२०८३ असार २९ , सोमबार
फ्रन्ट पेज

कम वर्षाको प्रक्षेपणभित्र लुकेको ठूलो विपद्को जोखिम



सुर्खेत । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ, जुन अहिलेको मौसमी अवस्थामा पनि देखिइरहेको छ । तर, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को हालैको एक अध्ययनले पानी कम पर्दैमा विपद् आउँदैन भनेर ढुक्क हुन नसकिने औंल्याएको छ । गत २६ जेठमा सार्वजनिक भएको ‘हिन्दुकुश हिमालय मनसुन आउटलुक, २०२६’ प्रतिवेदनबारे इसिमोडले विज्ञप्ति जारी गर्दै लामो खडेरीपछिको अचानक हुने भारी वर्षाले आकस्मिक बाढी, पहिरो र हिमनदीजन्य ठूलो जोखिम निम्त्याउन सक्ने चेतावनी दिएको छ ।

यस वर्ष प्रशान्त महासागरको सतहको तापक्रममा आउने असामान्य परिवर्तन (जलवायु चक्र ‘एल निनो’) का कारण नेपालसहित दक्षिण एसियामा मनसुन अवधिभर कम वर्षा हुने र तापक्रम बढ्ने अनुमान छ । तर, यसको अर्थ जोखिम कम हुनु होइन । इसिमोडका विपद् जोखिम न्यूनीकरण विज्ञ शाश्वत सन्यालका अनुसार, वर्षा कम हुनु भनेको बाढीको जोखिम पनि कम हुनु हो भन्ने भ्रम राख्नु हुँदैन । एल निनोका कारण लामो समय खडेरी परे पनि स्थानीय वायुको दबाबले अचानक एकै ठाउँमा ठूलो वर्षा  हुन सक्छ, जसले विनाशकारी रूप लिन सक्छ ।

हालै मेसाक आँधीका कारण भएको भारी वर्षा र विनाशकारी बाढीले दक्षिणी चीनको गुआङ्सी क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । अल जजिराका अनुसार उक्त बाढीमा कम्तीमा ३९ जनाको मृत्यु हुनुका साथै १ लाख ३० हजार मानिस विस्थापित भएका छन् भने ड्यामलगायतका ठूला पूर्वाधार भत्किएका छन् ।

असामान्य तापक्रम वृद्धि र हिमनदी जलाधार क्षेत्रमा खतरा

तापक्रममा भइरहेको वृद्धिले हिमनदीमा आधारित सिन्धु, गंगा र ब्रह्मपुत्र जलाधार क्षेत्रमा जोखिम थपेको छ । तीव्र गतिमा हिउँ पग्लिँदा हिमाली क्षेत्रका भिरालो भूभाग र हिमनदीले बनाएका मोरेन बाँधयुक्त तालहरू  कमजोर बन्दै गएका छन्, जसले गर्दा तटीय क्षेत्रमा बस्ने जनमानस र पूर्वाधार संकटमा परेका छन् ।
नेपालमा नयाँ चुनौतीः ’थर्मोकास्र्ट’ र पर्माफ्रोस्ट क्षयीकरण

पछिल्ला वर्षहरूमा हिमाली भेगमा अनौठा र नयाँ खालका विपद् देखिन थालेका छन् । उदाहरणका लागि, २०८२ जेठ १ गते हुम्लाको नाम्खा गाउँपालिकास्थित तिल गाउँमा विना वर्षा नै बाढी र सुक्खा पहिरो जाँदा १८ घरपरिवार विस्थापित भएका थिए । प्राविधिक टोलीको अध्ययनले उक्त घटना ‘थर्मोकास्र्ट’ का कारण भएको निष्कर्ष निकालेको थियो । उच्च हिमाली क्षेत्रमा लामो समयदेखि जमिनमुनि जमेर बसेको ढुंगा, माटो र गेग्रानलाई ’पर्माफ्रोस्ट’ भनिन्छ र तापक्रम वृद्धिका कारण यो पग्लिने प्रक्रियालाई ‘थर्मोकास्र्ट’ भनिन्छ । इसिमोडका वरिष्ठ जलवायु परिवर्तनविज्ञ अरुणभक्त श्रेष्ठका अनुसार, पहिले अफगानिस्तानमा देखिएको यस्तो दुर्लभ घटना नेपालमा पहिलो पटक देखिएको हो, जसले नेपालमा पर्माफ्रोस्ट क्षयीकरण सुरु भइसकेको संकेत गर्छ ।

अन्तरसम्बन्धित विपद् र एकीकृत पूर्वतयारीको आवश्यकता

अहिले खडेरी, अत्यधिक गर्मी, आकस्मिक बाढी, पहिरो र हिमताल विस्फोट जस्ता घटनाहरू एकअर्कासँग साङ्लो जस्तै जोडिएर (शृंखलाबद्ध रूपमा) आउन थालेका छन् । इसिमोडका हाइड्रोलोजिस्ट मनीष श्रेष्ठका अनुसार अब प्रत्येक विपद्लाई छुट्टाछुट्टै नभई एकीकृत प्रणालीमार्फत एकैसाथ सम्बोधन गरिनुपर्छ । कमजोर भू–बनोट, तीव्र सहरीकरण र पूर्वाधार विस्तारका कारण नेपाल, भारतका उत्तरी/उत्तर–पूर्वी राज्यहरू तथा पाकिस्तानका नदी किनार र भिरालो क्षेत्र उच्च जोखिममा छन् ।

सरकारी तयारीः २४सै घण्टा हटलाइन र स्थानीय तहको सक्रियता

सम्भावित मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आफ्नो तयारी पूरा भएको जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा उद्धार टोलीहरू सतर्क राखिएको छ । सर्वसाधारणका लागि निःशुल्क र सजिलो नम्बर १२३४ को टेलिफोन सेवा सञ्चालनमा ल्याइएको छ । यसपटक यो नम्बरमा गरिने फोन सिधै सम्बन्धित जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा जोडिने व्यवस्था मिलाइएको छ, जसले गर्दा स्थानीय स्तरमै तुरुन्त उद्धार र राहत पुग्न सकोस् । बाढी र पहिरोले सडक अवरुद्ध भएमा तत्काल खुलाउन प्रत्येक जिल्लामा एक्स्काभेटर (भ्हअबखबतयच) को व्यवस्था गरिएको छ ।

तत्कालको मौसम ः अस्पष्ट मोडल र सजगताको अपिल

हाल देशैभरि हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिए पनि कतै बादल मात्र लाग्ने त कतै पानी नै नपर्ने विरोधाभासपूर्ण स्थिति छ। मौसमविद् विनोद पोखरेलका अनुसार विभिन्न मौसमी मोडलहरूले भारी वर्षा हुने स्थान र मात्रा फरक–फरक (कसैले पूर्व त कसैले पश्चिम) देखाइरहेका छन् । यद्यपि, शुक्रबार बेलुकादेखि आइतबारसम्म केही स्थानमा छोटो अवधिको भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले सम्भावित जोखिमबाट बच्न सबैलाई सजग रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८३ असार २७ गते शनिबार