२०८३ असार ४ , बिहीबार
फ्रन्ट पेज

कर्णालीका पाँच पर्यटकीय स्थलको विकासका लागि २१ करोड



सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका पाँच महत्वपूर्ण पर्यटकीय गन्तव्यको संरक्षण, विकास र प्रवद्र्धनलाई प्राथमिकता दिएको छ । यी पाँच पर्यटकीय स्थलको विकासका लागि आगामी आर्थिक वर्षका लागि २१ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको हो । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य नम्बर ५० मा रारा ताल, काँक्रेविहार, बुलबुले उद्यान तथा चौहान पार्क, कुपिण्डे दह र स्यार्पु ताल संरक्षण तथा विकासका लागि २१ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको उल्लेख छ ।

प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित गर्ने लक्ष्यसहित सरकारले यो बजेट व्यवस्था गरेको हो । प्रदेश सरकारले मुगुको प्रसिद्ध रारा ताल, सुर्खेतस्थित काँक्रेविहार र बुलबुले उद्यान तथा चौहान पार्क, सल्यानको कुपिण्डे दह र रुकुम पश्चिमको स्यार्पु ताल लाई केन्द्रमा राखेर कार्यान्वयन भइरहेका गुरुयोजनालाई थप प्रभावकारी बनाउने उद्देश्य लिएको छ ।

पाँच पर्यटकीय स्थलको विकासका लागि उक्त रकम विनियोजन हुनुलाई सकरात्मक रुपमा लिइएको छ । कर्णाली प्रदेश सरकारका अनुसार हिमाल, ताल, नदी, वन, संस्कृति र सभ्यताको अनुपम संगमका रूपमा रहेको कर्णाली पर्यटनका दृष्टिले नेपालको सबैभन्दा सम्भावनायुक्त क्षेत्रमध्ये एक हो । यद्यपि पूर्वाधार विकास, पहुँच विस्तार र पर्यटन सेवाको गुणस्तर अभिवृद्धि आवश्यक रहेको निष्कर्षसहित सरकारले पर्यटन क्षेत्रमा विशेष लगानी बढाएको आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाहले बताए ।

उनका अनुसार प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माण, सेवा गुणस्तर सुधार तथा गन्तव्य व्यवस्थापनलाई सुदृढ बनाउँदै कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन मानचित्रमा विशिष्ट गन्तव्यका रूपमा स्थापित गर्ने नीति अघि सारेको हो ।

‘प्रदेश सरकारले पर्यटनसँग जोडिएका सहायक पूर्वाधार निर्माणमा समेत ठूलो बजेट छुट्याएको छ’ उनले भने, ‘शहरी क्षेत्रको सौन्दर्य अभिवृद्धि, हरित वातावरण संरक्षण तथा पर्यापर्यटनको दिगो विकासलाई प्रवद्र्धन गर्न पार्क, उद्यान, खुला स्थान, पदमार्ग, दृश्यावलोकन स्थल तथा प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार निर्माण एवं स्तरोन्नतिका लागि ३९ करोड ९६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।’

त्यसैगरी पर्यापर्यटन, ग्रामीण पर्यटन तथा होमस्टे व्यवसायलाई प्रोत्साहन गर्न पर्यटनसँग सम्बन्धित सीप विकास कार्यक्रम सञ्चालन गरिने भएको छ । स्थानीय नागरिकलाई हस्पिटालिटी सेवा, ट्रेकिङ गाइड, स्थानीय मौलिक वास्तुकला संरक्षण तथा रैथाने बालीबाट उत्पादित परिकारको प्रवद्र्धनसम्बन्धी तालिम प्रदान गरी पर्यटन क्षेत्रमै रोजगारी सिर्जना गर्ने कर्णाली सरकारको योजना रहेको छ ।

कर्णाली पर्यटन दशक मनाइने

कर्णाली प्रदेश सरकारले पर्यटन क्षेत्रलाई आर्थिक रूपान्तरण, रोजगारी सिर्जना तथा स्थानीय समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्ने लक्ष्यसहित ‘कर्णाली पर्यटन दशक’ सुरु गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत प्रदेश सरकारले पर्यटन पूर्वाधार विस्तार, पर्यटकीय गन्तव्यको संरक्षण तथा पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै दशक अभियान अघि बढाउने जनाएको हो । प्रदेश सरकारले समग्र पर्यटन क्षेत्रको विकास, व्यवस्थापन तथा प्रवद्र्धनका लागि ५३ करोड ८६ लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको छ ।
सरकारले कर्णालीका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्दै पर्यटन क्षेत्रलाई प्रदेशको आर्थिक विकासको प्रमुख आधार बनाउने रणनीति लिएको जनाएको छ । ‘कर्णाली पर्यटन दशक’ अन्तर्गत प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको संरक्षण, पूर्वाधार निर्माण, पहुँच विस्तार तथा पर्यटन सेवाको गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

साथै पर्यटन क्षेत्रसँग जोडिएका स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी रोजगारी र उद्यमशीलता प्रवद्र्धनका कार्यक्रम पनि सञ्चालन गरिनेछन् । पर्यटन व्यवसायीहरूले प्रदेश सरकारको घोषणालाई सकारात्मक रूपमा लिँदै बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । उनीहरूका अनुसार विनियोजित बजेट योजनाबद्ध र पारदर्शी ढंगले खर्च हुन सकेमा कर्णाली प्रदेश नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित हुने सम्भावना अझ बलियो बन्नेछ ।

व्यवसायीहरूका अनुसार कर्णालीका प्राकृतिक सौन्दर्य, जैविक विविधता, सांस्कृतिक सम्पदा तथा साहसिक पर्यटनका सम्भावनाले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने क्षमता राख्छन् । ‘कर्णाली पर्यटन दशक’ अभियान सफल भएमा प्रदेशमा पर्यटक आगमन वृद्धि भई स्थानीय अर्थतन्त्र सुदृढ हुने, रोजगारीका अवसर विस्तार हुने तथा समग्र आर्थिक विकासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरिएको छ ।

प्रदेश सरकारले पर्यटन क्षेत्रलाई दीर्घकालीन आर्थिक विकासको मेरुदण्डका रूपमा स्थापित गर्ने लक्ष्यसहित दशक अभियानको प्रस्ताव अघि बढाएको हो । यस अभियानले कर्णालीको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्दै प्रदेशलाई समृद्धिको नयाँ यात्रातर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति : २०८३ असार ४ गते बिहीबार