सुर्खेत । कर्णाली प्रदेश सरकारले यस वर्षको मनसुनजन्य विपद्लाई लक्षित गर्दै पूर्वतयारीलाई प्राथमिकतामा राखेको छ । प्रदेश विपद् व्यवस्थापन परिषद्ले ‘विपद् प्रतिकार्य योजना–२०८३’ पारित गरेसँगै प्रदेशभर पूर्वतयारी तथा उद्धार व्यवस्थापनका कार्यक्रम कार्यान्वयनमा ल्याइने भएको छ । तर विगतका अनुभव हेर्दा योजना निर्माणभन्दा प्रभावकारी कार्यान्वयन नै सरकारका लागि सबैभन्दा ठूलो चुनौती देखिएको छ ।

नेपालमा यस वर्षको मनसुन भित्रिएसँगै कर्णालीमा पनि बाढी, पहिरो र भूक्षयको जोखिम बढेको छ । भौगोलिक रूपमा कमजोर बनोट, अधिकांश भूभाग पहाडी तथा करिब ५७ प्रतिशत भिरालो जमिन भएकाले कर्णाली प्राकृतिक विपद्को उच्च जोखिममा पर्ने प्रदेशमध्ये एक हो ।
हरेक वर्ष वर्षायाम सुरु हुनासाथ सडक अवरुद्ध हुने, बस्ती विस्थापित हुने, कृषि उत्पादनमा क्षति पुग्ने तथा जनधनको ठूलो नोक्सानी हुने क्रम दोहोरिने गरेको छ । विशेषगरी पहिरो, बाढी, चट्याङ र नदी कटानका घटनाले ग्रामीण बस्ती बढी प्रभावित हुने गरेका छन् ।
१३ हजार नागरिक प्रभावित हुने अनुमान
सरकारले तयार पारेको प्रतिकार्य योजनाअनुसार यस वर्ष मनसुनजन्य विपद्का कारण कर्णालीका करिब १३ हजार नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ । तीमध्ये करिब तीन हजार घरधुरी प्रत्यक्ष प्रभावित हुने आँकलन गरिएको छ । प्रदेश सरकारले जोखिम न्यूनीकरण, उद्धार, राहत र पुनःस्थापनालाई व्यवस्थित बनाउन विभिन्न कार्ययोजना लागू गरेको जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख उत्तम गौतमका अनुसार प्रदेश विपद् प्रतिकार्य योजना–२०८३, प्रदेश आपतकालीन गोदाम सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८३ तथा मनसुन प्रतिकार्य तथा पूर्वतयारी योजना–२०८३ लागू भइसकेका छन् । उनका अनुसार योजना अनुसार सबै जिल्लामा आवश्यक सामग्री, जनशक्ति परिचालन तथा समन्वयलाई प्रभावकारी बनाइनेछ ।
दश वर्षसम्म पनि पुनःस्थापना भएनन् विस्थापित
२०७१ सालको साउनमा आएको विनाशकारी बाढी र पहिरोबाट विस्थापित भएका सुर्खेतका धेरै परिवार अझै स्थायी आवासको प्रतीक्षामा छन् । बराहताल गाउँपालिका–२ का १ सय २५ घरधुरी अहिले पनि गिरीघाटस्थित सामुदायिक वन क्षेत्रमा अस्थायी टहरामा बस्दै आएका छन् । विपद् आएको एक दशक बितिसक्दा पनि उनीहरूको स्थायी पुनःस्थापना हुन नसक्नु राज्यको विपद् व्यवस्थापन प्रणालीमाथि गम्भीर प्रश्न बनेको छ ।
चालु वर्षमै ६३३ विपद्का घटना
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार चालु वर्षमा मात्रै कर्णालीमा ६३३ वटा विपद्का घटना भएका छन् । ती घटनामा १७ जनाको मृत्यु, एक जना बेपत्ता तथा ६२ जना घाइते भएका छन् । प्रहरीका अनुसार मनसुन अझै सक्रिय भइरहेकाले आगामी दिनमा विपद्का घटना थप बढ्न सक्ने सम्भावना रहेको छ ।
चार वर्षमा ४ सय १९ जनाको मृत्यु
प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्ला चार आर्थिक वर्षमा कर्णालीमा ४ हजार ५७१ वटा विपद्का घटना भएका छन् । ती घटनामा ४१९ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा ४१६ घटना भएकोमा ८५ जनाको मृत्यु भएको छ । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा १ हजार २१६ घटना हुँदा ६८ जनाको मृत्यु भएको थियो । भने आर्थिक वर्ष २०७९/०८० मा २ हजार २१४ घटना भएकोमा ७२ जनाको मृत्यु भएको थियो ।
यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा ५३३ घटना हँुदा ११४ जनाको मृत्यु भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा ८११ वटा विपद्का घटना हुँदा ३५ जनाको मृत्यु र १८० जना घाइते भएका थिए । घटनाको संख्या घटे पनि मानवीय क्षति भने गम्भीर हुने क्रम जारी रहेको प्रहरीको भनाई छ ।
कर्णालीमा सबैभन्दा बढी मानवीय क्षति पहिरोका कारण हुने गरेको तथ्यांकले देखाएको छ ।
पहिरोकै कारण कर्णालीमा २०७७÷०७८ देखी हालसम्म ११४ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरका अनुसार पछिल्ला वर्षमा घटनाको संख्या केही घटे पनि ठूलो वर्षा हुँदा हुने पहिरोका कारण मानवीय क्षति अझै गम्भीर रहने गरेको छ ।








