अप्ठ्यारो भौगोलिक बनावट, साँघुरा घुम्ती, जीर्ण सडक र त्यसमाथि सवारी चालकको चरम लापरवाहीले कर्णालीका सडकहरू दिनप्रतिदिन भयावह र जोखिमयुक्त बन्दै गएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार कर्णालीमा हुने ६० प्रतिशतभन्दा बढी सवारी दुर्घटनाको एउटै मुख्य कारण हो, ‘तीव्र गति’ । तीव्र गतिका कारण हुने दुर्घटना अघिल्लो वर्ष ६ सय ४४ रहेकोमा पछिल्लो वर्ष बढेर ७ सय ७१ पुगेको छ । सवारी साधन दर्तामा १६ प्रतिशतले वृद्धि हुनु र सोही अनुसार गति नियन्त्रणका प्रभावकारी उपायहरू अवलम्बन गर्न नसकिनुले दुर्घटनालाई थप बल पु¥याएको छ ।

अझ चिन्ताजनक कुरा त के छ भने, देश र समाज निर्माणका मेरुदण्ड मानिने सक्रिय र उत्पादनशील युवा जनशक्ति नै यसको मुख्य सिकार बनिरहेका छन् । कुल दुर्घटनाको ४४ प्रतिशत हिस्सा २६ देखि ४० वर्ष उमेर समूहका चालकहरूबाट हुनुले युवा पुस्तामा देखिने अस्वाभाविक गति मोह, लापरवाहीपूर्वक ओभरटेक गर्ने होड, मादक तथा लागूऔषध सेवन गरेर सवारी हाँक्ने र सडक अनुशासन उल्लङ्घन गर्ने प्रवृत्तिलाई स्पष्ट पार्छ । यसैगरी, कुल दुर्घटनामा ४७ प्रतिशत हिस्सा मोटरसाइकल र स्कुटरको हुनुले दुईपाङ्ग्रे सवारी चालकहरूमा सुरक्षा चेतना र दायित्वबोधको भारी कमी रहेको देखाउँछ ।
दुर्घटना लगत्तैको द्रुत उद्धार र उपचारका कारण अघिल्लो वर्षको तुलनामा मृत्युदरमा ३ प्रतिशतले कमी आई ज्यान गुमाउनेको संख्या १३९ बाट १२५ मा झर्नु पक्कै पनि केही सकारात्मक पक्ष हो । तर घाइते हुनेहरूको संख्या १ हजार ९७ पुग्नुले दीर्घकालीन अङ्गभङ्ग र मानसिक–सामाजिक क्षतिलाई उत्तिकै बढाएको छ । अकालमा ज्यान गुमाउने र अङ्गभङ्ग हुने प्रत्येक व्यक्तिको पछाडि एउटा पूरै परिवारको भविष्य जोडिएको हुन्छ । त्यसैले दुर्घटना घटेपछि उद्धार गर्नुभन्दा दुर्घटना हुनै नदिने पूर्वतयारी र नियन्त्रणतर्फ लाग्नु नै बुद्धिमानी हुन्छ ।
सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले गर्ने परम्परागत चेतनामूलक र नियन्त्रणमुखी प्रयासहरू मात्र अब पर्याप्त देखिएका छैनन् । अब कर्णालीका सडकमा गति नियन्त्रणका लागि प्रविधिको प्रयोग (जस्तैः राडार गन, सिसीक्यामेरा), कडाइका साथ टाइम कार्ड लागू गर्ने व्यवस्था, साँघुरा र जोखिमयुक्त घुम्तीहरूमा सडक सुधार तथा ‘क्र्यास ब्यारियर’ निर्माण गर्ने कार्यलाई प्राथमिकता दिनुपर्छ । साथै लापरवाहीपूर्वक सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने र नशालु पदार्थ सेवन गरेर सवारी हाँक्नेहरूमाथि कानुनी डन्डा कडा पारिनुपर्छ । सडक सुरक्षा कुनै एउटा निकायको मात्र जिम्मेवारी होइन । जबसम्म सवारी चालक स्वयंमा सडक अनुशासन र संयमताको बोध हुँदैन, तबसम्म दुर्घटनाको ग्राफ घट्न सक्दैन । प्रदेश सरकार, सडक विभाग, ट्राफिक प्रहरी र सवारी चालक सबैले आ–आफ्नो ठाउँबाट गम्भीर भएर लाग्ने बेला आएको छ । कर्णालीका सडकलाई ‘मृत्युमार्ग’ बन्नबाट रोक्न ढिला भइसकेको छ, तीव्र गति र लापरवाहीविरुद्ध बेलैमा कडा कदम चालियोस् ।








