सुर्खेत । जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि, भन्ने मूल नारासहित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ कर्णाली प्रदेशमा विविध कार्यक्रम गरी मनाइएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश र कृषि अनुसन्धान निर्देशनालय दशरथपुरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा धान उत्पादन वृद्धि, जलवायु अनुकूल कृषि प्रविधिको विस्तार तथा खाद्यान्न आत्मनिर्भरतामा जोड दिइएको हो ।

कार्यक्रममा कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले धान नेपालको प्रमुख खाद्यान्न बाली भएको उल्लेख गर्दै उत्पादन र उत्पादकत्व बढाउन जलवायुमैत्री प्रविधिको प्रयोग अपरिहार्य भएको बताए । उनका अनुसार नेपालमा ४१ लाख ३१ हजार कृषक घरधुरीमध्ये २७ लाख ६५ हजार धान खेतीमा संलग्न छन् भने कुल खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रमा धान खेती गरिन्छ । कुल खाद्यान्न उत्पादनमा धानको योगदान करिब ५० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा करिब दुई खर्ब रुपैयाँ बराबरको योगदान रहेको उनले जानकारी दिए ।
निर्देशक रोकायका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा देशभर १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन भएको थियो । पछिल्लो पाँच वर्षमा धानको उत्पादकत्व प्रतिहेक्टर ३.८० मेट्रिक टनबाट बढेर ४.१९ मेट्रिक टन पुगे पनि वार्षिक आवश्यक करिब ७० लाख मेट्रिक टन धानमध्ये अझै १० लाख मेट्रिक टन अभाव रहेको उनले बताए ।
कर्णाली प्रदेशमा गत आर्थिक वर्षमा ४० हजार ८ सय ८४ हेक्टर क्षेत्रफलमा करिब १ लाख ४७ हजार २ सय ५० मेट्रिक टन धान उत्पादन भएको थियो । प्रदेशको वार्षिक खाद्यान्न आवश्यकता करिब ३ लाख ४४ हजार ३ सय २४ मेट्रिक टन रहेकामा खुद उपभोगयोग्य खाद्यान्न ३ लाख २० हजार ८ सय ९० मेट्रिक टन मात्र उपलब्ध भएकाले करिब २३ हजार ४ सय ३४ मेट्रिक टन खाद्यान्न अपुग रहेको छ ।
यस वर्ष कर्णालीमा ४३ हजार २ सय ९० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकामा हालसम्म १२ हजार १ सय ५५ हेक्टर अर्थात् करिब २८.१५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । जिल्लागत रूपमा जुम्लामा ९५ प्रतिशत, डोल्पामा ९२ प्रतिशत, हुम्लामा ७५ प्रतिशत र मुगुमा ६८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कालिकोट, सल्यान, रुकुम पश्चिम र जाजरकोटमा मध्यम गतिमा रोपाइँ भइरहेको छ भने दैलेख र सुर्खेतमा मनसुनी वर्षा तथा सिँचाइको अभावका कारण रोपाइँ अपेक्षाकृत सुस्त रहेको छ ।
उक्त कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश सचिव निधिराज न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव सञ्जीवकुमार कर्ण, लेकबेसी नगरपालिकाकी उपप्रमुख बिमला खडलुक लगाए सहभागी थिए । कार्यक्रममा कृषि अनुसन्धान निर्देशनालय दशरथपुरका निर्देशक डा.देवनिधी तिवारीले जलवायु परिवर्तनको चुनौती सामना गर्न अनुसन्धानमा आधारित उन्नत तथा स्थानीय अनुकूल धानका जातको विकास, सिँचाइ विस्तार, गुणस्तरीय बीउबिजन, मलको सहज उपलब्धता र किसानमैत्री प्रविधि विस्तारमा जोड दिएको बताए ।
उनले जुम्लाको विश्वप्रसिद्ध मार्सी धान कर्णालीको पहिचान भएको उल्लेख गर्दै चिसो सहन सक्ने स्थानीय जातको संरक्षण र प्रवद्र्धनसँगै मध्यपहाडी क्षेत्रमा खुमल–४, खुमल–८, खुमल–११, राधा–४, राधा–१२, मन्सुली, सावित्री, बिन्देश्वरीलगायतका जातको उत्पादन विस्तार गर्नुपर्ने आवश्यकता औँलयाए ।
नेपाल कृषि अनुसन्धान परिषद्ले विकास गरेका सुख्खा तथा डुबान सहन सक्ने धानका जात किसानसम्म पु¥याउने, वर्षाको पानी सङ्कलन, साना सिँचाइ आयोजना विस्तार र जलवायुमैत्री खेती प्रणालीलाई प्राथमिकता दिइए मात्र उत्पादन वृद्धि सम्भव हुने उनको भनाई थियो । असार १५ का अवसरमा सहभागीहरूले परम्पराअनुसार खेतमा रोपाइँ गर्दै दही–चिउरा खाएका थिए । हिलो खेल्ने, लोकगीत गाउने तथा दौड प्रतियोगिता प्रस्तुति सहित रोपाइँ महोत्सव मनाइएको थियो ।








