२०८३ साउन १७ , आइतबार
फ्रन्ट पेज

कर्णालीमा तीव्र गतिका कारण ६० प्रतिशत दुर्घटना

अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो आव २०८२/०८३ मा सवारी दुर्घटनाको संख्या २३ प्रतिशतले बढ्यो


सुर्खेत । कर्णालीका पहाडी तथा दुर्गम सडकहरूमा दिनप्रतिदिन सवारी दुर्घटनाको जोखिम भयावह बन्दै गएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको पछिल्लो तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा हुने अधिकांश सवारी दुर्घटनाको मुख्य र प्रमुख कारण ‘तीव्र गति’ बनेको छ । अप्ठ्यारो भौगोलिक बनावट, साँघुरा घुम्तीहरू, जीर्ण सडक पूर्वाधार र सवारी चालकको चरम लापरबाहीका कारण कर्णालीका सडकहरूमा बर्सेनि सयौँ मानिसले अकालमा ज्यान गुमाउनुका साथै ठूलो संख्यामा मानिसहरू अङ्गभङ्ग र घाइते हुने गरेका छन् ।

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न चेतनामूलक तथा नियन्त्रणमुखी प्रयासहरू गरिरहेको दाबी गरे पनि दुर्घटनाको ग्राफ भने निरन्तर उकालो लागिरहेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मुकुन्दप्रसाद रिजालका अनुसार कर्णालीमा हुने कूल दुर्घटनामध्ये ६० प्रतिशतभन्दा बढी तीव्र गतिका कारण हुने गरेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा कर्णाली प्रदेशभर कूल १ हजार ८६ वटा सवारी साधन दुर्घटनामा परेका थिए । तीमध्ये ६ सय ४४ वटा दुर्घटना तीव्र गतिका कारण भएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ । यस्तै पछिल्लो आर्थिक वर्ष २०८२/०८३ मा आइपुग्दा दुर्घटनाको संख्या बढेर १ हजार १ सय ९७ पुगेको छ । यस वर्ष तीव्र गतिका कारण भएका दुर्घटनाको संख्या अझै बढेर ७ सय ७१ पुगेको छ ।

यी तथ्याङ्कहरूलाई विश्लेषण गर्दा कर्णाली प्रदेशमा समग्र सवारी दुर्घटनाको दर २३ प्रतिशतले वृद्धि भएको देखिन्छ । सडकमा सवारी साधनको उपस्थिति तीव्र रूपमा बढ्नु र गति नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन हुन नसक्नु नै दुर्घटना बढ्नुको प्रमुख कारण मानिएको छ ।

कर्णालीमा हुने सवारी दुर्घटनाको उमेरगत विश्लेषण गर्दा समाजका सबैभन्दा उत्पादनशील र सक्रिय उमेर समूहका युवाहरू बढी जोखिममा परेको देखिएको छ । प्रहरीको तथ्याङ्क अनुसार कर्णालीमा हुने कुल दुर्घटनाको ४४ प्रतिशत हिस्सा २६ देखि ४० वर्ष उमेर समूहका चालकहरूबाट हुने गरेको छ । उमेरको यो समूहका चालकहरूमा ओभरटेक गर्ने, तीव्र गतिमा गाडी चलाउने, मादक पदार्थ वा लागूऔषध सेवन गरेर सवारी चलाउने र सडक अनुशासनको पालना नगर्ने प्रवृत्ति बढी देखिएकाले यो उमेर समूहबाट दुर्घटना बढी हुने गरेको प्रहरीको निष्कर्ष छ ।

अग्रस्थानमा मोटरसाइकल

कर्णालीका सडकमा साना तथा ठूला विभिन्न प्रकारका सवारी साधनहरू सञ्चालनमा रहे पनि सबैभन्दा बढी दुर्घटनामा पर्ने सवारी साधनमा दुईपाग्रे मोटरसाइकल तथा स्कुटर अग्रस्थानमा रहेका छन् । आर्थिक वर्ष २०८२/०८३ को तथ्याङ्क अनुसार कर्णालीमा दुर्घटनामा परेका कूल सवारी साधनमध्ये ४७ प्रतिशत त केवल मोटरसाइकल र स्कुटर मात्र रहेका छन् । युवा पुस्तामाझ तीव्र गतिमा मोटरसाइकल हाँक्ने, हेल्मेटको उचित प्रयोग नगर्ने, र क्षमताभन्दा बढी मानिस बोकेर यात्रा गर्ने प्रवृत्तिका कारण यो सवारी साधन सबैभन्दा बढी दुर्घटनाग्रस्त बनेको हो ।

सवारी दर्ता १६ प्रतिशतले वृद्धि, मृत्युदरमा ३ प्रतिशतले कमी

कर्णाली प्रदेशमा सवारी साधनको चाप दिनप्रतिदिन बढ्दो छ । अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो आवमा सवारी साधन दर्तामा १६ प्रतिशतले वृद्धि भएको छ । गाडीको संख्या बढेसँगै सडकमा सवारीको चाप र दुर्घटनाको जोखिम पनि स्वतः बढेको छ । तथापि, समग्र दुर्घटना र घाइतेको संख्या बढे पनि अघिल्लो आर्थिक वर्षको तुलनामा मृत्यु हुनेको संख्यामा भने केही कमी आएको छ । आर्थिक वर्ष २०८१/०८२ मा दुर्घटनाका कारण १ सय ३९ जनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०८२/०८३ मा मृत्यु हुनेको संख्या घटेर १ सय २५ मा झरेको छ ।

अघिल्लो वर्षको तुलनामा मृत्युदरमा ३ प्रतिशतले कमी आएको एसपी रिजालले जानकारी दिए । दुर्घटनालगत्तै प्रहरीको सक्रियता, छिटो उद्धार र समयमै अस्पताल पु¥याएर उपचार गराउन सकिएका कारण मृत्युदरमा केही सुधार आएको मानिएको छ । तर घाइतेको संख्या भने वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा १ हजार ८६ जना घाइते भएकोमा आव २०८२/०८३ मा यो संख्या बढेर १ हजार ९७ पुगेको छ ।

 

प्रकाशित मिति : २०८३ साउन १६ गते शनिबार