वन्यजन्तु संरक्षण राज्यको दायित्व हो । बदेल र बाँदर पनि प्रकृतिको हिस्सा हुन् । तर वन्यजन्तु संरक्षणका नाममा किसानलाई आफ्नो खेतबारीबाटै विस्थापित हुने अवस्थामा पु¥याउन सकिँदैन । संरक्षण र मानवजीवनबीच सन्तुलन कायम गर्नु राज्यको जिम्मेवारी हो । सबैभन्दा नजिकको सरकार स्थानीय सरकार हो । तर वर्षौँदेखि एउटै समस्या दोहोरिँदा पनि प्रभावकारी समाधान नआउनु गम्भीर कमजोरी हो । विद्युतीय बार सुरक्षित तारबार, सामूहिक बाली संरक्षण, वन्यजन्तु व्यवस्थापन, क्षतिको यथार्थ मूल्याङ्कन र आवश्यक क्षतिपूर्तिका कार्यक्रम ल्याउन स्थानीय तहले किन ढिला गरिरहेको छ? प्रदेश र संघीय सरकारको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । समस्या चामुण्डाबिन्द्रासैनी–३ मा मात्र सीमित छैन । वडा नम्बर २ सिरवलदेखि दैलेखका भैरवी गाउँपालिका, ठाँटीकाँध गाउँपालिका, नारायण नगरपालिका लगायतका क्षेत्रमा पनि किसानले यस्तै समस्या भोगिरहेको बताउँछन् ।

यसको अर्थ यो स्थानीय तहको मात्र समस्या होइन, वन्यजन्तु र कृषि व्यवस्थापनसँग जोडिएको व्यापक समस्या हो । अझ गम्भीर कुरा के हो भने लगातारको क्षतिले किसानमा खेतीप्रतिको आकर्षण घट्न सक्छ । किसानले खेती छाडे खेत बाँझिन्छन्, गाउँबाट युवा पलायन हुन्छन् र अन्ततः खाद्य सुरक्षामै असर पर्छ। त्यसैले बदेलले नष्ट गरेको एउटा मकैबारीलाई केवल केही हजार रुपैयाँको क्षतिका रूपमा हेर्नु हुँदैन । त्यसको पछाडि किसानको श्रम, परिवारको जीविका र गाउँको अर्थतन्त्र जोडिएको हुन्छ । सरकारले अब किसानलाई ‘वन्यजन्तुबाट आफ्नो बाली आफैँ जोगाऊ भनेर छाड्ने होइन, समाधानको जिम्मेवारी लिनुपर्छ ।
जोखिमयुक्त क्षेत्र पहिचान गरी सुरक्षित तारबार, विद्युतीय बार, सामुदायिक निगरानी, वन्यजन्तु व्यवस्थापन तथा क्षतिपूर्तिको स्पष्ट व्यवस्था गर्नुपर्छ । स्थानीय तहले तत्कालीन राहतसँगै दीर्घकालीन योजना बनाउनुपर्छ । किसानको माग अस्वाभाविक छैन। उनीहरू बदेल मार्न माग गरिरहेका छैनन् । उनीहरू आफ्नो खेतबारी श्रम र परिवारको भविष्य जोगाउन राज्यको साथ खोजिरहेका छन् । अब पनि सरकार मौन बसिरहने हो भने आज बदेलले मकैबारी मात्रै सखाप पारिरहेको देखिएला। भोलि यही समस्या किसानको आशा, गाउँको अर्थतन्त्र र कृषि प्रणाली नै सखाप पार्ने कारण बन्न सक्छ । त्यसैले दैलेखका किसानको रातको जाग्रामलाई सरकारको निद्रा खुलाउने घण्टी बनाइनुपर्छ । किसान रातभरि जाग्राम बसिरहने तर सरकार भने वर्षौँदेखि निदाइरहने अवस्था अब अन्त्य हुनुपर्छ ।







