२०८३ साउन ८ , शुक्रबार
सुर्खेतमा ग्याँसमा कालोबजारी

आफु खुशी मूल्य निर्धारण, मारमा विद्यार्थी र विपन्न समुदायका नागरिक

आयल निगम प्रमुख भन्छन् ग्याँसको अभाव छैन, बजारमा भने राति २ बजेदेखि सर्वसाधारण लाइनमा सास्ती भोग्दै । आजदेखि ‘एक व्यक्ति, एक सिलिन्डर’ र प्रहरीको कडा निगरानी हुने


नविन सुवेदी । सुर्खेतमा पछिल्लो समय खाना पकाउने ग्याँसको चरम अभाव देखिएको छ । सर्वसाधारण नागरिकहरू बिहान २–३ बजेदेखि नै खाली सिलिन्डर बोकेर लाइनमा बस्न बाध्य छन् । तर घण्टौँ लाइन बसेपनि उनीहरु ग्याँस नपाई खाली हात घर फर्कने गरेका छन् । नागरिकको दैनिक आवश्यकतासँग जोडिएको विषयसँग तीनै तहका सरकारहरु मौन बसेपछि उपभोक्ताहरु आक्रोसित बन्दै गएका छन् । अवस्था कतिसम्म जटिल बनेको छ भने, ग्याँस डिलरहरूमा धकेलाधकेल र सामान्य हातहालाहालको स्थिति सिर्जना भएपछि व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आउने गरेको छ ।

मध्यपूर्वि देश इरानमाथि अमेरिका र इजरायलले आक्रमण थालेपछि विश्वभर इन्धन आपूर्तिको श्रृंखला नराम्ररी प्रभावित बनेको छ । जसको असर नेपालीको भान्सासम्म परिरहेको छ । इन्धनमा भएको अस्वभाविक मूल्यवृद्धिका कारण महंगीको मारमा परेका आमा सर्वसाधारणले घण्टौं लाइन लाग्दासमेत ग्याँस पाउन सकेका छैनन् ।

अन्तर्राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै सरकारले आधा सिलिन्डर मात्रै ग्याँस दिने नीति लिएपछि सर्वसाधारणमा त्रास फैलिएको थियो । पछिल्लो समय पूरै सिलिन्डर बिक्री थालिए पनि मानिसहरूले पुनः अभाव हुने त्रासले घर–घरमा आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गरेर राखेका छन् । नेपाल आयल निगम प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख दीपक घिमिरेका अनुसार बजारमा ग्याँसको नियमित र पर्याप्त आपूर्ति भइरहे पनि उपभोक्ताले नपाएको गुनासो आइरहेको छ ।

किराना पसलहरूले प्रत्येक दिन डिलरमा लाइन लागेर सिलिन्डर लिन थालेपछि वास्तविक उपभोक्ताले ग्याँस पाउन नसकेको घिमिरेले बताए । साथै वीरेन्द्रनगरका डिलरहरूबाट बाहिरी जिल्लाका उपभोक्ताहरूले समेत ग्याँस लैजाने गरेकाले समस्या थप जेलिएको उनको भनाइ छ । वीरेन्द्रनगरका ग्याँस विक्रेता विनोद दाहालका अनुसार सामान्य अवस्थामा यहाँ मासिक २५ देखि २६ हजार वटा पूरा सिलिन्डर खपत हुन्थ्यो भने अहिले माग दोब्बर पुगेको छ । तथ्यांकअनुसार ग्याँस आपूर्ति ठप्प भएको छैन । सबैभन्दा बढी (करिब १ लाख) ग्राहक रहेको भेरी ग्याँसले मात्रै जेठमा ३२ हजार, असारमा ३९ हजार र साउनको एकै हप्तामा झण्डै ७ हजार सिलिन्डर बिक्री गरिसकेको छ ।

यद्यपि, खाली सिलिन्डर घरमै होल्ड हुनु, किराना व्यापारी तथा एउटै मानिसले पटक–पटक लाइनमा बसेर सिलिन्डर थुपार्नुले पनि ग्याँसको कृत्रिम अभाव देखिएको जनाइएको छ । यस्तै, पहाडी जिल्ला (जस्तैः कालिकोट, दैलेख, जुम्ला) लगायतका जिल्लामा जाने सिलिन्डरहरू गाडीको कोटा नपुगुन्जेल सुर्खेतमै रोकिनुले आपूर्ति चक्र खलबलिएको छ । ग्याँसको कृतिम अभावसँगै कालोबजारीसमेत भइरहेको छ ।

आयल निगम प्रमुख घिमिरेका अनुसार वीरेन्द्रनगर–१० स्थित सूर्योदय बोर्डिङ स्कूल नजिकैको आरसी किराना पसलले सरकारले तोकेको मूल्य दुई हजार ६० मा तीन सय ४० रुपैयाँसम्म असुलेको पाइएको छ । घिमिरेका अनुसार किराना पसलका व्यापारीले राति ३ बजेदेखि लाइन बसेर ग्याँस लिने र ढुवानी खर्चवापत भन्दै बढी रकम लिएको पाइएको हो । ग्याँसको कृतिम अभाव सिर्जना भएपनि वीरेन्द्रनगरमा डेरा भाडामा बस्ने विद्यार्थी तथा विपन्न समुदायका नागरिक मारमा परेका छन् ।

कालोबजारी रोक्न के गर्दै छ प्रशासन ?

यस विषयमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीसँग बुझ्दा अनुगमनको मुख्य काम नेपाल आयल निगमको भए पनि प्रशासनले आवश्यक सहजिकरण गरिरहेको दावी गरे । उपभोक्ता तथा होटल व्यवसायीहरूले धेरै सिलिन्डर होल्ड गर्नाले कृतिम ग्याँस अभाव देखिएको उनको भनाइ छ । रास्वपाको स्टिकर टाँसिएका गाडीमा ग्याँस लुकाइएको वा कसैलाई बदनाम गराउन अभाव सिर्जना गरिएको भन्ने आरोपहरू निराधार रहेको उनको दावी छ । अनुगमनका क्रममा यस्तो पाइएको खण्डमा जोसुकैलाई पनि कारवाही गरिने कार्कीले बताए ।

वीरेन्द्रनगरमा विद्यार्थी, विपन्न समुदाय नागरिक र डेरा गरी बस्नेहरु ग्याँस नपाएर भौतारिदा बजार अनुगमनको अधिकार पाएको वीरेन्द्रनगर नगरपालिका मौन भएर बसेको छ । बजारमा ग्याँसको कृतिम अभाव भएको विषयमा बुझ्न खोज्दा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटा सम्पर्कमा आउन चाहेनन् ।

बजारमा सहज आपूर्ति गराउन र कालोबजारी रोक्न आयल निगम, प्रहरी र जिल्ला प्रशासन कार्यालयको सहकार्यमा आज अर्थात शुक्रबारदेखी प्रहरी र प्रशासनको सहकार्यमा उपभोक्ताको वास्तविक पहिचान गरेर ‘प्रतिव्यक्ति एक सिलिन्डर’ मात्र दिइने व्यवस्था मिलाउन लागिएको जनाइएको छ । लुम्बिनी प्रदेशका ग्याँस उद्योगबाट आउने ग्याँस अधिकृत विक्रेता÷डिलरकहाँ पुगेको परिमाण प्रहरीको रोहवरमा गणना गर्ने र एकिन गरेर मात्र उपभोक्तालाई वितरण गरिने आयल निगमका प्रमुख घिमिरेले बताए । साथै, बजार अनुगमनलाई तीव्र बनाइने उनको भनाई थियो ।

यस्तै, निगमले अवस्था सामान्य नभएसम्मका लागि नयाँ ग्याँस सिलिन्डर बिक्री पूर्ण रूपमा बन्द गरिने जनाएको छ । सुर्खेतमा ग्याँसको आपूर्ति नै रोकिएको भन्दा पनि अनावश्यक भण्डारण, बिचौलिया÷किराना पसलहरूको होल्डिङ र कालोबजारीका कारण कृत्रिम अभाव सिर्जना भएको उपभोक्ताको आरोप छ । प्रशासनले वीरेन्द्रनगरमा आपूर्ति हुने ग्याँसको वितरण पारदर्शी बनाउने र अवैध रूपमा ग्याँस लुकाउने र तोकिएको मूल्यभन्दा बढी रकम लिनेमाथि तत्काल कानुन बमोजिम कडा कारवाही गरिने जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन ८ गते शुक्रबार