सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ स्थित बटला चोक नजिकै भित्री सडक खण्डमा दुई वटा अटो एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको छ । १९ गते राति पिपिराबाट नेवारेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ह ०६७८ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ह १२२४ नम्बरको अटो एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी कर्णाली प्रदेश ०२–००१ ह ०६७८ नम्बरको अटोमा सवार वीरेन्द्रनगर–१३ का करिब २० वर्षीय गगन ठाडा घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ । घाइते ठाडाको हाल प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ ।
उक्त दुर्घटनामा कर्णाली प्रदेश ०२–००१ ह १२२४ नम्बरको अटोमा सवार दुई जना सामान्य घाइते भएका थिए । जाजरकोट जुनिचाँदे गाउँपालिका–७ घर भई हाल वीरेन्द्रनगर–१० बस्ने २७ वर्षीय अनिल घर्ती मगरकाे अनुहार र दुवै हातमा सामान्य चोट लागेकाे र सोही ठाउँका २२ वर्षीय महेन्द्र बस्नेतकाे दाहिने हात र दाहिने खुट्टामा सामान्य चोट लागेकाे थियाे ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुब्बाकुनाबाट प्रहरी नायब निरीक्षक गोविन्द खत्रीको कमाण्डमा ट्राफिकसहित ५ जनाको टोली घट्नास्थलमा खटिएको थियो । घट्नास्थल सुब्बाकुना प्रहरी चौकीबाट करिब २ किलोमिटर पश्चिममा पर्दछ । प्रहरीले कर्णाली प्रदेश ०२–००१ ह ०६७८ नम्बरका अटो चालक वीरेन्द्रनगर–१३ बस्ने २५ वर्षीय धनवीर गाहामगरसहित दुवै अटोलाई नियन्त्रणमा लिएको छ ।








