२०८३ भदौ १० , बुधबार
सम्पादकीय

आर्थिक भविष्य पनि उज्यालो बनोस्



कर्णालीलाई जलविद्युत्को प्रचुर सम्भावना भएको प्रदेशका रूपमा वर्षौंदेखि चर्चा गरिँदै आएको छ । तर सम्भावनालाई वास्तविक उत्पादनमा बदल्ने चरणमा पुग्न नसक्दा कर्णालीको जलस्रोत अझै अपेक्षित रूपमा उपयोग हुन सकेको छैन । यही पृष्ठभूमिमा कालीकोट भएर बग्ने तिला कर्णाली नदीमा निर्माण हुने तिला–१ र तिला–२ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन हुनु कर्णालीका लागि महत्वपूर्ण उपलब्धि हो । ४ सय २० मेगावाट क्षमताको तिला–२ का लागि करिब ७० अर्ब ७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । त्यसको ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीबाट लगानी जुटाउने व्यवस्था गरिएको छ । दैनिक उच्च मागका समयमा ६ घण्टासम्म विद्युत् उत्पादन गर्न सक्ने अर्धजलाशययुक्त प्रकृतिको यो आयोजनाले राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् आपूर्ति व्यवस्थापनमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

त्यस्तै ४ सय ४० मेगावाट क्षमताको तिला–१ को पनि वित्तीय व्यवस्थापन पूरा भएको छ । हाल नेपाल विद्युत् प्राधिकरणसँग २ सय ९८ मेगावाटको विद्युत् खरिद सम्झौता भएकाले सोही क्षमतामा निर्माण अघि बढाउने तयारी छ । तर मुख्य संरचना भने भविष्यमा थप क्षमता विस्तार गर्न मिल्ने गरी ४ सय ४० मेगावाटकै बनाउने योजना आफैंमा सकारात्मक छ । यी आयोजना केवल विद्युत् उत्पादनका परियोजना होइनन् । कर्णालीको आर्थिक रूपान्तरणका आधार बन्न सक्ने सम्भावना बोकेका परियोजना हुन् । निर्माणका क्रममा रोजगारी सिर्जना हुनेछ, स्थानीय व्यवसाय चलायमान हुनेछन् र दीर्घकालमा प्रदेशको राजस्व तथा आर्थिक गतिविधिमा योगदान पुग्नेछ । तर यसको लाभ स्थानीय नागरिकसम्म कति पुग्छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि रोजगारी, शेयर सहभागिता, पूर्वाधार विकास र सामाजिक उत्तरदायित्वलाई प्रभावकारी बनाउन आवश्यक छ । सबैभन्दा महत्वपूर्ण कुरा, अब वित्तीय व्यवस्थापनपछि आयोजना निर्माणमा अनावश्यक ढिलाइ हुनुहुँदैन । कर्णालीमा वर्षौंदेखि आयोजना घोषणा हुने तर निर्माण सम्पन्न हुन वर्षौं लाग्ने प्रवृत्ति दोहोरिनु हुँदैन । सडक, प्रसारण लाइन, वातावरणीय व्यवस्थापन र स्थानीय तहसँगको समन्वयलाई समान प्राथमिकता दिनुपर्छ । तिला नदीमा अघि बढेका यी आयोजनाले कर्णालीको जलस्रोतलाई कर्णालीकै समृद्धिसँग जोड्ने अवसर दिएका छन् । अब चुनौती लगानी जुटाउनु मात्र होइन, समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्नु हो । तिलाको पानीबाट निस्कने बिजुलीले राष्ट्रिय ग्रिड उज्यालो पार्ने मात्र होइन, कर्णालीका गाउँबस्तीको आर्थिक भविष्य पनि उज्यालो पार्न सक्नुपर्छ । यही नै यी आयोजनाको वास्तविक सफलता हुनेछ ।

प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार