सुर्खेत । कर्णाली नदीमा निर्माण प्रस्ताव गरिएको ४ सय ३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको निर्माणपूर्वका कामले पछिल्लो समय गति लिन थालेको छ । करिब ९३ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाले जग्गा प्राप्ति, मुआब्जा वितरण, वन क्षेत्रको भोगाधिकार, रुख कटान तथा पहुँचमार्ग निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको हो ।
सुर्खेतको चौकुने गाउँपालिका–४, ५ र ६ हुँदै बग्ने कर्णाली नदीमा निर्माण हुने आयोजनाको प्रारम्भिक काम करिब आठ वर्षअघि सुरु भएको थियो। आयोजना संरचना निर्माणस्थलको प्राविधिक विषय र अर्को जलविद्युत् आयोजनासँगको सर्वेक्षण क्षेत्रसम्बन्धी विवादका कारण लामो समय काम प्रभावित भएको थियो । अहिले ती जटिलता समाधान भएपछि आयोजना निर्माणको चरणतर्फ अघि बढेको आयोजनाले जनाएको छ ।
तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले २०८२ मंसिर ३ गते लगानी बोर्डबाट आयोजना स्वीकृत गरेको थियो। त्यसपछि आयोजनाको पूर्वाधार निर्माण तथा आवश्यक प्रशासनिक प्रक्रिया तीव्र बनाइएको हो । आयोजनाका अनुसार अछामतर्फ पर्ने प्रभावित क्षेत्रको जग्गाको मुआब्जा निर्धारण भई वितरणको चरणमा पुगेको छ भने सुर्खेततर्फ मुआब्जा निर्धारणको प्रक्रिया जारी छ ।
आयोजनाका लागि आवश्यक हदबन्दी फुकुवा गर्न फाइल भूमि मन्त्रालयमा पुगेको छ । वन क्षेत्रको रुख कटान र भोगाधिकारको प्रक्रिया पनि अघि बढेको छ । प्रारम्भिक विवरणअनुसार आयोजनाबाट प्रभावित क्षेत्रमा करिब ४ हजार १ सय ९१ वटा रुख कटान गर्नुपर्ने देखिएको छ । अहिले रुखको गणना तथा छपानको काम भइरहेको आयोजनाका इन्जिनियर सुरेन्द्र शाहीले जानकारी दिए ।
आयोजनाको पहुँचमार्ग निर्माणलाई समेत प्राथमिकता दिइएको छ । गुटुदेखि झ्यालेडा, सालको खोप्री हुँदै घोक्रेसम्म कच्ची सडकको ट्र्याक खोलिएको छ । मुख्य पहुँचमार्ग गुटुदेखि घोक्रे हुँदै टटालीसम्म करिब ३४ किलोमिटर रहनेछ । वातावरणीय प्रक्रिया पूरा भएपछि सडक निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी छ ।
आयोजनाका निर्देशक कृष्ण आचार्यका अनुसार घोक्रे क्षेत्रमा बेलीरट्रस्ट पुल निर्माण भइरहेको छ । टटालीघाटमा स्थायी मोटरेबल पक्की पुल निर्माण गर्ने तयारी छ । मालुमेलामा बेलीब्रिज तथा घोक्रे क्षेत्रमा आवतजावत सहज बनाउन झोलुंगे पुल निर्माण गर्ने योजना रहेको आयोजनाले जनाएको छ ।
एक वर्षभित्र मुख्य निर्माणमा जाने लक्ष्य
आयोजनाले जग्गा प्राप्ति, वन क्षेत्रको भोगाधिकार र रुख कटानलगायत पूर्वतयारीका काम सकेर एक वर्षभित्र मुख्य निर्माणमा प्रवेश गर्ने लक्ष्य राखेको छ । इन्जिनियर शाहीका अनुसार यही वर्षभित्र आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया टुंग्याएर प्रिकन्स्ट्रक्सनको काम अघि बढाउने तयारी छ ।
त्यससँगै विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) र वित्तीय व्यवस्थापनको कामलाई पनि तीव्रता दिने योजना रहेको उनले बताए । आयोजना निर्माण सुरु भएको पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । यद्यपि जग्गा, वन, स्वीकृति तथा अन्य प्रक्रियामा हुने ढिलाइले आयोजना सम्पन्न हुने समय प्रभावित हुन सक्ने आयोजनाको भनाइ छ ।
पूर्ण स्वदेशी लगानी
बेतन कर्णाली जलविद्युत् आयोजना पूर्ण रूपमा स्वदेशी लगानीमा निर्माण हुने प्रस्ताव गरिएको छ । आयोजनामा कर्मचारी सञ्चय कोषको १५ प्रतिशत, सञ्चयकर्ताको ४० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत र विद्युत् उत्पादन कम्पनीको १० प्रतिशत लगानी रहनेछ। बाँकी २५ प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
सर्वसाधारणतर्फ प्रभावित क्षेत्रका बासिन्दाका लागि १३ प्रतिशत, अति प्रभावित क्षेत्रका बासिन्दाका लागि दुई प्रतिशत र अन्य सर्वसाधारणका लागि १० प्रतिशत सेयर वितरण गर्ने योजना रहेको आयोजनाले जनाएको छ ।
२२ किलोमिटर लामो जलाशय
आयोजनाको जलाशय मालुमेलादेखि माथि बल्देसम्म करिब २२ किलोमिटर लामो हुने बताइएको छ । समुद्री सतहबाट करिब ४७१.३ मिटरको उचाइमा पानी रहने गरी जलाशय निर्माण गर्ने योजना छ ।
आयोजनाले जलाशयलाई विद्युत् उत्पादनसँगै पर्यटन विकासको आधारका रूपमा समेत उपयोग गर्ने लक्ष्य लिएको छ । जलाशय तथा ड्याम क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने र त्यसबाट स्थानीयको आर्थिक गतिविधि बढ्ने आयोजनाको अपेक्षा छ ।
दुई प्रदेश र चार स्थानीय तहसँग समन्वय
आयोजना क्षेत्र कर्णाली र सुदूरपश्चिम प्रदेशसँग जोडिएको छ । प्रभावित क्षेत्रका दुई प्रदेश सरकार तथा चार स्थानीय तहसँग समन्वय भइरहेको आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर शाहीले स्थानीय समुदाय तथा प्रदेश सरकारबाट आयोजनालाई सकारात्मक सहयोग प्राप्त भइरहेको बताए ।
उनका अनुसार आयोजना निर्माणबाट स्थानीय रोजगारी, पूर्वाधार विकास तथा आर्थिक गतिविधिमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ । आयोजनाबाट उत्पादन हुने ४ सय ३९ मेगावाट विद्युत् नेपाल विद्युत् प्राधिकरणसँगको विद्युत् खरिद–बिक्री सम्झौताअनुसार राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । देशभित्रको खपतपछि उपलब्धताका आधारमा बाह्य बजारमा समेत विद्युत् बिक्री गर्न सकिने आयोजनाको भनाइ छ ।
बेतन कर्णालीको निर्माण अघि बढेसँगै कर्णाली नदीको जलस्रोत उपयोग, स्थानीय पूर्वाधार विकास र स्वदेशी लगानीमार्फत ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने योजनाले गति लिएको छ। अब आयोजना तोकिएको समयमै निर्माणमा प्रवेश गराउन जग्गा, वन, मुआब्जा, वित्तीय व्यवस्थापन र प्रसारणसम्बन्धी बाँकी प्रक्रिया छिटो टुंग्याउनुपर्ने चुनौती भने कायमै छ ।








