सल्यान । सल्यानको प्रमुख व्यापारिक केन्द्र मानिने श्रीनगरको बसपार्क लामो समयसम्म अस्तव्यस्त र दयनीय अवस्थामा गुज्रिरहेको थियो । बसपार्कमा सार्वजनिक तथा निजी सवारीसाधन पार्किङका लागि कुनै स्पष्ट र निश्चित व्यवस्था थिएन । विभिन्न गन्तव्यका लागि सञ्चालन हुने सार्वजनिक यातायातका टिकट काउन्टरहरू समेत मुख्य सडकमै सञ्चालन हुने गर्दथे । सवारीसाधन जथाभावी रोक्ने गरिएकाले हिउँदको समयमा अत्यधिक धुलो र बर्खाको समयमा हिलोको सास्तीले यात्रु, सवारी चालक र स्थानीय व्यापारी सबैलाई हैरान बनाएको थियो ।

यसले श्रीनगर बजारको सहरी सौन्दर्य मात्र बिगारेको थिएन, सडक सुरक्षा र दुर्घटनाको जोखिमलाई समेत बढावा दिएको थियो । वर्षौँदेखि कायम रहेको यो विकराल अव्यवस्था अन्त्य गर्न शारदा नगरपालिकाले २ माघ २०७९ मा औपचारिक निर्णय गर्दै बसपार्क क्षेत्रका अनधिकृत संरचना हटाउने प्रक्रिया अघि बढाएको थियो । तर बसपार्क क्षेत्रमा वर्षौँदेखि बनेका अव्यवस्थित घर–टहरा हटाउन सहज भने थिएन । नगरपालिकाले पटक–पटक सार्वजनिक सूचना जारी गर्दा पनि स्थानीयले अटेर गरेपछि अन्ततः डोजर प्रयोग गर्नुपर्ने बाध्यता आयो । तत्कालीन समयमा डोजर चलाउने निर्णय निकै विवादित बन्यो ।
यसलाई कसैले स्थानीय सरकारको साहसिक कदम भने त कसैले विकासका नाममा गरिएको कठोर हस्तक्षेपका रूपमा टिप्पणी गरे । कतिपयले त यो बसपार्क निर्माणको परियोजना नै बीचमै अलपत्र पर्ने आशंकासमेत व्यक्त गरेका थिए । शुरुवाती चरणमा बजेट अभाव र अनधिकृत संरचना हटाउँदाको खिचातानीका कारण निर्माण कार्य केही समय सुस्त बन्यो, जसले परियोजना पूरा नहुने चिन्ता पनि बढायो ।
तर शारदा नगरपालिकाको दृढ पहलकदमीसँगै सङ्घीय सरकार, कर्णाली प्रदेश सरकार र स्थानीय नागरिकको एकीकृत सहयोग जुटेपछि परियोजनाले गति लियो । कुल पाँच करोड ६० लाख रुपैयाँको लगानीमा अत्याधुनिक बसपार्क निर्माण सम्पन्न भएको छ । यस परियोजनाअन्तर्गत दुई वटा ३४ कोठे ठूला व्यापारिक भवन, ३५ वटा स्टल, ३४ वटा सटर र व्यवस्थित पार्किङ क्षेत्र निर्माण गरिएको छ, जसले यात्रु र व्यवसायी दुवैलाई सहज वातावरण उपलब्ध गराएको छ ।
यातायात व्यवस्थापन र बजारको मुहारमा व्यापक सुधार
आधुनिक बसपार्क सञ्चालनमा आएसँगै श्रीनगर बजारको अव्यवस्थित पार्किङ र सडक जामको समस्या पूर्ण रूपमा हटेको छ । सल्यान–रुकुम यातायात प्रालिका अनुसार पहिले सडकमै काउन्टर राखेर गाडी रोक्नुपर्ने बाध्यता रहेकोमा अहिले बसपार्कभित्रै व्यवस्थित पार्किङ र काउन्टर सञ्चालन हुँदा सार्वजनिक यातायात सेवा सुरक्षित, यात्रुमैत्री र सहज बनेको छ । शारदा नगरपालिका–१ का स्थानीय रमेश चन्दका अनुसार पहिले अस्तव्यस्त गाडी पार्किङले बजारको सौन्दर्य हराएको र व्यापार गर्न समस्या भएकोमा अहिले सबै अव्यवस्थाको अन्त्य भई बसपार्कको मुहार नै फेरिएको छ ।
नगरपालिकाका लागि दीर्घकालीन आम्दानीको दरिलो आधार
नयाँ बसपार्क केवल यात्रु चढ्ने र ओर्लिने स्थानमा मात्र सीमित नरही नगरपालिकाको दीर्घकालीन आर्थिक आधारका रूपमा विकसित भएको छ । ठेक्का प्रक्रियामार्फत यसको सञ्चालनको जिम्मा ’जय बागेश्वरी कन्स्ट्रक्सन एन्ड सप्लायर्स’ ले लिएको छ । सम्झौताअनुसार उक्त कम्पनीले नगरपालिकालाई वार्षिक करिब ५२ लाख रुपैयाँ राजस्व बुझाउने गरेको छ । नगरप्रमुख प्रकाश भण्डारीका अनुसार पूर्वाधार निर्माण गर्नु मात्र ठूलो कुरा नभई त्यसलाई आम्दानीको स्थायी स्रोत बनाउनु महत्त्वको विषय थियो। यो राजस्व प्राप्तिको बाटोले भविष्यमा नगरका अन्य पूर्वाधार विकास गर्न आर्थिक स्रोत उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
तीन वर्षअघि डोजरको आवाजले चर्चा र विवाद कमाएको श्रीनगर बसपार्क क्षेत्र आज सल्यानको सहरी पूर्वाधार, सहज यातायात सेवा र आर्थिक सम्भावनाको प्रतीक बनेको छ । नगरप्रमुख भण्डारी यसलाई स्थानीय विकासको ऐतिहासिक क्षणका रूपमा सम्झन्छन् । श्रीनगर बसपार्कको यो सफल रूपान्तरणले के स्पष्ट पारेको छ भने, यदि स्थानीय सरकारसँग दूरदृष्टिसहितको इच्छाशक्ति, दह्रो राजनीतिक नेतृत्व र नागरिकको साथ रहने हो भने विकासका जस्तोसुकै जटिल र चुनौतीपूर्ण परियोजनाहरू पनि सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ ।








