सुर्खेत । कर्णाली प्रदेशमा एक वर्षदेखी शिशुदेखि पाँच वर्षमुनिका ७० हजारभन्दा बढी बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ खुवाइएको छ । बालबालिकाको स्वास्थ्य प्रवद्र्धन तथा रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को असोजदेखि असारसम्म कर्णालीका तीन जिल्लाका ७० हजार ५ सय ८ बालबालिकाले सेवा लिएका हुन् ।

प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतका अनुसार कार्यक्रमअन्तर्गत सबैभन्दा धेरै सुर्खेतमा बस्ने बालबालिका लाभान्वित भएका छन् । सुर्खेतमा मात्रै ६५ हजार ९२ बालबालिकालाई स्वर्णबिन्दु प्राशन खुवाइएको छ ।
तीमध्ये ३७ हजार ४ सय २१ बालक र २७ हजार ६ सय ७१ बालिका छन् । त्यस्तै दैलेखमा ५ हजार ४ सय १६ बालबालिकाले स्वर्णबिन्दु प्राशन सेवा लिएका छन् । तीमध्ये ३ हजार २ सय १३ बालक र २ हजार २ सय ३ बालिका रहेका छन् । जुम्लामा ३ हजार ९ सय ६६ बालबालिकालाई सेवा दिइएको छ ।
जुम्लामा सेवा लिनेमा २ हजार २ सय ८४ बालक र १ हजार ६ सय ८२ बालिका छन् । हाल कर्णालीका तीनवटा आयुर्वेद स्वास्थ्य संस्थामार्फत यो सेवा निःशुल्क उपलब्ध हुँदै आएको छ । संघीय सरकारको सहयोगमा प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेत र आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लामा तथा प्रदेश सरकारको सहयोगमा आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखमा कार्यक्रम सञ्चालन भइरहेको छ ।
दुर्गम क्षेत्रसम्म विस्तार गर्नुपर्नेमा जोड
स्वर्णबिन्दु प्राशन कार्यक्रमलाई कर्णालीका दुर्गम तथा स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रसम्म विस्तार गर्नुपर्नेमा आयुर्वेद क्षेत्रका स्वास्थ्यकर्मीहरूले जोड दिएका छन् । कार्यक्रमकी फोकल पर्सन कविराज निरीक्षक पुष्पा आचार्यले पर्याप्त बजेट, आवश्यक जनशक्ति र स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्था गर्न सके प्रदेशका ७९ वटै स्थानीय तहमा कार्यक्रम विस्तार गर्न सकिने बताइन् ।
उनका अनुसार बालबालिकाको स्वास्थ्य प्रवद्र्धनसँगै पोषण तथा रोगप्रतिरोधात्मक क्षमताका क्षेत्रमा कार्यक्रमले सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ । ग्रामीण तथा दुर्गम क्षेत्रका बालबालिकालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न सके यसको प्रभाव अझ व्यापक हुने उनको भनाइ छ ।
आयुर्वेद चिकित्सकहरूका अनुसार स्वर्णबिन्दु प्राशन प्राचीन आयुर्वेदिक विधिमा आधारित उपचार तथा स्वास्थ्य प्रवद्र्धनको अभ्यास हो । स्वर्ण भस्म, मह, घ्यू तथा विभिन्न जडीबुटीजन्य सामग्रीको मिश्रणबाट तयार गरिने लेह बालबालिकालाई निश्चित मात्रामा खुवाउने गरिन्छ ।
पुष्य नक्षत्रमा खुवाइन्छ
स्वर्णबिन्दु प्राशन प्रत्येक महिनामा पर्ने ‘पुष्य नक्षत्र’को दिन खुवाउने व्यवस्था गरिएको छ । लक्षित उमेर समूहका बालबालिकालाई आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा आवश्यकताअनुसार निश्चित मात्रामा औषधि खुवाइन्छ ।
प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका निर्देशक डा. लक्ष्मीनारायण तिवारीले बालबालिकाको सर्वाङ्गीण विकास र रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन खोजिएको बताए ।
उनका अनुसार स्वर्णबिन्दु प्राशन कार्यक्रम परीक्षणका रूपमा २०७९ सालदेखि देशका केही जिल्लामा सुरु भएको थियो । पछिल्लो आर्थिक वर्षदेखि कर्णालीका तीन जिल्लामा पनि कार्यक्रम सञ्चालनमा ल्याइएको हो । ‘प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोड्दै स्वस्थ पुस्ता निर्माणमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो, उनले भने ।
७९ वटै पालिकामा पु¥याउने लक्ष्य
कर्णालीका अधिकांश ग्रामीण तथा दुर्गम क्षेत्रमा अझै पनि गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच चुनौतीपूर्ण रहेको अवस्थामा बालबालिकालाई लक्षित स्वर्णबिन्दु प्राशन कार्यक्रमलाई सबै स्थानीय तहसम्म पु¥याउने आवश्यकता देखिएको छ ।
स्वास्थ्यहरुकर्मीका अनुसार बालबालिकाको स्वास्थ्य अवस्था सुधार गर्न औषधिजन्य कार्यक्रमसँगै पोषण, सरसफाइ, नियमित स्वास्थ्य परीक्षण र अभिभावकमा स्वास्थ्यसम्बन्धी सचेतना पनि उत्तिकै आवश्यक छ ।
त्यसैले स्वर्णबिन्दु प्राशनलाई अन्य बाल स्वास्थ्य कार्यक्रमसँग समन्वय गर्दै अघि बढाउनुपर्नेमा उनीहरूको जोड छ । हाल तीन जिल्लामा सीमित रहेको कार्यक्रमलाई आवश्यक बजेट, जनशक्ति र प्राविधिक तयारीसहित प्रदेशका सबै जिल्लामा विस्तार गर्न सके कर्णालीका थप बालबालिका लाभान्वित हुने अपेक्षा गरिएको छ ।







