२०८३ असार ३० , मंगलबार

सुत्केरीका लागि वडा कार्यालयकाे पोषण योजना



रुकुम पश्चिम । बाँफिकोट गाउँपालिका दुई वडा कार्यालयले सुत्केरी आमाको पोषण सुधार गर्ने उद्देश्यले अण्डा र खाने तेल निःशुल्क वितरण गर्ने योजना सार्वजनिक गरेको छ । आगामी साउन एक गतेदेखि लागू हुने यस कार्यक्रममार्फत सुत्केरी आमालाई पोषणयुक्त आहार उपलब्ध गराउनुका साथै समयमै जन्मदर्ता गर्न प्रोत्साहन गर्ने लक्ष्य राखिएको वडा कार्यालयले जनाएको छ ।

वडा अध्यक्ष प्रकाश खत्रीका अनुसार नवजात शिशुको जन्म भएको ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराउने परिवारलाई एक क्यारेट (३० वटा) अण्डा र एक लिटर खाने तेल निःशुल्क उपलब्ध गराइनेछ । उनले सुत्केरी आमाको स्वास्थ्य र पोषणमा विशेष ध्यान दिनुपर्ने भएकाले यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको बताए । “सुत्केरी अवस्थामै पर्याप्त पोषण पाउनु आमा र शिशु दुवैका लागि आवश्यक हुन्छ । त्यससँगै समयमै जन्मदर्ता गर्ने बानीको विकास होस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याएका हौँ,” वडा अध्यक्ष खत्रीले भने ।

उनका अनुसार धेरै परिवारले विभिन्न कारणले जन्मदर्ता ढिलो गर्ने गरेका छन् । यसले कानुनी प्रक्रिया र सरकारी सेवा प्राप्त गर्न समस्या हुने भएकाले पोषणसँगै जन्मदर्तालाई पनि जोडेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रम कार्यान्वयनका लागि वडा कार्यालयले आफ्नो समपूरक कोषबाट ८५ हजार रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ ।

आवश्यकता र प्रभावकारिताका आधारमा आगामी वर्षहरूमा पनि कार्यक्रमलाई निरन्तरता दिने तयारी रहेको वडा कार्यालयको भनाइ छ । स्थानीयवासीले सुत्केरी आमाको पोषणमा केन्द्रित यस्तो कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै समयमै जन्मदर्ता गराउने संस्कार विकास गर्न पनि सहयोग पुग्ने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : २०८३ असार ३० गते मंगलबार