२०८३ असार ३० , मंगलबार

कृषि विकास कार्यालयको ८६ प्रतिशत वित्तीय प्रगति



हुम्ला । कर्णाली प्रदेश सरकारअन्तर्गतको कृषि विकास कार्यालय, हुम्लाले चालु आर्थिक वर्ष २०८२/८३ मा ८५ दशमलव ९२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ । कृषि उत्पादन वृद्धि, किसान लक्षित कार्यक्रम तथा कृषि पूर्वाधार विकासका विभिन्न योजना कार्यान्वयन गर्दै कार्यालयले उक्त प्रगति हासिल गरेको हो । कार्यालय प्रमुख चुडामणि पन्तका अनुसार चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले कार्यालयलाई कुल नौ करोड ६७ लाख ७३ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

आर्थिक वर्षको अन्त्यसम्ममा आठ करोड ३१ लाख ३५ हजार रुपैयाँ खर्च भएको छ । पुँजीगततर्फ तीन करोड १५ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएकोमा दुई करोड ६६ लाख ४६ हजार रुपैयाँ खर्च भई ८४ दशमलव ४० प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । यस बजेटबाट कृषि पूर्वाधार निर्माण, कृषि उपकरण सहयोग तथा उत्पादन वृद्धि लक्षित कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । त्यसैगरी चालुतर्फ विनियोजित छ करोड ५२ लाख तीन हजार रुपैयाँमध्ये पाँच करोड ६४ लाख ८९ हजार रुपैयाँ खर्च भई ८६ दशमलव ६४ प्रतिशत वित्तीय प्रगति हासिल भएको प्रमुख पन्तले जानकारी दिए ।

चालु बजेटबाट किसानलाई तालिम, प्राविधिक सेवा, बीउबिजन तथा कृषि सामग्री वितरण, क्षमता अभिवृद्धि र कृषि प्रविधि विस्तारका कार्यक्रम सञ्चालन गरिएको थियो । प्रमुख पन्तका अनुसार दुर्गम जिल्लाको चुनौतीपूर्ण भौगोलिक अवस्थाका बाबजुद अधिकांश कार्यक्रम लक्ष्यअनुसार सम्पन्न भएका छन् । कार्यालयले स्थानीय तहसँग समन्वय गरेर व्यावसायिक कृषि प्रवर्द्धन, खाद्य सुरक्षा सुदृढीकरण तथा किसानको आयआर्जन वृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेको थियो । आगामी आर्थिक वर्षमा पनि आधुनिक कृषि प्रविधिको विस्तार, उत्पादन वृद्धि, युवा सहभागिता र बजारमुखी कृषि प्रणालीलाई थप प्रभावकारी बनाउने योजनासहित कार्यक्रम सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार ३० गते मंगलबार