सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको साङ्गेतडा सडक खण्डमा बिहीबार मध्याह्न फोर्स गाडी दुर्घटना भएको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको यात्रुवाहक फोर्स गाडी चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङगेतडास्थित सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा बेपत्ता भएको हो । बर्खाका कारण नदीमा पानीको सतह अत्यधिक बढेको र गाडी पूर्ण रूपमा पानीमुनि डुबेकाले उद्धार कार्यमा चुनौती थपिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार गाडी नदीमा नदेखिने गरी डुबेकाले खोजी कार्य जटिल बनेको छ । दुर्घटनास्थल दैलेख पाल्तडा प्रहरी चौकीबाट तीन किलोमिटर उत्तर र जिल्ला सदरमुकामबाट ५० किलोमिटर पश्चिमतर्फको कठिन भूगोलमा अवस्थित छ । नदीको बहाव तीव्र भएकाले सुरक्षाकर्मीहरूलाई पानीभित्र पसेर गाडीको स्थिति पत्ता लगाउन समस्या परेको हो ।
यात्रु सङ्ख्या अझै अनिश्चित
गाडी सडकबाट नदीमा खस्ने क्रममा भीरमा अचेत अवस्थामा अड्किएका नाम, थर र वतन नखुलेका एक पुरुषलाई सुरक्षाकर्मीले जीवितै उद्धार गर्न सफल भएका छन् । सुर्खेत बसपार्कबाट बिहिवार बिहान ८ः०० बजे छुट्दा गाडीमा चालकसहित पाँच जना सवार रहेको चलानी देखिए पनि बीच बाटोमा अन्य यात्रु थपिएका थिए वा थिएनन् भन्ने कुरा अझै यकिन हुन सकेको छैन । वास्तविक तथ्याङ्क नहुँदा नदीमा कति यात्रु बेपत्ता छन् भन्ने कुरा अस्पष्ट नै छ ।
घटनास्थलमा गोताखोरसहितको संयुक्त टोली परिचालन
दुर्घटनाको खबर पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख र माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसको संयुक्त टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलमा खटिएको छ । यसका साथै, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाको नेतृत्वमा गोताखोरको विशेष टोली पनि सुर्खेतबाट घटनास्थलतर्फ प्रस्थान गरिसकेको र खोजी कार्य भइरहेको दैलेख प्रहरीले जनाएको छ ।
’राजमार्ग’ कि मृत्युको पासो?
यो दुर्घटनाले कर्णाली राजमार्गको वर्षौँ पुरानो डरलाग्दो यथार्थलाई पुनः ब्युँताइदिएको छ । स्थानीय राम बहादुर शाहीका अनुसार यो सडक सधैँ ’मृत्युमार्ग’ साबित हुँदै आएको छ । प्रत्येक दुर्घटनापछि सरकार फेरिन्छन्, आश्वासनका चाङ बाँडिन्छन्, तर राजमार्गको दुरावस्था बदलिँदैन । राजनीतिक दलहरूले यस सडकलाई चुनावी नारा त बनाउँछन्, तर सत्तामा पुगेपछि कर्णालीका नागरिकको जीवन रक्षा गर्ने सवाल उनीहरूको प्राथमिकतामा पर्दैन ।
उता नयाँ सरकार गठन भएको १ सय दिन पुग्बिन लागेको छ । तर पनि कर्णाली राजमार्गलाई सुरक्षित बनाउनेतर्फ कुनै ठोस कदम चालिएको छैन । यो राजमार्गको जग कमजोर र पहिरोजन्य भूगोलमा रहेकाले अब टालटुले मर्मत गरेर मात्र पुग्दैन । विज्ञ टोलीद्वारा यस क्षेत्रको गहिरो भू–गर्भीय र प्राविधिक अध्ययन गरी सडकको नयाँ एलाइनमेन्ट र दीर्घकालीन गुरुयोजना तय गरिनु अनिवार्य भइसकेको छ ।
सडक विस्तार र आधुनिक क्र्यास ब्यारियरको अपरिहार्यता
राजमार्गका अत्यधिक जोखिमपूर्ण खण्डहरू, साँघुरा सडक र ’ब्लाइन्ड स्पट’ (अन्धा घुम्तीहरू) लाई तत्काल फराकिलो बनाई राष्ट्रिय राजमार्गको वास्तविक मापदण्डमा ल्याउनुपर्छ । सडकको छेउमै रहेका गहिरा भीर र नदी किनारहरूमा अत्याधुनिक ’क्र्यास ब्यारियर’ वा बलिया सुरक्षा पर्खालहरू लगाउनु पर्छ, जसले गाडी अनियन्त्रित हुँदा
पनि सिधै नदीमा खस्नबाट रोक्न सकोस् । यस्तै राजमार्गमा उद्धार केन्द्रको आवश्यकता यति लामो र भौगोलिक रूपमा विकट मार्गको बीच भागमा चौबीसै घण्टा तयारी अवस्थामा रहने गरी आधुनिक उपकरण, गोताखोर र मेडिकल टोलीसहितको ’द्रुत उद्धार केन्द्र’ स्थापना गर्न ढिला भइसकेको छ । जबसम्म सरकारले बजेट र दृढ इच्छाशक्तिसहित यो सडक खण्डको पुनर्संरचना गर्दैन, तबसम्म कर्णालीमा रगत बग्ने शृङ्खला रोकिने छैन । यसतर्फ नयाँ सरकारले विशेष ध्यान दिन जरुरी छ ।







