२०८३ असार १७ , बुधबार

प्रदेश स्तरीय फुटबल प्रतियोगिता भाेलीदेखि दशौँ राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट र प्रतिभा पहिचान गर्ने उद्देश्य



सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले असार १८ अर्थात भाेलीदेखि असार २२ गतेसम्म वीरेन्द्रनगरकाे रंगशालामा कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगिता–२०८३ आयोजना गर्ने भएको छ । परिषद्ले बुधबार परिषद्मादमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले प्रतियोगितामा कर्णाली प्रदेशका १० वटै जिल्लाका फुटबल टोलीको सहभागिता रहने जानकारी दिए । उनले प्रतियोगिताको मुख्य उद्देश्य प्रदेशका प्रतिभावान् खेलाडीको पहिचान, फुटबल खेलको विकास तथा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सक्षम खेलाडी छनोट गर्नु रहेको बताए ।

सदस्यसचिव चन्दका अनुसार प्रतियोगिता अन्तर्राष्ट्रिय फुटबल महासंघ (IFAB) को प्रचलित नियमअनुसार नकआउट प्रणालीमा सञ्चालन हुनेछ । प्रत्येक टोलीमा १८ देखि २० जना खेलाडी र ५ जना अफिसियल गरी अधिकतम २५ सदस्यीय टोली रहनेछ ।

उनले विजेता टोलीलाई रु. १ लाख ५० हजार, उपविजेतालाई रु. १ लाख, फेयर प्ले टिमलाई रु. १० हजार, उत्कृष्ट खेलाडीलाई रु. १० हजार, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु. ५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु. १ हजार ५ सय पुरस्कार प्रदान गरिने जानकारी दिए ।

साथै सहभागी प्रत्येक जिल्लाको टोलीलाई रु. ८० हजार सहभागिता खर्च उपलब्ध गराइने र प्रत्येक खेलाडीको रु. १ लाख बराबरको दुर्घटना बीमा गरिएको उनले बताए ।

सदस्य सचिव चन्दले यस प्रतियोगिताले कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता र कर्णालीमा फुटबलको स्तर उकास्नुका साथै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै प्रतियोगितालाई सफल बनाउन सञ्चारकर्मी, खेलप्रेमी तथा सरोकारवाला सबै पक्षको सहयोग र सहभागिताको आग्रह गरे ।

प्रकाशित मिति : २०८३ असार १७ गते बुधबार