्रका नागरिकका लागि समेत यो अस्पताल भरोसायोग्य उपचार केन्द्र बनेको छ । तर यति धेरै उपलब्धिका बाबजुद अस्पतालको सबैभन्दा ठूलो समस्या जनशक्ति अभाव बनेको छ । अस्पतालमा ५ सय शैयासम्म सेवा सञ्चालन गर्न सक्ने संरचना निर्माणको काम लगभग सम्पन्न भइसकेको छ। तर आवश्यक चिकित्सक, नर्स तथा प्राविधिक कर्मचारीको अभावले अस्पताल अझै ३०० शैयामा सीमित छ । यसले राज्यको लगानी र स्वास्थ्य सेवाको आवश्यकता बीचको असन्तुलनलाई स्पष्ट रूपमा देखाउँछ । भवन बनाउने, उपकरण खरिद गर्ने र नयाँ सेवा थप्ने काम महत्त्वपूर्ण भए पनि ती सेवा सञ्चालन गर्ने जनशक्ति नहुँदा उपलब्धि अधुरो बन्न पुगेको छ ।

प्रदेश अस्पतालमा बिरामीको चाप प्रत्येक वर्ष बढिरहेको छ । ओपीडी, आकस्मिक सेवा, शल्यक्रिया, प्रसूति सेवा तथा डायलाइसिस सेवामा आउने बिरामीको संख्या निरन्तर बढ्दो छ । अस्पतालले न्युरोसर्जरी, आईसीयू, एनआईसीयू, मानसिक स्वास्थ्य, फिस्टुला उपचार लगायतका जटिल सेवा पनि प्रदान गरिरहेको छ। तर विशेषज्ञ चिकित्सकका धेरै पद रिक्त हुनु र करार तथा काजमा आएका जनशक्तिको भरमा सेवा सञ्चालन हुनु दीर्घकालीन रूपमा जोखिमपूर्ण अवस्था हो ।

अस्पतालमा करोडौं रुपैयाँ मूल्यका अत्याधुनिक उपकरण जडान गरिएका छन् । तर ती उपकरण सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति नहुँदा केही सेवा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । यसले राज्यको लगानीको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ। स्वास्थ्य क्षेत्रमा पूर्वाधारसँगै दक्ष जनशक्तिको व्यवस्थापनलाई समान प्राथमिकता नदिँदा यस्ता समस्या देखिएका हुन् । स्वास्थ्य बीमा कार्यक्रमले नागरिकलाई उपचारमा सहज पहुँच दिएको छ । तर अस्पतालले प्राप्त गर्नुपर्ने ठूलो रकम भुक्तानी हुन बाँकी रहनु अर्को चुनौती बनेको छ। सेवा विस्तारसँगै आर्थिक स्रोत र जनशक्ति व्यवस्थापनको समस्या समाधान गर्न नसकिए अस्पतालमाथिको दबाब झन् बढ्ने निश्चित छ । स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो। त्यसैले प्रदेश सरकार र सम्बन्धित निकायले अब भवन निर्माणको उपलब्धिभन्दा सेवा प्रवाहको गुणस्तरमा ध्यान दिनुपर्छ । रिक्त दरबन्दी तत्काल पूर्ति गर्ने, विशेषज्ञ चिकित्सकको व्यवस्था मिलाउने र अस्पताललाई आवश्यक बजेट तथा अधिकार उपलब्ध गराउने काम अब ढिला गर्नु हुँदैन । अन्यथा पूर्वाधार विस्तारका उपलब्धिहरू कागजमा सीमित हुनेछन् र गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा गरेका कर्णालीवासी निराश बन्नेछन् ।

प्रकाशित मिति : २०८३ जेठ २६ गते मंगलबार