२०८३ साउन २३ , शनिबार

सुर्खेतकाे हुर्केस्थित सामुदायिक वनमा लुकाइराखेको तीन थान भरुवा बन्दुक बरामद



सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–८ हुर्केस्थित शान्ति सामुदायिक वनबाट प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी बड्डीचौरबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र परियारको कमाण्डमा खटिएको पाँच सदस्यीय टोलीले शनिबार सामुदायिक वनमा गस्ती गर्ने क्रममा सुकेको सालको रुखको टोड्कामा लुकाइछिपाई राखिएको अवस्थामा दुई थान भरुवा बन्दुक फेला पारेको हो ।

घटनाबारे थप अनुसन्धान तथा मुचुल्काका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा पाँच सदस्यीय टोली घटनास्थलतर्फ खटिएको थियो । इलाका प्रहरी कार्यालय बाबियाचौरको टोली पनि घटनास्थलमा पुगेर अनुसन्धान गर्ने क्रममा सोही रुखको टोड्कामा लुकाइराखिएको थप एक थान भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ ।

यससँगै उक्त स्थानबाट जम्मा तीन थान भरुवा बन्दुक बरामद भएको हो । बरामद बन्दुकबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । उक्त स्थान प्रहरी चौकी बड्डीचौरबाट करिब १२ किलोमिटर पूर्व र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट करिब ३२ किलोमिटर पूर्वमा पर्छ ।

प्रकाशित मिति : २०८३ साउन २३ गते शनिबार