सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका–७ मा जबर्जस्ती करणी मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा परेको जाहेरीका आधारमा चौकुने गाउँपालिका–७ कोसीकाँडा बस्ने करिब २२ वर्षीय गणेश विकलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार चौकुने गाउँपालिका–७ खनैखोलामा एक महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा उनीविरुद्ध जाहेरी परेको थियो ।

जाहेरीपछि फरार रहेका विकको खोजीका लागि इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट प्रहरी नायब निरीक्षक बुद्धसागर चौधरीको कमाण्डमा चार सदस्यीय प्रहरी टोली परिचालन गरिएको थियो ।
खोजतलासका क्रममा विकलाई २०८३ साउन २२ गते साँझ ६ बजे आफ्नै घरबाट फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउपछि उनको स्वास्थ्य परीक्षण गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।








