कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै पाँच महत्वपूर्ण पर्यटकीय गन्तव्यको संरक्षण, विकास र प्रवद्र्धनका लागि २१ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ । रारा ताल, काँक्रेविहार, बुलबुले उद्यान तथा चौहान पार्क, कुपिण्डे दह र स्यार्पु ताल जस्ता पर्यटकीय स्थललाई केन्द्रमा राखेर बजेट छुट्याइनु सकारात्मक कदम हो । कर्णाली प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, ऐतिहासिक सम्पदा र जैविक विविधताले सम्पन्न प्रदेश हो । रारा तालको विश्वस्तरीय आकर्षण, काँक्रेविहारको ऐतिहासिक महत्व, कुपिण्डे दह र स्यार्पु तालको प्राकृतिक सौन्दर्य तथा सुर्खेतका पर्यटकीय स्थलहरूको सम्भावनाले कर्णालीलाई नेपालको प्रमुख पर्यटन गन्तव्य बनाउने आधार तयार गरिसकेका छन् । तर सम्भावना मात्र पर्याप्त हुँदैन, त्यसलाई व्यवहारमा रूपान्तरण गर्ने क्षमता र प्रतिबद्धता आवश्यक पर्छ ।

सरकारले पर्यटन पूर्वाधार, पदमार्ग, उद्यान, दृश्यावलोकन स्थल तथा अन्य संरचना निर्माणका लागि थप ३९ करोड ९६ लाख रुपैयाँ विनियोजन गरेको छ । साथै होमस्टे, ग्रामीण पर्यटन, पर्यापर्यटन र पर्यटनसँग सम्बन्धित सीप विकास कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारेको छ । तर कर्णालीमा पर्यटन विकासका नाममा बजेट विनियोजन हुनु नयाँ विषय होइन । विगतका वर्षहरूमा पनि यस्ता धेरै योजना घोषणा भए, तर अपेक्षाअनुसार परिणाम देखिन सकेन । कतिपय परियोजना अधुरै रहे, कतिपय बजेट खर्चमै सीमित भए। पर्यटन पूर्वाधार निर्माणमा ढिलाइ, पहुँच मार्गको कमजोरी, सेवा सुविधाको अभाव र प्रभावकारी प्रचार–प्रसार नहुनु आज पनि मुख्य चुनौतीका रूपमा कायम छन् ।
‘कर्णाली पर्यटन दशक’ सफल बनाउन केवल बजेट छुट्याउनु पर्याप्त हुँदैन। स्पष्ट कार्ययोजना, समयबद्ध कार्यान्वयन, पारदर्शी खर्च प्रणाली र प्रभावकारी अनुगमन आवश्यक छ । अन्यथा दशक घोषणा पनि विगतका महत्वाकांक्षी नाराजस्तै कागजमै सीमित हुने जोखिम रहन्छ । पर्यटन विकासको केन्द्रमा स्थानीय समुदायलाई राख्नु पनि उत्तिकै आवश्यक छ । पर्यटनबाट स्थानीय नागरिकले प्रत्यक्ष लाभ नपाएसम्म दिगो विकास सम्भव हुँदैन । होमस्टे, स्थानीय उत्पादन, सांस्कृतिक कार्यक्रम र पर्यटनसँग सम्बन्धित उद्यमशीलतामा स्थानीय सहभागिता बढाउन सकिए मात्र पर्यटनले आर्थिक समृद्धिको आधार तयार गर्न सक्छ । कर्णालीलाई पर्यटनको केन्द्र बनाउने सपना असम्भव छैन। तर त्यसका लागि राजनीतिक घोषणाभन्दा बढी आवश्यक छ, नतिजामुखी कार्यान्वयन। रारा, काँक्रेविहार, कुपिण्डे दह वा स्यार्पु ताललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने अवसर अहिले प्रदेश सरकारसँग छ। प्रश्न यति मात्र हो, के यो अवसरलाई उपलब्धिमा बदल्ने इच्छाशक्ति र क्षमता सरकारसँग छ? कर्णाली पर्यटन दशकको सफलता घोषणा गरिएको बजेटको आकारले होइन, पर्यटकको संख्या, सिर्जना भएका रोजगारी, स्थानीयको आम्दानी र प्रदेशको आर्थिक रूपान्तरणले मापन हुनेछ । त्यसैले अब कर्णालीले नयाँ नारा होइन, नयाँ परिणाम खोजिरहेको छ ।







