सुर्खेत । कर्णाली प्रदेशमा जलवायु परिवर्तन, तापक्रम वृद्धि र तीव्र शहरीकरणसँगै डेङ्गु संक्रमणको जोखिम उल्लेखनीय रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको तथ्याङ्कले प्रदेशमा डेङ्गु संक्रमणले नयाँ चुनौती थपिएको देखाएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनुसार आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि असार मसान्तसम्म प्रदेशभर ३ हजार ९ सय ७९ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । यो संख्या अघिल्ला वर्षहरूको तुलनामा निकै उच्च हो । यसमा सबैभन्दा बढी प्रभावित जिल्ला सुर्खेत बनेको छ । प्रदेशका कुल संक्रमितमध्ये ३ हजार ५ सय ४२ जना सुर्खेतका मात्रै रहेका छन् । यसले कर्णालीको राजधानी वीरेन्द्रनगर तथा आसपासका क्षेत्रमा डेङ्गुको संक्रमण तीव्र रूपमा फैलिएको स्पष्ट देखाउँछ । निर्देशनालयका अनुसार रुकुम पश्चिममा ३ सय ५७, दैलेख र सल्यानमा २८/२८, कालिकोटमा ९, मुगुमा ४, जुम्ला र डोल्पामा ३/३ तथा हुम्लामा २ जनामा संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार डेङ्गु पहिले मुख्यत् तराई तथा गर्मी क्षेत्रको रोग मानिन्थ्यो । तर पछिल्ला केही वर्षयता जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा एडिज जातका लामखुट्टे हिमाली र उच्च पहाडी क्षेत्रमा समेत सहज रूपमा बाँच्न थालेका छन् । यही कारणले पहिले संक्रमण नदेखिएका जिल्लाहरूमा समेत डेङ्गु फैलिन थालेको हो । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार अहिलेको अवस्था सामान्य मान्न मिल्दैन । समयमै नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गर्न नसकिए आगामी वर्षहरूमा संक्रमण अझ बढ्न सक्ने जोखिम रहेको उनीहरूको भनाइ छ ।
लार्भा नष्ट अभियानलाई प्राथमिकता
डेङ्गु नियन्त्रणका लागि प्रदेशभर स्थानीय तहसँगको सहकार्यमा विभिन्न अभियान सञ्चालन भइरहेका छन । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका सरुवा रोग फोकल पर्सन उदय थापाका अनुसार लामखुट्टेको प्रजनन रोक्नु नै संक्रमण नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएकाले “सफा शुक्रबार“ अभियानलाई निरन्तर सञ्चालन गरिएको छ । उनका अनुसार प्रत्येक शुक्रबार सरकारी कार्यालय, विद्यालय, सार्वजनिक स्थल तथा समुदायमा पानी जम्ने स्थान खोज्ने, लामखुट्टेका लार्भा नष्ट गर्ने तथा सरसफाइ गर्ने अभियान सञ्चालन भइरहेको छ ।
उनले घर वरपरका गमला, पुराना टायर, खाली ड्रम, बाल्टिन, कुलर, छतमा पानी जम्ने स्थान तथा अन्य भाँडाकुँडामा लामो समयसम्म पानी नराख्न आग्रह गरेका छन् । डेङ्गु फैलाउने एडिज लामखुट्टे सफा पानीमा प्रजनन गर्ने भएकाले घरपरिसर सफा राख्नु नै सबैभन्दा प्रभावकारी रोकथाम भएको उनको भनाइ छ । स्वास्थ्यकर्मीहरूका अनुसार ज्वरो आउने, टाउको अत्यधिक दुख्ने, आँखाको पछाडि दुखाइ हुने, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा देखिने जस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुग्नुपर्ने हुन्छ । समयमा उपचार नपाउँदा डेङ्गुले जटिल रूप लिन सक्ने भएकाले स्वयं औषधि सेवन नगरी चिकित्सकको सल्लाह लिनुपर्ने उनीहरूको सुझाव छ ।
मानसिक स्वास्थ्य पनि गम्भीर चुनौती
यसैबीच कर्णालीमा शारीरिक रोगसँगै मानसिक स्वास्थ्यसम्बन्धी समस्या पनि बढ्दो चिन्ताको विषय बनेको छ। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले आयोजना गरेको सरोकारवाला तथा पत्रकारबीचको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले पछिल्लो समय मानसिक रोग, तनाव तथा मनोसामाजिक समस्यामा उल्लेखनीय वृद्धि भएको बताएका छन् । कार्यक्रममा सहभागीहरूले आत्महत्या, आत्मदाहजस्ता दुःखद घटनाहरू बढ्दै जानुले मानसिक स्वास्थ्यलाई अब स्वास्थ्य नीतिको केन्द्रमा राख्नुपर्ने आवश्यकता औँलयाए । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका आयुर्वेद चिकित्सक डा. शंकर रिजालले मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवासँग एकीकृत गरेर समुदायसम्म पु¥याउनुपर्नेमा जोड दिए । उनका अनुसार मानसिक समस्या लुकाउने प्रवृत्तिले अवस्था झन् जटिल बनाइरहेको छ ।
उनले मानसिक स्वास्थ्यसम्बन्धी समस्या पनि अन्य शारीरिक रोगसरह उपचारयोग्य भएकाले समयमै परामर्श र उपचार लिनुपर्ने बताए । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख करुणा भट्टराईले समुदायस्तरमै पुगेर मनोसामाजिक परामर्श, मानसिक स्वास्थ्यसम्बन्धी सचेतना तथा जोखिम समूहको पहिचान गर्ने कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् । उनका अनुसार विद्यालय, समुदाय, महिला समूह तथा स्थानीय तहसँग समन्वय गरेर मानसिक स्वास्थ्यसम्बन्धी सेवा विस्तार गर्ने योजना अघि बढाइएको छ ।
दुई चुनौतीसँग एकैपटक जुध्दै कर्णाली
एकातिर डेङ्गु संक्रमण तीव्र रूपमा फैलिँदै जानु र अर्कोतर्फ मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै जानुले कर्णाली प्रदेशको सार्वजनिक स्वास्थ्य क्षेत्र नयाँ चुनौतीको सामना गरिरहेको छ । स्वास्थ्य विज्ञहरूका अनुसार डेङ्गु नियन्त्रणका लागि समुदायको सक्रिय सहभागिता, नियमित सरसफाइ र लामखुट्टेको प्रजनन नियन्त्रण अपरिहार्य छ । त्यस्तै मानसिक स्वास्थ्यका लागि सचेतना, परामर्श सेवा विस्तार, सामाजिक समर्थन र सहज उपचार पहुँच सुनिश्चित गर्न आवश्यक छ । पछिल्लो समय सरकारले मानसिक स्वास्थ्यलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने तयारी गरिरहेको छ भने डेङ्गु नियन्त्रणका लागि पनि स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच समन्वयात्मक अभियानलाई अझ प्रभावकारी बनाउने योजना अघि सारेको छ ।








