सुर्खेत । सुर्खेतका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मराज जोशीको डेढ महिना नपुग्दै सरुवा भएको छ । गत असार २ गते मात्रै सुर्खेतको प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी सम्हाल्न आएका जोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा सोअन्तर्गत सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको सरुवा गर्ने निर्णय गरेको हो । पछिल्लो समय सुर्खेत जिल्लामा चुलिएको ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थालाई सहज बनाउन नसकेको आरोप उनीमाथि लागेको थियो । मध्यपूर्वको युद्धका कारण उत्पन्न हुन सक्ने सम्भावित इन्धन संकटलाई ध्यानमा राख्दै सरकारले आधा सिलिन्डर मात्र ग्यास बिक्री वितरण गर्ने नियम ल्याएको थियो ।
तर पछिल्लो समय भारतबाट ग्यासको आपूर्ति सहज भएसँगै बजारमा पूर्ण (भरी) सिलिन्डर ग्यास बिक्री वितरण गर्न थालिएपछि सुर्खेतमा ग्यासको गम्भीर अभाव सिर्जना भएको थियो । उक्त समस्या समाधान गर्न र ग्यास आपूर्तिलाई व्यवस्थित बनाउन नसकेकै कारण उनको छोटो समयमै सरुवा भएको जनाइएको छ ।








