२०८३ साउन ७ , बिहीबार
सम्पादकीय

बुलबुले बचाऔँ, सुर्खेतको पहिचान जोगाऔँ



सुर्खेत भन्नेबित्तिकै नेपालीको मनमा सबैभन्दा पहिले झल्किने नाम हो । बुलबुले, यो केवल एउटा ताल वा उद्यान होइन, यो कर्णालीको सांस्कृतिक चिनारी, प्राकृतिक सम्पदा र पर्यटनको प्रतीक हो। लोकगीतमा अमर बनेको बुलबुलेले दशकौँदेखि सुर्खेतलाई राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराएको छ । तर आज यही ऐतिहासिक सम्पदा आफ्नै अस्तित्वको संकटसँग जुधिरहेको छ । बुलबुलेको वास्तविक पहिचान जमिनमुनिबाट स्वतः निस्कने प्राकृतिक पानी र त्यसबाट निरन्तर बग्ने ऐतिहासिक ढुङ्गेधाराहरू थिए । आज ती धाराहरू वर्षायाममै सुक्नु सामान्य घटना होइन, यो प्रकृतिको गम्भीर चेतावनी हो । यदि बुलबुलेको मूल स्रोत नै हरायो भने बाँकी रहने केवल कंक्रीटका संरचना मात्र हुन्, बुलबुलेको आत्मा होइन ।

विकास आवश्यक छ, तर प्रकृतिको मूल्य चुकाएर गरिने विकास दीगो हुँदैन । सौन्दर्यीकरणका नाममा संरचना निर्माण गर्नु वा नयाँ ताल विस्तार गर्नु गलत होइन । तर त्यसअघि पर्याप्त भूगर्भीय अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन र प्राकृतिक जलस्रोतको वैज्ञानिक परीक्षण हुनुपथ्र्यो । अहिले पानीको स्रोत मोडिएको आशंका, सयौँ रुख कटान र जैविक विविधतामा परेको असरले सम्बन्धित निकायको योजनामाथि गम्भीर प्रश्न उठाएको छ । बुलबुले वीरेन्द्रनगर नगरपालिकाको प्रमुख आम्दानीको स्रोत पनि हो। वार्षिक करोडौँ रुपैयाँ राजस्व दिने यस पर्यटकीय स्थलमा आज पर्यटकहरू सुक्खा धारा हेरेर फर्किन बाध्य छन् । यसले केवल पर्यटनलाई होइन, सुर्खेतको पहिचान र स्थानीय अर्थतन्त्रलाई समेत असर पार्ने निश्चित छ ।

अब दोषारोपण गर्ने समय होइन, समाधान खोज्ने समय हो । प्राकृतिक मूल किन सुक्यो भन्ने विषयमा स्वतन्त्र विज्ञ टोलीमार्फत तत्काल वैज्ञानिक अध्ययन हुनुपर्छ । यदि निर्माणका कारण पानीको स्रोत डाइभर्ट भएको हो भने त्यसलाई पूर्वअवस्थामा फर्काउने प्राविधिक उपाय तत्काल लागू गरिनुपर्छ । बुलबुलेको संरक्षण कुनै एक कार्यालय वा स्थानीय सरकारको मात्र जिम्मेवारी होइन; यो कर्णालीकै साझा सम्पदाको संरक्षणको विषय हो । बुलबुलेको पानी सुकेको छ, तर त्यससँगै सुर्खेतको पहिचान पनि सुक्न दिनु हुँदैन । इतिहासले दिएको सम्पदा जोगाउनु आजको पुस्ताको दायित्व हो । यदि अहिले पनि संवेदनशील भएर कदम चालिएन भने भोलिका पुस्ताले लोकगीतमा गुञ्जिएको बुलबुलेको कथा मात्र सुन्नेछन्, वास्तविक बुलबुले देख्न पाउने छैनन् । त्यसैले अब विकास र संरक्षणबीचको सन्तुलन कायम गर्दै बुलबुलेको प्राकृतिक अस्तित्व जोगाउने निर्णायक पहल तत्काल सुरु गरिनुपर्छ ।

प्रकाशित मिति : २०८३ साउन ७ गते बिहीबार